४ वैशाख २०८१ मंगलबार
शिक्षा

बिएन्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएन्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्।  

शुक्रबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आयोगको सातौं बैठक बसेको थियो। प्रधानमन्त्री ओलीले नेपाललाई शिक्षा र स्वास्थ्यको शैक्षिक हब बनाउने धारणा राख्दै देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरी शिक्षा नीतिनियम बनाउन आयोगलाई निर्देशन दिई बैठकबाट बाहिरिएका थिए।

त्यसपछि आयोगका सहअध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले चार नम्बर बुँदामा छलफल गर्दै सम्बन्धनको विषयलाई प्राथमिकता दिएको आयोग सदस्य एवं निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसुरुद्दिन अन्सारीले बताए। उनका अनुसार बिहान ११ बजेदेखि साढे २ बजेसम्म चलेको बैठकमा प्रधानमन्त्री ओलीले मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई स्वदेशमै अध्ययनको वातावरण मिलाउन नियमन प्रक्रिया पुगेका कलेजहरूलाई सम्बन्धन दिनबाट रोक्न नहुने धारणा राखेका थिए। त्यही आधारमा शिक्षामन्त्रीले आयोगका सदस्यहरूलाई सम्बन्धनको कानुनी प्रक्रिया पूरा भएनभएको अध्ययन गरी निर्णय गर्ने निर्देशन दिएका हुन्।

‘बैठकमा ६ बुँदामा छलफल भएको थियो। बुँदा नम्बर ४ मा झापाको बिएन्डी मेडिकल कलेजलाई सम्बन्धन दिने विषय थियो,’ अध्यक्ष अन्सारीले भने, ‘शिक्षामन्त्रीले आयोगको सहअध्यक्षको हैसियतले बिएन्डसीले कानुनी प्रक्रिया पूरा गरेको भए सम्बन्धन दिने निर्णय गरी प्रधानमन्त्रीज्यूसमक्ष निर्णयको फाइल पेस गर्नू भनी मेरै सामुन्ने आयोगलाई निर्देशन दिनुभएको हो।’ त्यसपछि स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मेडिकल शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको तथ्यांक मागेको उनले भने। आयोगले पेस गरेको तथ्यांकअनुसार गत वर्ष मात्र ६ सय ५० विद्यार्थी मेडिकल पढ्न विदेश गएको उनले बताए। सदस्य अन्सारीका अनुसार स्वास्थ्यमन्त्रीले आयोगले वैशाखमा मेडिकलका लागि प्रवेश परीक्षाको आवेदनबारे जानकारी लिएका थिए। आयोगका अनुसार यसपटक मेडिकलका विभिन्न विषयका लागि ७ हजार ८ सय १३ सिटका लागि ३८ हजार विद्यार्थीले प्रवेश परीक्षाका लागि आवेदन दिएका छन्।

प्रकाशित: २९ जेष्ठ २०७८ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App