७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

शिक्षकको हेलो-हेलो, विद्यार्थी गायब

सांकेतिक तस्बिर

काठमाडौंको एक विद्यालयले साढे १० बजेबाट जुममार्फत् कक्षा सुरु हुने जानकारी मेसेन्जरमार्फत् विद्यार्थीलाई दिए। विद्यालयले अनलाइन कक्षा सञ्चालनका लागि भनी गत वर्षको जेठमै कक्षागत रुपमा मेसेन्जरमा ‘एकाउन्ट क्रियट’ गरेको थियो।

त्यही ‘एकाउन्ट’ मा कक्षा हुने समयको जानकारी आउँथ्यो, साथै कक्षा सञ्चालन हुने जुमको आइडीको लिङ्कको पनि नोटिफिकेशन आउँथ्यो। त्यहीमार्फत् नै शिक्षक र विद्यार्थीको अन्तरक्रिया हुन्थ्यो, होमवर्कको आदानप्रदान पनि।

शुक्रबार विद्यालयका सामाजिक शिक्षकले कक्षा सुरु गर्नका लागि त्यही एकाउन्टमा जुम आइडीको लिङ्क पठाए । लिङ्क खोलेर विद्यार्थी पनि जुम कक्षामा सहभागी भए। केही समय जुममा जोडिने क्रमले लियो।

जुममा जोडिने विद्यार्थीको संख्या २५ पुग्यो । अरु जोडिँदै छन् कि भनी शिक्षकले दुई चार मिनेट अल्मल्याए। तर बढेनन्, अनि २५ जनालाई जुममा जोड्दै कक्षा सुरु गरे।

कक्षा सुरु हुन पाएको थिएन, विद्यार्थीको आवाज आयो, ‘हेलो, हेलो सर, के भन्नुभएको ? यता त सुनिँदै सुिनएन।’, अर्को विद्यार्थीको आवाज पनि जोडियो, ‘सुनिएको छ सर, यता त, सुरु गर्नुस् न।’

विद्यार्थीको यो किसिमको आवाज आएपछि सामाजिक शिक्षक अल्मलिए, के गर्ने, नगर्ने भन्ने विषयमा। सामाजिक शिक्षक आफैंलाई न्यायोचित काम भएको महशुस भएन। तैपनि उनले ‘जर्बजस्ती’ कक्षालाई अघि बढाए।

‘के गर्नु त ? अहिलेको वैकल्पिक उपाय नै यही हो, त्यही भएर थोरै विद्यार्थी सहभागी भए पनि कक्षालाई अघि बढाएँ।’ शिक्षकले भने। उनका अनुसार विद्यालयमा भौतिक कक्षा सञ्चालन भएको बेला कक्षामा ४५ विद्यार्थी नियमित आउने गरेका थिए।

अनलाइन कक्षामा २५ जना अर्थात् ५० प्रतिशत विद्यार्थी सहभागी भएकोमा उनी सन्तुष्ट छन् तर प्रविधिमा देखिएको समस्याबाट भने दिक्क। ‘एक त अभिभावकहरु अनलाइन कक्षा प्रभावकारी भएन भन्छन्, अर्को, नेट नै स्लो छ, यही भएर हामीलाई गाह्रो छ।’

कोभिड १९ को दोस्रो लहर व्यापक बनेपछि सरकारले विद्यालयमा भौतिक पठनपाठन र शैक्षिक क्रियाकलाप नगराउन दिएको निर्देशन पालना गरी पठापाठन सुरु गर्दा पनि खासै प्रभावकारी नदेखिएको सरोकारवालाहरु बताउँछन्।

‘नेट स्लो हुने, गड्याङगुडुङ हुने बित्तिक्कै बिजुली जाने त पुरानै समस्या भए, त्यो समस्याका बाबजुद पनि हामी अनलाइन कक्षा सञ्चालन गरिरहेका छौं।’ काठमाडौंको पद्मोदय माविका सहायक प्रधानाध्यापक नारायण गौतमले भने। उनले गत वर्ष गरिएको अनलाइन पठनपाठनभन्दा यो वर्ष तुलनात्मक रुपमा प्रभावकारी देखिए पनि समस्या भने उही रहेको बताए।

उनले कक्षा ८, ९, १० का विद्यार्थीहरुको अनलाइन उपस्थिति अलि बढी रहेको बताए भने तल्लो कक्षाका विद्यार्थीको उपस्थिति खासै सन्तोषजनक नभएको जानकारी दिए। ‘हाम्रोमा कक्षा केजीदेखि १० सम्मका ४० प्रतिशत विद्यार्थी अनलाइनको पहुँचमा छन्।’ उनले भने।

अनलाइनमा पहुँच भए पनि अनलाइनमा जोडिएर विद्यार्थी पढ्न रुचाउने नगरेको अभिभावक बताउँछन्। ‘अनलाइनमा पढेको बुझ्नै गाह्रो छ भनी हामीसँग गुनासो गर्छन्, त्यही भएर अनलाइनमा राख्ने किन नराख्ने भन्ने नै दोधार छ।’ अभिभावक गौरी खड्का भन्छिन्। उनले अनलाइनमा राखी पढाउन अभिभावकले धेरै कुराहरुको बन्दोबस्त गर्नुपर्ने समेत बताइन्। ‘अनलाइन त्यत्तिक्कै हुन्न, गतिलो मोबाइल चाहियो, कि ल्यापटप चाहियो, नेट जोड्नुपर्यो, दिनकै कमाएर खानेले कसरी अनलाइन पढाउन सक्छ ?’ उनको प्रश्न छ।

जसोतसो अनलाइन कक्षा चले पनि विद्यार्थी स्वयम्ले त्यसमा बेवास्ता गरेको शिक्षकहरु बताउँछन्। ‘अनलाइन कक्षा सुरु गर्यो, विद्यार्थी के के भनी टाढिन्छन्, कोही भिडियो अन नगरी बस्छन्।’ एसएस सदन सेकेण्डरी स्कुलका प्रिन्सिपल प्रदिप थापाले भने।  

उनले पढ्न अल्छी गर्ने स्वभावका विद्यार्थी, होमवर्क गर्नुपर्ला भनेर डराउने विद्यार्थी अनलाइनमा आउन हिच्किच्याउने गरेको बताए।

शिक्षकहरुले अनलाइन कक्षाको लागि संघीय सरकारदेखि स्थानीय सरकारसम्मले ‘आदेश’ दिएको तर अनलाइनमा पहुँच वृद्धिका लागि भने खासै ध्यान दिन नसकेको गुनासो गरेका छन्।

अनलाइन कक्षालाई प्रभावकारी बनाउन स्रोत साधनले युक्त बनाउनुपर्नेमा त्यतातिर सरकारले खासै ध्यान नदिँदा अनलाइन कक्षा झारा टार्ने किसिमले मात्र सञ्चालन गरिरहनु परेको बाध्यतामा विद्यालय पर्दै आएको विद्यालयका प्रधानाध्यापकहरु बताउँछन्।

प्रकाशित: ११ वैशाख २०७८ १३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App