coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

कोरोनाका कारण बालबालिकामा प्रविधिको विकास

‘असिम के गर्दै छौं ?, सुविना तिमीले के बुझ्यौं ?’, बुधबार जुमबाट कक्षा ९ का विद्यार्थीलाई गणित विषय पढाएपछि शिक्षक द्धारीका अमगाईले प्रश्न गरे । त्यसपछि विद्यार्थीले बुझेँ सर भने । शिक्षक अमगाईको अन्तरक्रियात्मक कक्षा यहीँ रोकिएन । उनले बुझेँ भन्ने विद्यार्थीसँग पुनः आफूले बुझेको पाठको उदाहरणसहित व्याख्या गर्न भने । कक्षामा विद्यार्थीको नाम उच्चारण गर्दै पठनपाठन गराइरहेका शिक्षकले ४० मिनेटसम्म बालबालिकालाई निरन्तर सहभागिता गराइराखे । यो दृश्य बुद्धनगरमा रहेको केएमसी स्कुलको हो ।

यसरी जुम मार्फत ३२ जना विद्यार्थीको संख्यामा सहभागिता रहेको थियो । अनलाइन स्क्रीन सेयर गरी उनले गणित विषयको पठनपाठन गराइरहेका थिए । ‘ज्यामिति कठिन विषय हो । विद्यार्थीको कक्षामा भौतिक उपस्थितमा बोर्डमा चित्र कोरेर बुझाउने विषय मैले अनलाइनबाटै बुझाउँदै आएको छु,’ शिक्षक अमगाईले भने ‘ज्यामितिको साध्यहरू बुझाउन मैले डिजिटल बोर्डमा पेनकलर प्रयोग गर्दै अबसनमा हाइलाइट गर्दै बोल्दै पढाउँछु ।’  

कक्षा सकिएपछि उनले गुगल कक्षामा विद्यार्थीहरूको लागि गृहकार्य पनि दिए । गुगल कक्षामा दर्ता भएका सबै विद्यार्थीले गृहकार्य गरी गुगलमै समिट गर्नुपर्छ । अनलाइन कक्षामा विद्यार्थीको नाम उच्चारण गर्दै ४० मिनेटको कक्षामा विद्यार्थी सचेत र जागरुक बनेको शिक्षक अमगाईको अनुभव छ । कोरोना महामारीको उच्च जोखिमका कारण देशभरिका सबै शैक्षिक संस्थाहरू ९ महिनादेखि प्रभावित छन् । सुरुका ५ महिना समग्र शिक्षा क्षेत्र ठप्पनै बनेको अवस्थामा केएमसी माध्यमिक विद्यालयले १० कक्षासम्मका १ हजार २ सय विद्यार्थी, दुई सय शिक्षक र अभिभावकलाई अनलाइन कक्षाबाट बैशाख ९ गतेदेखिनै जोड्न सफल भयो ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाको शिक्षण सिकाईलाई निरन्तरता दिन वैकल्पिक माध्यमबाट पठनपाठन अघि बढाउन वैकल्पिक सिकाई सहजिकरण निर्देशिकानै जारी गरी विद्यालयहरूलाई पठनपाठन अघि बढाउन बाटो खोलिदियो तर त्यसको लागि पूर्वाधार तयार पार्न नसकेको कारण प्रभावकारी हुन सकेन ।  

काठमाडौं उपत्यकामा कोभिडको उच्च जोखिम कायमै रहेकाले कहिले विद्यालय खुल्ने अनिश्चित भएको अवस्थामा यहाँका निजी विद्यालयले भने शैक्षिक सत्रलाई निरन्तरता दिन वैकल्पिक माध्यम अपनाएरै शिक्षण सिकाई अघि बढाउने प्रयास गरे पनि सफल नभएको बताउँदै आएका छन् । अनलाइन कक्षामा विद्यार्थीको सहभागिता नभएको गुनासो आइरहेको बेला केएमसी स्कुलका ९९ प्रतिशत विद्यार्थी अनलाइन कक्षामा उपस्थित भएर शिक्षण सिकाइ भइरहेको बताइएको छ । यो स्कुलले प्रविधिको प्रयाप्त प्रयोग गरी अनलाइन शिक्षाबाटै शैक्षिक सत्र सञ्चालन मात्र होइन त्रैमासिक परीक्षा र अतिरिक्त क्रियाकलाप समेत प्रविधिको प्रयोगबाटै सम्पन्न भएको छ ।  

यसरी सफल भयो अनलाइन कक्षा  

कोरोना महामारी उच्च जोखिमका कारण सरकारले चैत्र महिनादेखिनै लकडाउन सुरु गर्याे । देशभरिका सबै शैक्षिक संस्थाहरू सुरुका पाँच महिना ठप्पनै बने । बैशाखदेखि सुरु हुने नयाँ विद्यार्थी भर्ना ठप्प बन्यो । सरकारले वैकल्पिक माध्यमबाट पढाइ सुचारु गर्न ‘वैकल्पिक माध्यमबाटा सिकाइ सहजीकरण निर्देशिका गत भदौमा जारी गरेको थियो । असोजदेखि बल्ल नयाँ विद्यार्थी भर्नाको अनलाइन बाटो खुल्यो ।

प्रिन्सिपल अमगाईका अनुसार यस्तो अवस्थामा सुरुका दिनमा अनलाइन कक्षा व्यवस्थापमै चुनौती थपिएका थिए । शिक्षकलाई चैत्र महिनामै विदेशी तथा स्वदेशी विज्ञहरूसँग तालिम र सेमिनारमार्फत सिप सिकाए । स्कुलको ह्वाइट बोर्डमा क्यामेरा फिट भयो । विद्यार्थीहरूको गुगल आइडि खोलेर स्कुलमा कक्षागत नयाँ भर्ना जस्तै गुगल आइडि दर्ता भयो । चैत्र अन्तिम सातासम्म सबै तयारी गरेर बैशाख ८ गते अभिभावक, विद्यार्थी र स्कुलबीच कक्षा संचालन अनलाइनबाट गर्न बैठक भएको उनले बताए।  

चैत्र मसान्तसम्म शिक्षकले नेपाली र अंग्रेज टाइप गर्न, शैक्षिक सामग्री बनाउन, इन्टनेट, कम्प्युटर चलाउन, जुम र गुगलबाट कक्षा सञ्चालन गर्न सिके । त्यसपछि कक्षा संचालन भएको प्रिन्सिपल अमगाईले बताए । शिक्षा व्यबस्थापनमा काठमाडौं विश्वविद्यालयका गोल्ड मेडलिस्ट अमगाईले थपे ‘अनलाइन कक्षाकै कारण मास्टरमा सिक्नु पर्ने प्रविधिका विषयहरू नानीहरूले आधरभूत तहमै । अभिभावक, शिक्षक र विद्यार्थी तिनै पक्ष प्रविधि मैत्रि बने । हाम्रा दुई सय शिक्षकहरू खालि बस्नु परेन ।’महिनाको अन्तमा अभिभावक, विद्यार्थी र शिक्षकहरूसँग फिडब्याक लिँदै हामी शैक्षिक सत्रलाई अघि बढायौं ।’  

मुख्य कुरा शैक्षिक सत्र जोगिएको र पाठ्यक्रमका विषयबस्तुहरू शिक्षकहरूले ७५ प्रतिशत सिकाउन पाएकोमा उनी खुशी ब्यक्त गर्छन् । ‘म विज्ञान पढेको गणितको प्रशिक्षक भएकोले पहिले.देखिनै प्रविधिसँग नजिक छु,’३४ वर्षदेखि शिक्षण पेसा गर्दै आएको उनले भने ‘कोभिडले विद्यार्थी, अभिभावक र शिक्षकलाई प्रविधिसँग निकै निजकको सम्बन्ध बनाइदिएको मैले पाए । प्रत्यन गरे हाम्रा शिक्षा सहजै अनलाइनमा रुपान्तर गर्न कुनै अप्ठ्यारोनै छैन ।’

विद्यार्थीले के सिके ?

सरकारले यस वर्षको शैक्षिक सत्र पूरा नहुने संकेत देखेपछि पाठ्यक्रमलाई समायोजन गरी ७० प्रतिशतमा झारेर विद्यार्थीलाई कक्षा चढाउने निर्देशनसहित पाठ्यक्रम समायोजना कार्यढाँचानै जारी गर्यो । ‘तर हामीले पाठ्यक्रम समायोजन गर्नु परेन बरु अनलाइन कक्षाबाटै विद्यार्थीलाई पाठ्क्रमसँग जोड्न सफल भयौं,’ प्रअ अमगाईले भने ‘विद्यार्थीले घरमै बसेर प्रविधिको प्रयोग गर्न सिक्ने अवसर पाए ।’ विद्यालयमा अहिलेसम्म ७५ प्रतिशत पढाइ पूरा भएको उनको दाबी छ ।

त्रैमासिक परीक्षा अनलाइनबाट

अनलाइन कक्षाबाटै यो स्कुलले पहिलो त्रैमासिक परीक्षा संचालन गरेको छ । पुसको अन्तिम साता दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्ने स्कुलको तयारी रहेको उनले बताए । परीक्षा पनि लिखित, मौखिक र अब्जेक्टिभ गरी तीन प्रणालीबाट सम्पन्न भएको छ । ‘विद्यार्थीलाई ६ वटै विषयको हाजिर गरिन्छ । विद्यार्थीलाई लिखित परीक्षामा प्रश्न दिइन्छ । उनीहरूले कपिमा उत्तर लेखेर फोटो खिचेर गुगल कक्षामा आ–आफ्ना आइडि मार्फत पठाउँछन्,’ उनले भने ‘त्यसपछि शिक्षकले त्यो कपिलाई प्रिन्ट गरेर अन्य समयमा चेक गरे जस्तै चेक गरेर नम्बर दिन्छ ।’  

यसका साथै अतिरिक्त क्रियाकलाप पनि अनलाइनबाटै सञ्चालन हुने गरेको बताइएको छ । अनलाइनबाटै नाचगान, चित्रकला, फुटबल, भलिबल, म्युजिकका कक्षाहरू सञ्चालन गर्दा घरघरमै बच्चाहरू नाच्ने गाउन र चित्र कोर्ने भएका छन् । 

प्रकाशित: १० पुस २०७७ ०१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App