२५ असार २०८१ मंगलबार
image/svg+xml
शिक्षा

त्रिविमा राजनीतिक दाउपेच, आर्थिक हिनामिना गर्ने व्यक्ति कलेज प्रमुख

राज्य हाल कोरोना संक्रमणको त्रासको कारण लकडाउनमै रहेको बेला मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयमा राजनीतिक दाउपेच सुरु भएको छ । लकडाउनको फाइदा उठाउँदै विश्वविद्यालयका पदाधिकारीहरूले मनोमानी रूपमा कलेज तथा अध्ययन संस्थानहरूमा दलनिकट कार्यकर्तालाई १४ निकायहरूमा प्रमुखहरूको नियुक्ति धमाधम गरिसकेको खुलेको छ । जसको विरोधमा त्रिवि प्राध्यापकहरू उत्रेका छन् ।

विगत १० दिनभित्र विश्वविद्यालयको उपकुलपतिले राजनीतिक दबाबमै त्रिवि कार्यकारी परिषद्को निर्णय गराई राजनीतिक आस्थाका आधारमा पूर्वएमाले र पूर्वमाओवादीलाई नियुक्त गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँसकोटाले यतिसम्म गरे कि कलेजमा आर्थिक हिनामिना गरी कर्मचारी नियुक्ति गरेको आरोपमा कारबाहीमा परेकालाई समेत दलको मान्छे भन्दै कलेज प्रमुखको नियुक्ति दिन भ्याए ।

सिराहास्थित सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसमा सहप्राध्यापक रामहित यादवको नियुक्ति उपकुलपति बाँसकोटाले गरेका छन् । पूर्वमाओवादी यादव आठ वर्षअघि पनि चार बर्से कलेज प्रमुखको नियुक्ति पाएका थिए । त्यतिबेला उनले आफू कलेज प्रमुख भएलगत्तै आर्थिक प्रलोभनमा परी कर्मचारीहरू नियुक्ति गरेको छानबिन समितिकै रिपोर्टले ठहर गरेका थियो ।  

रिपोर्टले यादवले नियुक्त गरेका कर्मचारीहरू गैरकानुनी तरिकाबाट भएकाले नियुक्ति प्रक्रिया रद्द गर्नुपर्ने र प्रमुख यादवको विकल्प दिनुपर्ने ठहर गरेको थियो, जसका कारण विश्वविद्यालयले कारबाही गरी पदबाट हटाएको थियो । उनको साटो विश्वविद्यालयले सोही कलेजका सहप्राध्यापक कृष्णकुमार यादवलाई प्रमुख बनाएको थियो । तर हाल लकडाउन अवधिमै त्रिविका उपकुलपतिले सोही कलेजमा विवादित व्यक्तिलाई पुनः कलेज प्रमुख बनाउँदा कलेज नै धरासायी हुने त्रिवि प्राध्यापक संघका पूर्वअध्यक्ष योगेन्द्रनारायण बडबडियाको ठहर छ । बडबडिया हाल सोही कलेजका अवकासप्राप्त सहप्राध्यापक हुन् । 

‘लकडाउनमा सबै क्षेत्र बन्द भएको बखतको फाइदा उठाउँदै एकाएक कलेज तथा अध्ययन संस्थानहरूमा विवादित तरिकाको नियुक्ति गरिएको क्षतिबारे कल्पनासमेत गर्न सकिँदैन,’ पूर्वअध्यक्ष बडबडियाले नागरिकसँग भने, ‘उपकुलपति जुन पार्टीको हो त्यो पार्टीलाई सहयोग गर्नेलाई मात्र नियुक्ति दिनुले विश्वविद्यालयलाई धरासायी बनाउँछ ।’ उनका अनुसार विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालयको मूल्य, मान्यता र पद्दतिलाई कुल्चेर राजनीतिक दाउपेचको आधारमा नियुक्ति गर्दा विश्वविद्यालयमा शैक्षिक तथा प्राज्ञिक मर्यादा कायम हुँदैन ।’ सो कलेजमा हाल यादवभन्दा आठ जना सिनियर सहप्राध्यापकहरू कार्यरत छन् । यस्तो परिस्थितिमा अन्य प्राध्यापकहरूको मनोबल गिरेको हुँदा यसको नकारात्मक असर सीधै कलेजको पठनपाठनमा पर्ने उनले बताए ।

हाल उपकुलपतिले नियुक्ति गरेका १४ निकायमै पूर्वएमाले र पूर्वमाओवादीकै व्यक्तिहरू छन् । वीरगन्जको ठाकुरराम बहुमुखी कलेजमा हालै नियुक्त गरिएका सहप्राध्यापक राजदेव कुशवाहा पनि पूर्वएमालेकै हुन् । हाल उनी माओवादीनिकट मानिन्छन् ।

हाल ठाकुरराम कलेजलाई क्वारेन्टाइन बनाएको छ । न त्यहाँ पठनपाठनै भएको छ न  अनलाइन कक्षा नै चलेको छ । यस्तो अवस्थामा त्यस कलेजमा प्रमुख नियुक्तिको हतारोले सीधै दलका कार्यकर्ता भर्ना गर्नमात्र नियुक्ति गरिएको प्रजातन्त्र प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमिल्सिनाले बताए ।

उनले एउटै कलेजमा तीन देखि चार कार्यकालसम्म एउटै पार्टीका व्यक्तिले कलेज चलाउँदा विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्केको बताए । उनले विश्वविद्यालयमा शैक्षिक सुधार गर्न पनि योग्यता र क्षमताको आधारमा सक्षम व्यक्ति नियुक्त गरिनुपर्ने ज्ञापनपत्र नै उपकुलपति बाँसकोटालाई सोमबार बुझाएका छन् ।

उपकुलपति बाँसकोटाले लकडाउनको अवधिमा हालसम्म तेह्रथुुुुुम कलेज प्रमुखमा पूर्वएमालेका उपप्राध्यापक निलम खरेललाई नियुक्ति गरेका छन् । खरेलले चार बर्से कार्यकाल समाप्त गरी दोस्रो पटक चार बर्से प्रमुखको नियुक्ति पाएका हुन् ।

गोरखा क्याम्पस प्रमुख उपप्राध्यापक रामशरण बानियाँ पनि पूर्वमाओवादी हुन् । उनी पनि चार बर्से कार्यकाल सकिएर दोहरिएका हुन् । इन्जिनियरिङ अध्ययन संस्थाको सहायक डिनमा प्राध्यापक चिन्तामणि पोखरेललाई नियुक्ति दिएको छ । उनी पूर्वमाओवादी हुन् । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको सहायक डिन उपप्राध्यापक किशोरचन्द्र दहाललाई डिनको नियुक्ति दिएको छ । उनी पनि पूर्वमाओवादी हुन् । उनी नातामा नेकपाका अध्यक्ष पुष्पकमल दहालका भतिजा हुन् ।

नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा पूर्वमाओवादी उपप्राध्यापक तुलसा सुनारलाई नियुक्त गरिएको छ । कलेजमा उनीभन्दा वरिष्ठ उपप्राध्यापक अम्बिका चन्दलाई हटाएर उनकै विद्यार्थी तुलसालाई नियुक्ति गरिएको रहस्य खुलेको छ । यसैगरी, लकडाउन अवधिकै नियुक्तिमा त्रिविका पदाधिकारीले शिक्षा, विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा पूर्वमाओवादी प्राध्यापक सुरेन्द्र गिरीलाई नियुक्त गरिएको छ । गिरी शिक्षाशास्त्रको सबैभन्दा कनिष्ठ प्राध्यापक हुन् ।

चितवन इन्जिनियरिङ क्याम्पस प्रमुखमा उपप्राध्यापक सुदीप शर्मालाई नियुक्त गरिएको छ । शर्मालाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दहालको दबाबमा नियुक्त गरिएको त्रिविका प्राध्यापकहरू बताउँछन् । महेन्द्र विन्देश्वरी क्याम्पस प्रमुखमा प्राध्यापक सर्वेशचन्द्र मिश्रलाई पनि दोस्रो पटक प्रमुखमा नियुक्त गरिएको छ । उनीको केही महिनामै कार्यकाल सकिँदैछ ।

यसैगरी, काठमाडौंको रत्नराज्यलक्ष्मी कलेजको प्रमुखमा सहप्राध्यापक जीवनधर ज्ञवालीलाई नियुक्त गरिएको छ । यो नियक्तिबाट पूर्वएमालेका ज्ञवालीभन्दा कलेजमा थुप्रै वरिष्ठ प्राध्यापकहरू निरास बनेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान डिनमा डाक्टर राजेन्द्र हुमागाईलाई अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरिएको छ । उनी पूर्वएमाले हुन् ।

‘डाक्टर गोविन्द केसीको आन्दोलनबाट स्थापित मान्यता वरिष्ठता क्रमबाट नियुक्ति हुने हो भने डिनको योग्य उमेदवार डाक्टर वाइपी सिंह पर्नुहुन्छ,’ प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष तिमल्सिनाले उपकुलपतिलाई ज्ञापनपत्र बुझाए लगत्तै भने, ‘उपकुलपतिमाथि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपतिको दबाब दिब्य सिंहलाई डिन बनाउनुपर्ने भएकोले उपकुलपतिले डाक्टर हुमागाईलाई अर्को व्यवस्था नभएसम्मलाई पूर्णअधिकारसहितको डिन नियुक्ति गर्नुभएको हो ।’ 

उनका अनुसार इन्जिनियरिङ अध्ययन संस्थाको डिन नियुक्तिमा नेकपाभित्र गुट–उपकुटबीच विवाद आएपछि पूर्वएमाले सुशीलबहादुर बज्राचार्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त डिन नियुक्त गरियो । विश्वविद्यालयको निकायहरूमा १६ वर्षसम्म अर्थात् चार कार्यकालसम्म एउटै विचारधाराका व्यक्तिहरू नियुक्त हुँदै आएकाले कलेज तथा संस्थानहरूले कोल्टो फेर्न नसकेको हो ।  

लकडाउन खुल्नासाथ हाल भएका नियुक्तिविरुद्ध प्रजातन्त्रवादी प्राध्यापक संघले कलेज, संस्थान र त्रिवि केन्द्रीय कार्यालयमा कडा विद्रोह र आन्दोलन गर्ने अध्यक्ष तिमल्सिनाले बताए । विश्वविद्यालय पूर्ण रूपमा पूर्वमाओवादी र एमालेमय बनेको भन्दै आक्रोसित उनले विश्वविद्यालय कुनै एक दलको नभएर विशुद्ध प्राज्ञिक थलो भएकाले हाल भएका नियुक्तिहरू खारेज हुनुपर्ने माग गरेका छन् । त्रिवि पदाधिकारीले त्रिविमा दलगत आस्थाको आधारमा नभएर त्रिवि ऐन–नियमको आधारमा निश्चित एवं पारदर्शी मापदन्ड बनाएर पदाधिकारी नियुक्ति गरिनुपर्ने प्राध्यापकहरूको माग छ ।

त्रिविका रजिस्ट्रार पेशल दाहालले पहिले नै काम गरिरहेकालाई नियुक्ति दिएको स्वीकार्दै उनले अब बाँकी रहेका कलेज प्रमुख र डिनको नियुक्तिमा मापदन्ड बनाएर जाने दाबी गरे । ‘पहाडतिरका कलेजहरूमा वरिष्ठ नपाएपछि पुरानैलाई दोह¥याइयो,’ रजिष्ट्रार दहालले नागरिकसँग भने, ‘अझै पनि ६ वटा कलेज प्रमुख र पाँचवटा डिन पद खाली छ । मापदन्ड बनाएर नियुक्ति हुन्छ । हाल विश्वविद्यालयका आंगिक कलेज र अध्ययन संस्थानहरूमा नभई नहुनेमा नियुक्ति गरिएको हो ।’ सिराहा क्याम्पसको सवालमा उनले कलेज प्रमुखमाथि प्रक्रिया नपु¥याएर कर्मचारी भर्ना गरेकोमा गलत प्रक्रिया समितिले रद्द गरेको स्वीकारे ।

प्रकाशित: २७ जेष्ठ २०७७ ००:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App