२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

कृषि विश्वविद्यालयले थप दुई आंगिक क्याम्पस सञ्चालन गर्ने

भरतपुर – कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले यही शैक्षिक सत्रमा थप दुई आंगिक क्याम्पस सञ्चालन गर्ने भएको छ। उदयपुरको कटारी र महोत्तरीको बर्दिवासमा आंगिक क्याम्पस सञ्चालनको तयारी गरेको उक्त विश्वविद्यालयले जनाएको हो। 

उदयपुरको कटारीमा वन सङ्कायको कार्यक्रम र महोत्तरीको बर्दिवासमा कृषि सङ्कायको कार्यक्रम सञ्चालनका लागि विद्यार्थी भर्ना आह्वान गरिएको विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा मनराज कोलाक्षपतिले जानकारी दिए। 

क्याम्पस सञ्चालनका लागि उदयपुरको कटारीमा ३ बिघा जग्गा र महोत्तरीको बर्दिवासमा ८ बिघा जग्गा विश्वविद्यालयको नाममा आइसकेको उनले बताए। उनका अनुसार सुष्मा मेमोरियल ट्रस्टको २७ बिघा जमीन नामसारी गर्ने प्रक्रियामा रहेको छ।

यसै शैक्षिक सत्रमा नै कृषिका थप तीन आंगिक क्याम्पस सञ्चालन गर्ने कामसमेत तीव्र पारिएको रजिष्ट्रार कोलाक्षपतिले बताए। उनका अनुसार बाँकेको खजुरा र रोल्पाको माडीचौरमा कृषिका क्याम्पस सञ्चालनका लागि जग्गा प्राप्त भइसकेको छ।

विश्वविद्यालयले आंगिक क्याम्पस सञ्चालनका लागि तराईमा आठ बिघा र पहाडमा सय रोपनी जग्गा हुनुपर्ने मादपण्ड तोकेको छ। उक्त विश्वविद्यालयले यसअघि चार आंगिक क्याम्पस सञ्चालनमा ल्याइसकेको छ। कास्कीको पुरनचौर, सिन्धुलीको कपिलाकोट, कैलालीको टीकापुर, धनकुटाको पाख्रीवासमा आंगिक क्याम्पस सञ्चालनमा आइसकेका हुन्। 

विश्वविद्यालय सभाले १० वटा आंगिक क्याम्पस सञ्चालन गर्ने निर्णय गरेकामा कम्तीमा पनि सङ्घीय संरचनाअनुसार एक प्रदेशमा एक आंगिक क्याम्पस सञ्चालन गर्ने नीति रहेको कुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले बताए। यसै शैक्षिक सत्रदेखि स्नातक तहमा एग्री इञ्जिनीयरिङ र स्नाकोत्तर तहमा डेरी साइन्स एण्ड टेक्नोलोजी विषयको कार्यक्रमसमेत थप गरेको ढकालले जानकारी दिए। (रासस)

प्रकाशित: २९ मंसिर २०७५ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App