१० मंसिर २०८१ सोमबार
image/svg+xml
शिक्षा

५९ वर्षपछि दातालाई सम्झियो त्रिविले

काठमाडौं - अचेल सानो सहयोग गरे पनि ठूलो हल्ला गर्ने र प्रचारप्रसार गर्ने होडबाजी चलिरहेका बेला नेपालको शिक्षा क्षेत्रमा बिघौं जग्गा दान दिएर स्कुल तथा कलेज बनाइदिएका दाता परिवारका सदस्यहरूले मानसम्मान र प्रचार खोजेका छैनन्। सर्वसाधारणलाई शिक्षित तुल्याउन धनसम्पत्ती दान दिनेहरू अतिरञ्जित प्रचार र सस्तो लोकप्रियता आर्जन गर्ने प्रवृत्तिबाट ढाढा रहँदै आएका छन्। यद्यपि उनीहरू भने सार्वजनिक सम्मानका सर्वाधिक योग्य पात्र हुन्।

त्रिभुवन विश्वविद्यालयले आफ्नो ५९ औं वार्षिक दिवसका अवसरमा तिनै दानवीरहरूलाई सम्मान गरेको छ। देशमा शैक्षिक वातावरण निर्माण गर्न आरम्भदेखि नै योगदान पु-याएका ती दाता परिवारका सदस्यलाई कदर गर्नका लागि देशका विभिन्न स्थानबाट शनिबार राजधानी बोलाइएको थियो। विश्वविद्यालय पदाधिकारीले बल्खुमा रहेको कुमारी क्लबनजिकबाट माला पहि-याएर पाँच दातालाई विश्वविद्यालयको सभाकक्षसम्म लगेका थिए। विश्वविद्यालय पदाधिकारीबाट यस्तो स्वागत तथा सम्मान पाएका दाता परिवारका सदस्यहरू आफूहरूको गुनगानका लागि थोरै संकोच माने पनि विश्वविद्यालयले सम्झिएकोमा हर्षित पनि देखिए।

त्रिभुवन विश्वविद्यालय परिसरमा पहिलोपटक पाइला टेकेकी दाता स्व.देवीप्रसाद उप्रेतीकी श्रीमती नर्मदा उप्रेती निकै खुसी भइन्। ‘कति आनन्ददायक माहोल रहेछ यहाँ,’ ९० वर्षीया नर्मदाले नागरिकसँग भनिन्, ‘पहिले श्रीमानले स्कुल कलेजलाई जग्गा दिन्छु है भनी सोध्दा मैले नि साथ दिए। त्यतिखेर यो ठूलो कुराजस्तो लागेको थिएन।’ सामान्य लेखपढ गरेकी नर्मदा भने शिक्षाको महत्व पहिलेदेखि नै बुझेकी रहिछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ताम्रपत्रबाट सम्मानित गर्दा उनी आफ्ना श्रीमान् देवीप्रसादलाई सम्झेर भावुक भइन्। उनले भनिन्, ‘मेरो श्रीमान् धन्य हुनुहुन्छ जसले प्रधानमन्त्री जन्माउने स्कुल पो बनाउनु भएको रहेछ।’ प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पढेको स्कुल देवीप्रसादले नै बनाइदिएका रहेछन्। ‘देवीप्रसादले उतिबेला बनाएको पोखरी हाइस्कुल आठराइ तेह्रथुममा मैले पढ्ने मौका पाएँ र राजनीतिमा लागेँ। आज प्रधानमन्त्री बन्न पाएको छु ,’ प्रधानमन्त्रीले भने, ‘मलाई देवी बुवाले कम्युनिस्ट धारका किताब अध्ययन गर्न प्रोत्साहित गरेकाले नै म कम्युनिस्टतिर लागेको हुँ।’ श्रीमान्का बारेमा प्रधानमन्त्री ओलीले विस्तारपूर्वक सुनाइरहँदा नर्मदा खुसीले गद्गद भइन्। ‘श्रीमान्ले शिक्षा क्षेत्रमा गरेको योगदान आज सफल भएको छ,’ उनले भनिन्।

विसं १९६९ सालमा जन्मेका देवीप्रसादले त्रिभुवन विश्वविद्यालयको आंगिक संस्था मेची क्याम्पस झापालाई १२० बिघा ३ कट्ठा ५ धुर जग्गा दान गरेका थिए। झापा जिल्ला घैलाडुब्बा वडा नम्बर ६ हाल कन्काई नगरपालिका ९ निवासी स्वर्गीय देवीप्रसादले इलाम, झापा र थेह्रथुमका अनेकौं मठमन्दिर तथा ती जिल्लाका २९ स्कुलको स्थापनामा आर्थिक सहयोग तथा जग्गादान गरेका थिए। धार्मिक, शिक्षा र साहित्यप्रति प्रेम राख्ने चार कक्षा पास स्वर्गीय उप्रेती झापा जिल्लामा अमिन बैदारीका रूपमा कार्यरत थिए। विसं २००७ सालको क्रान्तिपछि उनले पूर्वाञ्चलमा गठन गरिएको सामूहिक सरकारको कानुनमन्त्रीको पद पनि सम्हालेका थिए।

स्व.रामस्वरूप साह/स्व.रामसागर साह
त्रिभुवन विश्वविद्यालयले दाताहरूलाई ५९ वर्षपछि सम्झेकोमा स्व.रामस्वरूपका नाति इन्जिनियर सुभाषचन्द्र साह निकै हर्षित बने। उनले सरकारले गर्नुपर्ने सम्मान विश्वविद्यालयले गरेकोमा त्रिवि पदाधिकारीलाई धन्यवादसमेत दिए। ‘हाम्रा हजुरबुवाहरू स्व. रामस्वरूप साह र स्व. रामसागर साह किसान परिवारमा जन्मे पनि आफ्नो मिहिनेतले सम्पत्ती कमाउन सफल हुनुभएको थियो,’ सम्मान पाएपछि सुभाषले नागरिकसँग भने, ‘मेरो हजुरबुवाकी आमा सकली देवीले २००४/०५ सालतिरै केटीका लागि स्कुल बनाउन भनेपछि हजुरबुवाले विसं २०१० सालमा आफ्नो आमाकै स्मृतिमा सकल भवन कन्या मावि स्थापना गरेका थिए।’ ५९ वर्षीय सुभाषले बालिका शिक्षाका लागि ७० वर्षअघि आफ्नो परिवारले गरेको योगदान सम्झिए।

धनुषा निवासी स्व. रामस्वरूप र स्व. रामसागर दाजुभाइले ५७ बिघा १४ कट्ठा ५ धुर जग्गा प्रदान गरी रामस्वरूप रामसागर बहुमुखी क्याम्पस स्थापना गरेका थिए। उच्च शिक्षाको केन्द्र मानिएको यो क्याम्पसका अतिरिक्त यी दाजुभाइले जनकपुर क्षेत्रमा शैक्षिक, सामाजिक तथा अध्यात्मिक कार्यका लागि सम्पत्ती दान गरेका थिए। २००१ सालमै श्री धर्म संस्थाको स्थापना गरी साह दाजुभाइले जनकपुर क्षेत्रमा मठमन्दिर निर्माण तथा धार्मिक कार्यमा जग्गादान तथा आर्थिक सहयोग गरेको नाति सुभाषले बताए। उनले भने, ‘जनकपुरमा उहाँहरूले विसं २००४ मा सरस्वती मावि र विसं २०१० मा कन्या स्कुलको स्थापना गर्नुभयो।’ साह दाजुभाइले ३४१ बिघा १० कट्ठा १० धुर जग्गा, नगद भारतीय रुपैयाँ दस हजार १ र एक हजार एक सय मन धान दान गरेर ट्रस्ट स्थापना गरेका थिए। साह परिवारको नेतृत्वमा सोही ट्रस्टले रतनसागर पोखरीको उत्तरी डिलमा साकेतबिहारी मन्दिर, हनुमान मन्दिर, घाट र पौवाको निर्माण, कुशमाहा षतोखर गाउँमा शिव मन्दिर र धर्मशाला निर्माण गरेको छ। ट्रस्टबाटै २०३८ सालमा शिव मन्दिर धर्मशालाको स्थापना भएको थियो। नेपाल–भारत सीमानजिक जमुनी नदीमा जटही–राजघाट जोड्ने पुल विसं २०११ सालमा निजी खर्चमा निर्माण गर्ने रामस्वरूप र रामसागर पहिलो नेपाली समेत हुन्। आधुनिक शिक्षामा मात्र नभएर रामस्वरूप रामसागर संस्कृत उच्च विद्यालय समेत स्थापना गरी साह दाजुभाइले संस्कृत शिक्षामा जोड दिएका थिए।

स्व.विन्देश्वरीप्रसाद यादव
राजविराज, खड्कपुर गाविस निवासी स्वर्गीय विन्देश्वरीप्रसाद यादवले ९८ बिघा १८ कट्ठा ७ धुर जग्गा दान गरी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्थापना गरेका थिए। यो कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस हो। स्वर्गीय विन्देश्वरीप्रसाद त्रिभुवन विश्वविद्यालयको सभासद् समेत थिए। उनी आफ्नो गाउँभित्र मात्र सीमित नभएर वरपरका गाउँमा समेत सामाजिक तथा न्यायिक कार्यमा सहयोग गर्ने गरेको उनको नातिनी बुहारी रेणु यादवले बताइन्। पूर्वशिक्षामन्त्री एवं सांसद यादवले उनका ससुरा हजुरबुवाले शिक्षा क्षेत्रमा गरेको योगदानले अन्यलाई समेत योगदान गर्ने प्रेरणा मिलेको औंल्याइन्। समान्य लेखपढ गरेका स्वर्गीय विन्देश्वरीप्रसादले राजा महेन्द्रको विसं २०१३ सालमा सप्तरी भ्रमणका बेला क्याम्पसको स्थापना गर्ने इच्छाअनुरूप महेन्द्रकै नामबाट महेन्द्र बहुमुखी क्याम्पस स्थापना गरेको सांसद रेणुले बताइन्।

स्वर्गीय महावीरप्रसाद/स्व.रघुवीर राम
वीरगन्ज महानगरपालिका वडा नम्बर ७ निवासी स्वर्गीय महावीरप्रसाद र रघुवीर राम आफ्नो बुवा ठाकुररामको स्मृतिमा विसं २००९ सालमा १४ बिघा जग्गासहित भवन निर्माण गरी ठाकुरराम क्याम्पस स्थापना गरेको महावीरप्रसादका छोरा गोपालजी प्रसादले बताए। ८० वर्षीय गोपालजीले आफ्ना बुवा र काकाहरूले मिहिनेतले आर्जन गरेको सम्पत्ती शिक्षा तथा सामाजिक कार्यमा खर्च गर्दा सन्तोष प्राप्त गर्ने गरेको बताए।

‘काठमाडौंको त्रिचन्द्रपछिको उच्च शिक्षा हासिल गर्ने शैक्षिक निकाय नै तराईको ठाकुरराम क्याम्पस भएकाले त्यतिबेला पहाड र तराई दुवै क्षेत्रका नागरिकले उच्च शिक्षा हासिल गर्ने थलो बनेको थियो,’ गोपालजीले भने, ‘कलेजभन्दा पहिले बुवाले स्कुल स्थापना गर्नुभएको थियो। विसं १९९६ सालमा त्रिजुद्ध हाइस्कुलको स्थापना गर्नुभएको थियो।’ उनले प्रसूतिगृह निर्माणमा आर्थिक सहयोगका साथै पशुपति आदर्शनगरको परिकल्पना पनि स्व.महावीरप्रसादले नै गरेको सम्झिए। महावीरप्रसाद र रघुवीर रामले सामाजिक, शैक्षिक र स्वास्थ्य तथा उद्योगवाणिज्य क्षेत्रमा समेत आर्थिक सहयोग तथा जग्गादान गरेको उनले बताए।

वीरगन्जको श्रीपुरमा राष्ट्रिय विद्यापीठलाई जग्गादान, अमलेखगञ्जमा ठाकुरराम प्राथमिक विद्यालय निर्माण र उद्योगवाणिज्य संघलाई जग्गा खरिद, शंकराचार्य प्रवेशद्वार बनाउन समेत उनीहरूले आर्थिक सहयोग गरेका थिए।

स्व.सूर्यनारायण मरवैता/स्व.सत्यनारायण मरवैता
स्वर्गीय सूर्यनारायण मरवैता र सत्यनारायण मरवैता यादवले ५ बिघा १७ कट्ठा ११ धुर जग्गा र ३४ कोठे मूल शैक्षिक भवन र ३४ कोठे छात्रावास भवन निर्माण गरी सूर्यनारायण सत्यनारायण मरवैता यादव क्याम्पस स्थापना गरेका थिए। छोरा विश्वेश्वर मरवैता यादवले बुवा र काका दुवै सामाजिक र शैक्षिक क्षेत्रमा आर्थिक सहयोग गर्नुका साथै सिरहा नगरपालिकाको वडा नम्बर ६ मा २०–२२ बिघा जग्गा प्रदान गरी पहिलो कन्या विद्यालय निर्माण गराई बुवाले बालिका शिक्षामा योगदान दिएको बताए।

प्रधानमन्त्री ओलीले दाताहरूले विद्यालय र विश्वविद्यालय शिक्षामा जग्गादान तथा आर्थिक सहयोग गरी तत्कालीन समयमा नेपाललाई शिक्षित र सभ्य नागरिक बस्ने देश बनाएको बताए।

प्रकाशित: ६ श्रावण २०७५ ०१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App