२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १९:४५ अपराह्न
शिक्षा

एसईई : ७५ भन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नहुने, २० विद्यार्थी बराबर एक निरीक्षक

चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ७५ जनाभन्दा कम परीक्षार्थी भएको परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्ष नहुने भएका छन्। १ सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक (गार्ड) राखिने भएको छ।

माध्यमिक शिक्षा परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ अनुसार २० जना विद्यार्थी बराबर एक जना निरीक्षकको व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख युगमणि सवेहाङले जानकारी दिए। प्रत्येक परीक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष रहने छन्। सहायक केन्द्राध्यक्ष राख्न पाउने केन्द्रमा सम्बन्धित केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष चयन गर्न पाउने व्यवस्था रहेको छ।

ताप्लेजुङमा १७ वटा परीक्षा केन्द्र हुने यसअघि नै तय गरिएको छ। सम्भव भएसम्म परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोक्ने व्यवस्था रहेको छ। १७ केन्द्रमध्ये सबैभन्दा कम परीक्षार्थी सिद्धकाली मावि दोखु परीक्षा केन्द्रमा रहेका त्यहाँ ७४ जना परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। समन्वय इकाईका अनुसार १७ केन्द्रमध्ये सबैभन्दा बढी परीक्षार्थी बालसुवोधिनी संस्कृत माध्यमिक विद्यालय मेदिवुङमा रहने छन्। त्यहाँ ३ सय १८ परीक्षार्थीले परीक्षा दिँदै छन्।

यस्तै भानुजन मावि परीक्षा केन्द्रमा २ सय ४४ जना, सिँवा मावि लिङखिम परीक्षा केन्द्रमा ८६ जना, युवाबर्ष मावि कैंजले परीक्षा केन्द्रमा १ सय ४७ जना, जनता मावि हाङदेवामा ७७ जना, मोति मावि खोक्लिङमा १ सय १७ जना, त्रिभुवन मावि थुकिमामा १ सय ७ जना र सिनाम मावि सिनाममा १ सय ४८ जना परीक्षार्थी रहने छन्। यस्तै थेचम्बु मावि थेचम्बुमा १ सय १४ जना,तेल्लोक मावि तेल्लोकमा ९९ जना, गणेश मावि खेवाङमा ८० जना, भञ्ज्याङ मावि लिम्बूदिनमा १ सय ६९ जना, मैवाखोला मावि तेम्बेमा १ सय ३७ जना, सरस्वती मावि हाङपाङमा १ सय २१ जना, दुर्गा मावि फुलवारीमा १ सय १४ जना र सरस्वती मावि तापेथोकमा १ सय २० जना परीक्षार्थी हुने छन्।

ताप्लेजुङबाट यस वर्षको एसईई परीक्षामा साधारणतर्फ नियमितका १ हजार ४ सय २५ तथा ग्रेडवृद्धिका ७ सय १० तथा प्राविधिकधारतर्फ १ सय २२ नियमित र २५ ग्रेडवृद्धिका गरी कुल २ हजार २ सय ७२ जना परीक्षार्थीले परीक्षा लेख्ने शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जनाएको छ।

प्रकाशित: २ चैत्र २०८१ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App