१० चैत्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

अमेरिकी निर्णयले बालशिक्षा प्रभावित

अमेरिकी विदेशी सहायतासम्बन्धी संस्था युएसएआइडी मार्फतका कार्यक्रममा प्रभाव पर्दा त्यसको असर ताप्लेजुङको शैक्षिक क्षेत्रमा समेत परेको छ। प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम सुरु भएका ताप्लेजुङका ३९ वटा विद्यालयमा त्यसको प्रत्यक्ष असर परेको हो।

सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीकेन्द्रित गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच विस्तार गर्न प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम (इजिएल) सुरु भई विद्यालय अनुदानसमेत निकासा भएका विद्यालयहरू पहिलो प्रभावमा परेका छन्।

सन् २०२८ सम्ममा उक्त कार्यक्रम ताप्लेजुङका ९ स्थानीय तहसहित देशभरका ४८ वटा जिल्लामा लागु हुने योजना थियो। इजिएल कार्यक्रमअन्तर्गत ताप्लेजुङको प्रदेश निर्वाचन क्षेत्र १ ‘क’का स्थानीय शिक्षा एकाइ संयोजक हरिश भट्टराईका अनुसार एजिएल कार्यक्रमका सबै कर्मचारीलाई कम्तीमा तीन महिना बेतलबी बस्न भनिएको छ। ‘पत्रानुसार अब हामी कर्मचारीको रूपमा रहेनौं,’ भट्टराईले भने।

उनका अनुसार पहिलो चरणमा ताप्लेजुङका ५ स्थानीय तहमा इजिएल कार्यक्रम सुरु हुनेमा पाथीभरा याङवरक र आठराई त्रिवेणी गाउँपालिकामा ३९ वटा विद्यालयको अनुदानको रकममध्ये ६० प्रतिशत निकासा भइसकेको छ। ‘विद्यालयको खातामा निकासा भइसकेको रकमसमेत तत्काललाई खर्च नगरी यथा रूपमै राख्न पत्र आएको छ,’ भट्टराईले भने।

उनका अनुसार पाथीभरा याङवरकका १८ र आठराई त्रिवेणीका २१ गरी ३९ विद्यालयको खातामा प्रतिविद्यालय ३ लाख रुपैयाँका दरले विद्यालय अनुदान रकम निकासा भएको थियो।

विद्यालय अनुदान कार्यक्रममार्फत निकासा भएको उक्त रकम सम्बन्धित विद्यालयलाई यथास्थानमा राखी यो कार्यक्रमको सर्तअनुसार प्रक्रिया अघि नबढाउन आग्रह गरिसकिएको भट्टराईले बताए।

पहिलो चरणमा यहाँका ५ स्थानीय तहमा इजिएल कार्यक्रम सुरु हुने भनिएकामा दुई स्थानीय तहका विद्यालयमा अनुदान कार्यक्रमसम्बन्धी सम्झौता भई रकमसमेत निकासा भएको थियो। सो कार्यक्रम अन्तर्गत इजिएल कार्यक्रम लागु भएका विद्यालयलाई प्रतिविद्यालय चार हजार अमेरिकी डलर बराबर अनुदान उपलब्ध गराउने सम्झौता थियो। सम्झौतामध्ये ३९ विद्यालयमा कुल अनुदान रकमको ६० प्रतिशत रकम निकास भई बाँकी दोस्रो चरणमा निकासा गर्ने योजना रहेकामा युएसएआइडी कार्यक्रम प्रभावित हुँदा अन्योलता बढेको छ।

विद्यालय अनुदान कार्यक्रमको रकमबाट विद्यार्थीको कक्षाकोठा तथा बसाइ व्यवस्थापन, शैक्षिक सामग्रीले छापामय कोठा, पुस्तक कक्ष, सुज ¥याकसहितको व्यवस्थापन हुनेगरी विद्यालयलाई अनुदान सम्झौता गरिएकामा अब उक्त कार्यक्रमसमेत प्रभावित भएको छ।

 कोसी प्रदेशका ताप्लेजुङ, पाँचथर, धनकुटा, खोटाङ, भोजपुर, तेह्रथुम र उदयपुर गरी सात जिल्लाका ५७ स्थानीय तहका दुई हजार ५४९ विद्यालयमा युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम सुरु भएको थियो। इजिएल कार्यक्रममार्फत ४८ जिल्लाका ४८२ स्थानीय तहका १८ हजार दुई सय विद्यालयमा कार्यक्रम अघि बढेकामा उक्त कार्यक्रम प्रभावित हुने देखिएको छ।

कार्यक्रममार्फत करिब ११ लाख विद्यार्थी लाभान्वित गराउने योजना थियो। सन् २०२३ को सेप्टेम्बर २८ बाट सन् २०२८ को सेप्टेम्बर २८ सम्म यो कार्यक्रम सञ्चालन हुने तय भएको थियो। कार्यक्रम अवधिमा कुल ३९.९८ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको थियो ।

प्रकाशित: २४ माघ २०८१ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App