६ मंसिर २०८१ बिहीबार
image/svg+xml
शिक्षा

बरुवा क्याम्पस आत्मनिर्भर बन्दै

नवगठित क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी । तस्विरः महेश्वर

सदरमुकामको बरुवा क्याम्पस आत्मनिर्भर हुँदै गएको छ। गाईघाटस्थित त्रियुगा नमुना माविको एउटा भवन भाडामा लिएर २०६६ सालदेखि सञ्चालनमा आएको यो सामुदायिक क्याम्पस १५ वर्षे अवधिमा दक्ष जनशक्ति र भौतिक संरचना र पूर्वाधारयुक्त हुँदै आत्मनिर्भर बन्दै गएको छ।

सुरुताका त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापन सङ्कायमा पठनपाठन थालेको क्याम्पसले २०६९ देखि शिक्षा शास्त्र सङ्कायमा पनि अध्यापन गराउन थालेको छ। विशुद्ध नाफारहित उद्देश्यले स्थापित क्याम्पस ५ वर्षयता आफ्नै स्वामित्वको जमिनमा सुविधा सम्पन्न भवन बनाएर पठनपाठन गराउँदै आएको छ।

स्थापनाकालमा २० जना विद्यार्थीबाट सुरु क्याम्पसमा हाल दुवै सङ्काय गरी ५ सय ५ विद्यार्थी पुगेका छन्। शिक्षा शास्त्रतर्फ २ सय ७ र व्यवस्थापनतर्फ २ सय ९८ विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख भीमबहादुर खड्काले बिहीबार आयोजित साधारण सभामा पेस गरेको प्रतिवेदनमा उल्लेख छ।

त्रियुगा नगरपालिका १२ स्थित त्रियुगा बसपार्कको पूर्वतर्फ नगरपालिकाले भोगाधिकार दिएको ३ बिगाहा ९ कठ्ठा जमिनमा भवन र खेलमैदानसहित बरुवा क्याम्पस सञ्चालनमा छ। सङ्घीय सरकार, प्रदेश र त्रियुगा नगरपालिकाको अनुदान र विश्वविद्यालय अनुदान आयोगको सहयोगबाट २ वटा पक्की र ४ वटा जस्तापाताको छानोवाल टहरा निर्माण गरेपछि पठनपाठन गर्न सहज भएको छ।

ती भवनमा जम्मा २८ कोठा, ५ वटा छात्र–छात्रा शौचालय, सुद्ध खानेपानी,आवश्यकता अनुसार डेक्स बेन्च र पर्याप्त खेलमैदान रहेको खड्काले उल्लेख गरेका छन्। सर्वसम्मत पारित प्रतिवेदनमा गत वर्षको आमदानी तथा खर्च तथा आगामी वर्षको कार्य योजनासमेत प्रमुख खड्काले पेस गरेका छन्।

शैक्षिक वर्ष ०८०/८१ मा क्याम्पसको आमदानीले खर्च धान्न नसकेर घाटा बेहोर्नु परेको भए पनि आगामी वर्षदेखि आत्मनिर्भर हुने कोसिस गर्ने निर्णय सभाले गरेको छ।गतवर्ष क्याम्पसले ७८ लाख ३ हजार ६ सय आमदानी गर्दा ७७ लाख २० हजार ५ सय ८३ रुपैयाँ चालुतर्फ खर्च भएको छ। पुँजीगततर्फ २० लाख ४४ हजार ५४ रुपैयाँको भौतिक संरचना निर्माण गरेको क्याम्पसलाई १९ लाख ६१ हजार ३७ रुपैयाँ घाटा बजेट रहेको प्रतिवेदनमा उल्लेख छ। 

साधारण सभाले आगामी शैक्षिक वर्षको अनुमानित आयव्यय पनि पारित गरेको छ। प्रक्षेपित आयव्ययमा १ करोड २ लाल ३० हजार आम्दानी हुने अनुमान गरिएको छ।सबभन्दा बढी आमदानी मासिक शुल्कबापत ३८ लाख ४० हजार सङ्कलन हुने अनुमान साधारण सभाले गरेको छ।

त्यसै गरी विद्यार्थी भर्ना शुल्कबाट १६ लाख ५० हजार उठ्ने अनुमान गरिएको प्रक्षेपित बजेटमा विश्वविद्यालय अनुदान १८ लाख आउने, विश्वविद्यालयबाटै फर्निचर निर्माणार्थ ९ लाख र प्रदेश सरकारले ७ लाख अनुदान दिने आङ्कलन गरिएको छ।

त्यस्तै परीक्षा फर्मबाट ५ लाख उठ्ने प्रक्षेपण गरिएको छ भने नगरपालिकाले दिदै आएको ५ लाख सहयोग निरन्तरता दिने अनुमान गरिएको छ  विनियोजन २ लाख, चारित्रिक प्रमाणपत्रबाट ७० हजार, विविध आमदानी ५० हजार र शिक्षण अभ्यासबाट २० हजार प्राप्त हुने अनुमान गरिएको छ।

त्यसै गरी खर्चतर्फ सबभन्दा बढी ५० लाख ३० हजार तलब भत्तामा जाने अनुमान छ ।  फर्निचर ९ लाख, मर्मत ५ लाख, मसलन्द २ लाख ५० हजार, पुस्तकालय २ लाख ५० हजार, खेलकुद १ लाख ५० हजार, प्रशासनिक खर्च १ लाख खर्च हुने अनुमान छ । कम्पाउन्ड घेराबेरा गर्न ७ लाख, अन्य खर्च ३ लाख, छात्रवृत्ति ३ लाख, विनियोजन २ लाख ५० हजार, शैक्षिक भ्रमण ५० हजार, पत्रपत्रिका ५० हजार खर्च गर्ने योजना पारित भएको छ । लेखा परीक्षण ३५ हजार, आर्थिक सहयोग २० हजार, क्याम्पस नवीकरण ३४ हजार र ह्रास कट्टी ८ लाख ५० हजार खर्च हुने अनुमान गरिएको आगामी वर्षको प्रस्तावित बजेटमा १ ला ११ हजार बचत हुने प्रक्षेपण गरिएको छ।

साधारण सभाले यसअघिकै अध्यक्ष बलदेव चौधरीको नेतृत्वमा नयाँ व्यवस्थापन समिति (क्याम्पस सभा)को गठन गरेको छ । संस्थापक अध्यक्ष चौधरीको अध्यक्षतामा सर्वसम्मत गठित क्याम्पस सभामा सत्यनारायण झा, तारा राई, कृष्ण खत्री, रामशरण चौधरी, तुलवीर बिक, केन्द्रबहादुर श्रेष्ठ सदस्य छन् । त्यस्तै अन्य सदस्यमा विदुरराज राउत, देवनारायण चौधरी, जयविक्रम राई, डा. मोहन सुबेदी, केशव बस्नेत, जङ्गबहादुर खड्का, विनोद खतिवडा, खेमनारायण यादव, शरदकुमार खड्का छानिएको समितिको सदस्यसचिवमा क्याम्पस प्रमुख खड्का सदस्य सचिव छन्।

सभामा सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरू प्रमुख, नगरप्रमुख र वडाध्यक्ष पनि पदेन सदस्य हुने क्याम्पसको विधानले व्यवस्था गरेको छ । 

साधारण सभा समापन गर्दै व्यवस्थापन समिति अध्यक्ष बलदेव चौधरीले सदरमुकाममा उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीलाई सहज र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले बरुवा क्याम्पस स्थापना गरेको बताए।

शून्य बजेटबाट २० जना राखेर पढाउन थालेको क्याम्पसमा डेढ दशकसम्म आई पुग्दा दुई सङ्कायमा ५ सय बढी विद्यार्थीले अध्ययन गर्न पाउनेसम्म आई पुग्दा धेरै सङ्घर्ष गरेको अनुभव अध्यक्ष चौधरीले सुनाए।हाल आत्मनिर्भर हुँदै गएको क्याम्पस केही वर्षभित्रै नाफामा जाने बताउँदै उनले शिक्षित र बौद्धिक जमात रोजगार बन्न र न्यूनतम शुल्कमा विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन सफल  भएकोमा खुसी व्यक्त गरे। 

प्रकाशित: २२ कार्तिक २०८१ २०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App