६ मंसिर २०८१ बिहीबार
image/svg+xml
शिक्षा

इन्जिनियरिङ पढ्न चाहने विद्यार्थी भन्छन्: ‘जे गर्छौं नेपालमै गर्छौं’

देशमा धेरै विद्यार्थीहरू प्लस टू उत्तीर्ण गरेपछि विदेश जाने लहर चलिरहेका बेला भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलकी दिया खत्रीले भने स्वदेशमै बसेर केही गर्ने संकल्प लिएकी छिन्।

नेपालमै उच्च शिक्षा अध्ययन गरी देशमै केही योगदान दिने सोच राखेकी दीयाले विदेश नगई नेपालमै काम गर्ने योजना बनाएकी हुन्।

शनिबार नेपाल इन्जिनियरिङ कलेज दुवाकोट भक्तपुरमा प्रवेश परीक्षा दिन पुगेकी दीयाले भनिन्, "पढ्छु पनि नेपालमै अनि काम पनि यही गर्छु।" 

दीयाले दश कक्षासम्म वडाकै नवीन इङ्लिश स्कुलमा पढिन् भने प्लस टू ख्वप मावि भक्तपुरबाट उत्तीर्ण गरेकी हुन्।

दीया जस्तै, काठमाडौं युनिग्लोब कलेजबाट प्लस टू उत्तीर्ण गरेका स्वाधिनराज सिटौलाले कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने लक्ष्यसाथ परीक्षा दिएका छन्। स्वाधिनराजले भने, "नाम नै स्वाधिनराज छ, जे गर्छु आफ्नै देशमा बसेर गर्छु।"

परीक्षामा सहभागी अर्की विद्यार्थी विभूति महर्जनले पाँचवर्षे आर्किटेक्ट अध्ययन गर्न परीक्षा दिएकी छिन्। युनाइटेड एकेडेमीबाट प्लस टू उत्तीर्ण विभूतिले पाँच वर्षपछि थप अध्ययनका लागि विदेश जाने योजना सुनाउँदै काम भने नेपालमै गर्ने बताइन्।

विद्यार्थीहरू विदेश जान चाहनुमा उनीहरूको दोष नभएको भन्दै दीयाका अभिभावक दीपक खत्रीले भने, "परिस्थिति यस्तै छ, विद्यार्थीलाई के दोष दिनु ?"

नेपाल इन्जिनियरिङ कलेज दुवाकोटमा शनिबार प्लस टू उत्तीर्ण विद्यार्थीहरूका लागि इन्जिनियरिङ अध्ययनका विभिन्न विधामा भर्ना हुन प्रवेश परीक्षा सम्पन्न भएको थियो।

कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले परीक्षा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदै विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको बताए।

कलेजमा सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेकट्रोनिक्स एण्ड कम्युनिकेशन, इलेकट्रोनिक्स एण्ड इलेक्ट्रिकल, र सिभिल फर डिप्लोमा होल्डर्स गरी विभिन्न इन्जिनियरिङ विषयहरूमा स्नातक तहको पढाइ हुने जानकारी गराइयो।

तीस वर्षदेखि सञ्चालनमा रहेको नेपाल इन्जिनियरिङ कलेजले नाफा नकमाउने उद्देश्यसाथ सेवा प्रदान गर्दै आएको छ। कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ भने जिल्लामा यसैगरी ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ लगायत इन्जिनियरिङ कलेजहरू पनि सञ्चालनमा छन्।

प्रकाशित: १ भाद्र २०८१ २०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App