३ आश्विन २०८१ बिहीबार
image/svg+xml
शिक्षा

बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थीले गरे स्वदेशमै इन्टर्नसिपको माग

बंगलादेशमा डाक्टर अध्ययनरत विद्यार्थीले नेपालमै इन्टर्नसिपको व्यवस्था गरिदिन नेपाल मेडिकल काउन्सिलसँग आग्रह गरेका छन्। नेपलिज मेडिकल स्टुडेन्टस् एसोसिएसन बंगलादेशका अध्यक्ष डा. नविन यादवसहितको टोलीले बुधबार मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसाललाई भेटेर नेपालमै इन्टर्नसिपको व्यवस्था गरिदिन माग गरेका हुन्।

उनीहरूले दुईबुँदे मागपत्र प्रस्तुत गर्दै नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षाका निम्ति ६ महिना इन्टर्नसिप गर्नैपर्ने व्यवस्थालाई संशोधन गरी एमबिबिएस फाइनल परीक्षा उत्तीर्ण गरेलगत्तै दिन मिल्ने व्यवस्था गरिदिन आग्रह गरेका छन्।

‘एमबिबिएसको फाइनल परीक्षा उत्तीर्ण गरेपछि इन्टर्नसिप गर्न बंगलादेशमा प्राइभेट मेडिकल कलेजमा नेपाली विद्यार्थीहरूले भर्ना समयमै इन्टर्नसिप फी तिर्नुपर्ने हुन्छ (अर्थात् पाँच वर्षअगाडि नै ) अनि त्यही फी पछि मेडिकल कलेजले तलब भनेर मासिक रूपमा फिर्ता दिने गरेका छन्’, अध्यक्ष डा. यादवले नागरिकसँग भने, ‘सरकारी मेडिकल कलेजमा अध्ययन गर्नेले पनि इन्टर्नसिप गर्दा कुनै स्टिफेन पाउँदैनन्।’

उनले थपे, ‘देशमै पढ्ने इच्छा हुँदाहुँदै पनि अध्ययनकै निम्ति घरपरिवार एवं देशबाट पलायन हुन बाध्य हुनुपर्ने अवस्था, जीवनको लामो समयको समर्पण, कडा मेहनत अनि महँगो शुल्कका साथै अनेकौं चुनौतीको सामना गर्दै डिग्री लिइसक्दा पनि आफ्नै देशमा प्रोत्साहनका निम्ति केही सुविधा नहुनु दुःखलाग्दो छ।’

नेपालमै इन्टर्नसिपको व्यवस्था गर्दा दक्ष युवा जनशक्ति विदेश पलायन हुनबाट रोकिने, यहाँको मेडिकल सेटअप, प्रणाली सबैबारे ज्ञान हुने, यहींका बिरामीलाई थप सेवा प्रदान गर्न सकिने र स्वदेशमै मेडिकल क्षेत्रमा सेवा दिन सकिने विद्यार्थीको भनाइ छ।

‘राज्यले यस्तो व्यवस्था गरिदिएमा भविष्यमा देशमा राम्रो डाक्टर उत्पादन गर्न टेवा पुग्छ’, यादवले भने, ‘अनि भविष्यमा क्षमतावान् युवाहरूलाई स्वदेशमै बस्न र फर्कन प्रोत्साहन हुन्छ।’ विद्यार्थीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत बोधार्थ बुझाएका छन्।

मेडिकलका नाममा थुप्रै संघसंस्था खुलेका छन् र तिनका पदाधिकारी स्वयं डाक्टर पेसाकै हुँदा पनि आम चिकित्सक, स्वास्थ्यकर्मी एवं समग्र प्रणाली सुधारका निम्ति सम्बन्धित निकाय अग्रसर नभएको समेत विद्यार्थीको गुनासो थियो।

विद्यार्थीले देशमै बसेर केही गर्छु भन्ने युवा जमातलाई प्रोत्साहन गर्ने केही नीति एवं नियति नै नभएको औंल्याउँदै आफ्नो स्वार्थका निम्ति योग्य जनशक्ति बाहिर पठाउन बाध्य पार्ने भ्रष्ट मानसिकताको अन्त्य कहिले हुने भनी सवाल खडा गरेका छन्। विद्यार्थीले राज्यले मेडिकल शिक्षा अध्ययन गर्न विदेश पठाउने विद्यार्थी अध्ययन गर्न जाने कलेज तथा विश्वविद्यालयबारे मापदण्ड तोकेर र मापदण्डभित्रका कलेजमा मात्र अध्ययनका लागि अनुमति दिनुपर्ने सवालसमेत उठाएका छन्।

काउन्सिलका अध्यक्ष एवं नेपालका लागि बंगालदेशका पूर्वराजदूतसमेत रहेका डा. चोपलाल भुसालले विद्यार्थीहरूका समस्या राम्ररी बुझेको भए पनि काउन्सिलको ऐनमै जुन देशको कलेजमा अध्ययन गर्ने हो त्यही देशको कलेजमा इन्टर्नसिप गर्ने व्यवस्था भएकाले माग सम्बोधन गर्न नसकिने स्पष्ट पारे।

‘विदेशमा अध्ययनरत मेडिकलका विद्यार्थीलाई इन्टर्नसिप गराउने नेपालमा क्षमता पनि छैन। यसका साथै नेपाली विद्यार्थी विदेशमा मेडिकल अध्ययन गर्न जाँदा पनि सम्बन्धित देशकै कलेजमा इन्टर्नसिप गर्ने अनुमति लिएरै गएका हुन्छन्’, उनले थपे, ‘स्वदेशमै इन्टर्नसिपको व्यवस्था सहज पनि छैन र काउन्सिलको ऐन, नियम परिमार्जन वा संशोधन पनि त्यति सहज छैन। यसका लागि क्याबिनेटले नै निर्णय गर्नुपर्छ।’

प्रकाशित: १७ श्रावण २०८१ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App