१८ असार २०८१ मंगलबार
image/svg+xml
शिक्षा

विदेशी विद्यार्थीको शैक्षिक गन्तव्य बनाउन नेत्र विश्वविद्यालय स्थापना हुँदै

सरकारले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै शैक्षिक गन्तव्य बनाउन नयाँ विधामा विषयगत छुट्टै विश्वविद्यालय स्थापनाको तयारी गरेको छ।

नेत्र विज्ञान अध्ययनका लागि विदेशी विद्यार्थीको समेत अध्ययन गन्तव्य बनाउने उद्देश्यका साथ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सोमबार तिलगंगा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसद्मा पेस गरेकी हुन्।

मन्त्री श्रेष्ठले सोमबार राष्ट्रियसभामा विधेयक पेस गर्दै यस्ता विश्वविद्यालय नेपालमा स्थापना भए नेत्र क्षेत्रमा संसारकै विशिष्ट विश्वविद्यालय बन्न सक्ने दाबी गरिन्। ‘यो विश्वविद्यालयको आफ्नै उत्पादन केन्द्र हुने र यस क्षेत्रमा संसारकै विशिष्ट व्यक्तिहरूको योगदान रहने छ’, मन्त्री श्रेष्ठले भनिन्, ‘सरकारलाई आर्थिक भार नपर्ने, आफ्नै उत्पादन केन्द्र रहने गरी स्थापना हुन लागेको तिलगंगा नेत्र विश्वविद्यालय साँच्चै विदेशी विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य हुने हाम्रो विश्वास छ।’

विधेयक पेस गर्दै उनले विश्वविद्यालयको सञ्चालन यसको संरक्षक परिषद्ले गर्ने बताइन्। उनले भनिन्, ‘डा. सन्दुक रुइतलगायत संलग्न रहेको ‘नेपाल आँखा कार्यक्रम’ र ‘अन्धोपन निवारण समाज मकवानपुर’ संस्थाको सम्पत्ति तथा भौतिक संरचना यस विश्वविद्यालयको स्थापनामा व्यवस्था गरिएको छ।’

यी दुई संस्थाको ३१ जिल्लामा रहेका सम्पत्ति तथा जायजेथा तिलगंगा नेत्र विश्वविद्यालयको हुने विधेयकमा व्यवस्था गरिएको छ। यस विश्वविद्यालयको कुनै पनि नियमित आर्थिक दायित्व नेपाल सरकारलाई नपर्ने गरी विश्वविद्यालय स्थापना गर्ने लक्ष्य रहेको मन्त्री श्रेष्ठले जनाइन्।

नेपाल आँखा कार्यक्रम नेपालमा अन्धोपन नियन्त्रणका लागि २०४९ सालदेखि नै मुनाफारहित तथा समुदायमा आधारित गैरसरकारी संस्थाका रूपमा सञ्चालन हुँदै आएको छ। २०४९ साउन ६ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई समाज कल्याण परिषद्मा आबद्ध भएको संस्था हो।

यस संस्थाले काठमाडौंको तिलगंगासहित नेपालका २० जिल्लाका विभिन्न स्थानमा आँखा उपचारका कार्यक्रम सञ्चालन गरी उत्कृष्ट उपचार प्रदान गर्दै आएको छ। यस संस्थाबाट हाल अफ्थाल्मिक साइन्स फेलोसिप इन अफ्थाल्मोलोजी तथा मास्टर अफ अप्टोमेट्रिक कार्यक्रम विभिन्न प्रतिष्ठान, विश्वविद्यालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा सञ्चालन हुँदै आएका छन्।

‘विश्वविद्यालय सञ्चालनमा आएपछि मित्रराष्ट्रहरूमा समेत आँखा कार्यक्रमका सेवा विस्तार हुँदै जाने छ’, मन्त्री श्रेष्ठले विश्वविद्यालयबारे बताइन्, ‘साथै यसबाट नेपालको अन्तर्राष्ट्रिय स्तरमै प्राविधिक जनशक्तिका क्षेत्रमा ख्याति वृद्धि हुन्छ।’ उनले विश्वविद्यालयको सकारात्मक पक्षबारे उल्लेख गरिन्, ‘अफ्थाल्मोलोजी विषयको अध्ययनमा नेपाल विश्वस्तरमै उत्कृष्ट गन्तव्य बन्ने विश्वास छ।’

शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले उच्च शिक्षालाई वैज्ञानिक, नवप्रवर्तनात्मक, अनुसन्धानात्मक, प्रविधिमैत्री र रोजगारमूलक बनाउँदै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण गर्न यो विश्वविद्यालयले योगदान दिने उद्देश्यले मन्त्रालयले विषयगत विश्वविद्यालय स्थापनाको तयारी गरेको जनाए।

‘आँखा स्वास्थ्य विधामा उच्च शिक्षा प्रदान गर्न तथा यस क्षेत्रमा अध्ययन, अनुसन्धान, आँखा उपचारमा पहुँच विस्तार, आँखा उपचारसम्बन्धी वस्तु उत्पादन तथा प्रविधि विकास गर्ने उद्देश्यले यो विश्वविद्यालयको विधेयक सोमबार औपचारिक रूपमा अघि बढ्यो’, प्रवक्ता दाहालले नागरिकसँग भने, ‘नितान्त पठनपाठन, अध्ययन अनुसन्धानमै आधारित डिन विश्वविद्यालयको आवधारणामा स्थापना गर्ने मन्त्रालयको लक्ष्य हो।’

उनले थपे, ‘ट्रस्टअन्तर्गत स्थापना हुने यो विश्वविद्यालयले सम्बन्धन बाँड्न नपाइने विधेयकमा व्यवस्था छ भने कुलपति प्रधानमन्त्री नरहनेसमेत व्यवस्था गरिएको छ।’ विषयगत विश्वविद्यालयको अभ्यास नेपालमा पहिलोपटक सरकारले गर्न लागेको उनको भनाइ छ। ‘केन्द्रीय विश्वविद्यालयका रूपमा स्थापना हुन्छ’, प्रवक्ता दाहालले भने, ‘आँखा विशेषज्ञ डा. सन्दुक रुइतसँग छलफल गरी मन्त्रालय अघि बढेको हो।’

उनले थपे, ‘अहिलेको अवस्थामा पनि तिलगंगा आँखा अस्पतालमा विदेशी विद्यार्थी अध्ययन, अनुसन्धान र पठनपाठनका लागि आउनेको आकर्षण रहेको छ। विश्वविद्यालय नै स्थापना भएपछि अन्तर्राष्ट्रिय स्तरकै शैक्षिक हब बनाउन सकिने विश्वास छ।’

प्रकाशित: ११ असार २०८१ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App