१६ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

आठराई त्रिबेणीले ९० प्रतिशत बढी विद्यार्थी हाजिर भए अभिभावकलाई सम्मान गर्ने

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ९० प्रतिशत भन्दा माथि विद्यालयमा हाजिर हुने विद्यार्थी तथा विद्यार्थीका अभिभावकलाई सम्मान गर्ने भएको छ।

गाउँपालिकामा भएको शैक्षिक भेलाबाट सो निर्णय भएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिए।

घोषणा पत्रमा विद्यालयमा कार्यरत सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, वाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरू ९५ प्रतिशत भन्दा माथि हाजिर भई पठनपाठनमा संलग्न भएको अवस्थामा शिक्षक दिवसको दिन प्रोत्साहन गरिने उल्लेख छ।

भेलामा सहभागी जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले विद्यालयमा कुनैपनि दलगत राजनीति प्रवेश गर्न नदिने प्रतिबद्धता जनाउँदै घोषणा पत्रको समर्थन गरेका छन्। यस्तै अहिले कायम रहेका गाउँ शिक्षा ऐन, नियमावली, कार्यविधि र निर्देशिकाहरू समयानुकूल परिमार्जन गर्दै लगिने घोषणा समेत गाउँपालिकाले गरेको छ।

घोषणा पत्रमा प्रधानाध्यापकको छनौट प्रचलित कानुन, ऐन तथा नियमावली बमोजिम गरिने, शैक्षिक गुणस्तर वृद्धिका लागि योग्य, विषयगत र प्रविधिमा दख्खल राख्ने शिक्षकको छनौट गरिने उल्लेख छ। विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घलाई विद्यालयको प्रभावकारी अनुगमन तथा सुपरिवेक्षणका लागि आवश्यक तालिम तथा सीप प्रदान गरिने,गाउँपालिकाले शिक्षकको पेसागत सहयोग,सुपरिवेक्षण र निरीक्षण गरी पुरस्कार तथा दण्डको व्यवस्था गर्ने घोषणा गरिएको छ।

विद्यालयमा आर्थिक अनुशासन तथा पारदर्शिता कायम गर्न पालिका भरीका प्रत्येक विद्यालयको आन्तरिक तथा अन्तिम लेखा परीक्षणलाई थप प्रभावकारी बनाई निरन्तरता दिने, विद्यालय कर्मचारी, वाल विकास सहजकर्ता, प्रधानाध्यापक र शिक्षकको क्षमता विकास कार्यक्रमको योजना बनाई कार्यान्वयन तथा प्रभावकारी मापन गर्ने घोषणा पनि गरिएको छ।

विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक, सामाजिक र आर्थिक पक्षलाई पूर्णतया वालमैत्री बनाउने,अभिभावक शिक्षा तथा सचेतनाका कार्यक्रम कार्यान्वयन गरिने तथा विद्यालयको मातहतमा रहेको भौतिक, नगदी, जिन्सी तथा साझेदार संस्थाहरूमार्फत भएका कामहरूको अनुगमन तथा नियमनलाई प्रभावकारी बनाइने घोषणा गरिएको छ। 

प्रकाशित: २५ जेष्ठ २०८१ १७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App