२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

जब पाठ्यपुस्तकमै पढाइन्छ गलत इतिहास

के तपाईंका सन्तान कक्षा १० मा पढ्दैछन्? छन् भने तपाईंलाई थाहा हुनुपर्छ, हाम्रो पाठ्यक्रमले उक्त कक्षाका नानीबाबुलाई गलत इतिहास पढाइरहेको छ। कक्षा १० को नेपाली विषयको पाठ्यपुस्तकको पृष्ठ २४३ मा रहेको सुनाइ पाठमा ‘मेरो छोराले के सिकोस्’ भन्ने शीर्षकमा अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनले छोरा अध्ययन गर्ने विद्यालयका प्राचार्यलाई लेखेको भनिएको चिठीको व्यहोराको सामग्री समेटिएको छ। अब्राहम लिंकनले कहिल्यै त्यस्तो चिठी नलेखेको पुष्टि भइसक्दा पनि नयाँ पाठ्यक्रमले उक्त त्रुटिपूर्ण विषयवस्तुलाई  पाठ्यपुस्तकमा स्थान दिएको छ।

अमेरिकाको स्प्रिङफिल्ड इलनोईस्थित लिंकन राष्ट्रपतीय लाइब्रेरी एवं म्युजियमले अब्राहम लिंकनले यस्तो खालको चिठी कहिल्यै नलेखेको भनी आधिकारिक रूपमा पुष्टि गरिसकेको छ।

सन् २००१ मै यो चिठी लेखेको भन्ने विषय ‘फेक’ भएको पुष्टि भइसकेको छ। तर पाठ्यक्रम विकास केन्द्र र नेपाली विषयका पाठ्यपुस्तक लेख्नेहरूले अध्ययन–अनुसन्धान नै नगरी हचुवाका भरमा उक्त विषय राखेको र बालबालिकाले पनि गलत तथ्य सिकिरहेको पाइएको हो।

त्यति मात्र होइन, अब्राहम लिंकनको हत्या १८६५ अप्रिल २ मा भएको हो। तर चिठी लेखेको मिति १८८२ फेब्रुअरी ४ राखिएको छ। यो मिति लिंकनको मृत्यु भएको १७ वर्षपछिको हो।

हालै एजुकेसन इन एभ्री होम नामक संस्थाले नेपालका विद्यालय स्तरको पाठ्यपुस्तक अडिट प्रतिवेदन सार्वजनिक गरेपछि यस्ता त्रुटिहरू उजागर भएका हुन्।

एक वर्ष लगाएर गरिएको अध्ययनको ६३ पृष्ठ लामो प्रतिवेदनमा अध्ययनकै क्रममा अब्राहम लिंकनको चिठीको आधिकारिकता पुष्टि गर्न अमेरिकाको स्प्रिङफिल्ड इलनोईस्थित लिंकन राष्ट्रपतीय लाइब्रेरी एवं म्युजियमलाई पत्राचार गरिएको र उनीहरूले लिंकनले लेखेको भनिएको उक्त चिठी गलत रहेको पुष्टि गरेको संस्थाका अध्यक्ष एवं अनुसन्धानकर्ता होमराज आचार्यले बताए।

‘हाम्रो पाठ्यपुस्तक अडिटको रिपोर्ट सार्वजनिक भएको छ। अडिटका क्रममा यस्तो तथ्य पत्ता लागेको हो। हाम्रा नानीबाबुहरू गलत इतिहास पढिरहेका रहेछन्,’ अध्यक्ष आचार्यले नागरिकसँग भने, ‘पहिलो कुरा त अब्राहम लिंकनले यो चिठी कहिल्यै लेखेका रहेनछन्। यो इन्टरनेट होक्स रहेछ। हामीले विद्यार्थीलाई इन्टरनेटमा भाइरल बनेको झुटो विषय पढाइरहेका रहेछौं।’

उनले अगाडि भने, ‘कक्षा १० का नानीबाबुलाई यस्तो गलत इतिहास पढाइरहे अविश्वासको वातावरण सिर्जना हुन्छ।’

पाठ्यपुस्तकमा समावेश गरिएका यस्ता तमाम मिथ्या विषयमा संसद्को शिक्षा समितिसँग छलफल हुने उनले बताए। विद्यालय तहको पाठ्यपुस्तक लेख्दा विषयवस्तुबारे अनुसन्धान नपुगेको र त्यस्ता विषयमा संवेदनशील नबनेको अध्यक्ष आचार्यको भनाइ छ।

‘पाठ्यपुस्तकमा रहेको त्रुटिबारे प्रतिनिधिसभाको शिक्षा समितिका सभापति भानुभक्त जोशीले ध्यानाकर्षण भएको बताउनुभएको छ,’ आचार्यले भने, ‘उहाँले पाठ्यक्रम र पाठ्यपुस्तकमा देखिएका तमाम त्रुटिबारे उजागर गरी तयार परिएको अडिट प्रतिवेदन संसद्को शिक्षा समितिको सम्पत्ति बनेको भनी स्पष्ट रूपमा भन्नुभएको छ। अब यसबारे संसद्मा छलफल हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।’

पाठ्यक्रम विकास केन्द्रमा साढे तीन वर्ष निर्देशक पद सम्हालिसकेका र हाल शिक्षा तथा मानव विकास केन्द्रका निर्देशक रहेका डा. गणेश भट्टराईका अनुसार पाठ्यक्रम र पाठ्यपुस्तक समाजका ऐना हुन्। यसले बालबालिकाको भविष्य निर्धारण गर्छ। तर पाठ्यपुस्तकमै बालबालिकालाई गलत विषयवस्तु सिकाउँदा वा पढाउँदा उनीहरूमा नकारात्मक असर पर्ने उनको भनाइ छ।

‘यस्तो महत्त्वपूर्ण विषयमा नेपालमै पहिलो पटक यसतो तथ्य उजागर हुनु सकारात्मक पक्ष हो,’ उनले भने, ‘यस प्रतिवेदनले औंल्याएका र असावधानी तथा अज्ञानतावश पाठ्यक्रममा पर्न गएका त्रुटि सच्याएर मात्र पठनपाठन गराउनुपर्छ।’

 भट्टराईले आफू पाठ्यक्रमको निर्देशक हुँदा पनि पैगम्बर मोहम्मदको फोटो नै गलत छापिएपछि आलोचना भएको र पछि सच्याइएको स्मरण गरे। उनले पाठ्यक्रम र पाठ्यपुस्तकबारे लेखक, सम्पादक र पाठ्यक्रम विकास केन्द्र सधैं संवेदनशील हुनुपर्नेमा उनले जोड दिए।

माध्यमिक तहमा अध्यापनरत शिक्षक पूर्ण इन्फादाले अनुसन्धानले एकदमै गम्भीर र तथ्यपरक विषय उजागर गरेको प्रतिक्रिया दिए। ‘म पनि यही पाठ्यपुस्तक पढाउने शिक्षक हुँ। अब मेरा विद्यार्थीलाई सही तथ्यबारे जानकारी गराउँछु,’ उनले भने, ‘तर पाठ्यपुस्तक सम्पादनमा संलग्नहरूले भ्रामक कुरा पहिचान गर्न नसक्दा विद्यार्थी, शिक्षक र आम पाठक भ्रममा परेका छन्। यस्ता भ्रामक कुरा राखेर पाठ्यपुस्तक तयार पार्ने लेखक तथा सम्पादकहरूले क्षमायाचना गर्नुपर्छ।’

उनले पहुँचका आधारमा पाठ्यक्रम विकास केन्द्रसम्बद्ध व्यक्तिहरूले असुहाउँदा पाठहरू पनि पाठ्यपुस्तकमा समेट्ने गरेको आरोप लगाए।

‘पाठ्यक्रम विकास केन्द्रकै एक जना हाकिमले लेखेको फेद न टुप्पोको निबन्ध पाठ हामीले पढाउनुुपर्छ। तिनै हाकिमले निजी प्रकाशकहरूलाई पाठ्यक्रम विकास केन्द्रले बजारमा ल्याउनुअघि नै पाठ्यपुस्तकको सफ्ट कपी बेच्छन्,’ उनले भने, ‘यता निजी प्रकाशकहरूले सरकारी पाठ्यपुस्तक बजारमा आइपुग्नुअगावै व्याकरण, सहयोगी पुस्तकका नाममा सामग्री छापेर बेच्न थालिसकेका हुन्छन्।’

शिक्षक इन्फादाका अनुसार पाठ्यक्रम र पाठ्यपुस्तक बालबालिकाको भविष्य निर्माण गर्ने आधार हो। यस्ता सुटियुक्त विषयवस्तु पाठ्यपुस्तकमा समावेश गरिँदा विद्यार्थी, अभिभावक, शिक्षक, समाज र देशका लागि नै घातक हुने उनको बुझाइ छ।

एजुकेसन इन एभ्री होमका अध्यक्ष आचार्यले पाठ्यपुस्तकमा अनेकन् त्रुटिहरू रहेको र हालै त्यस्ता तथ्य उजागर गरेर कक्षा १० को नेपाली पाठ्यपुस्तकमा रहेका केही गम्भीर त्रुटि सच्याउन लगाइएको उनले दाबी गरे।

उक्त पाठ्यपुस्तकको पृष्ठ १५ मा समाविष्ट ‘घरझगडा’ शीर्षकको पाठमा आठौं अनुच्छेदको सातौं हरफमा ‘वास्तवमा नायबी सिनोका निम्ति मरिमेट्ने गिद्ध म होइन’ हुनुपर्नेमा ‘वास्तवमा नायबी सेनाका निम्ति मरिमेट्ने गिद्ध म होइन’ उल्लेख भएको उनले बताए।

‘गलत तथ्य रहेको पाठ्यपुस्तकबाट गलत सिकाइ हुन्छ। यसले शैक्षिक स्तर घट्छ,’ उनले भने, ‘त्रुटिहरू औंल्याएर निराकरण गर्न सम्बन्धित सबै पक्ष सचेततापूर्वक लाग्नुपर्छ।’

प्रकाशित: १४ फाल्गुन २०८० ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App