१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

अब नैकापबाट ‘सान’को पठनपाठन

सान इन्टरनेसनल कलेजले आइतबार एक कार्यक्रम गरी आफ्नो २४औं स्थापना दिवस मनाएको छ। काठमाडौं चन्द्रागिरि नगरपालिका–१४, नैकापस्थित कलेज परिसरमा आयोजित वार्षिक स्थापना दिवस कार्यक्रमको उद्घाटन उपसभामुख इन्दिरा रानामगर र कलेजका अध्यक्ष डा. सुवास घिमिरेले संयुक्त रूपमा गरे।  

उद्घाटन कार्यक्रमपछि आफ्नो मन्तव्य व्यक्त गर्दै उपसभामुख रानामगरले समयको सदुपयोग गर्न आग्रह गर्दै सबै काम समयमै सम्पन्न गर्नुपर्ने बताइन्।

 उनले मुलुकको सभ्यता र राष्ट्रियता रक्षा गर्न सबै चनाखो हुनुपर्ने औंल्याउँदै सहकार्यबाटै दिगो विकास सम्भव हुने धारणा राखिन्। मुलुकका कुनाकुनामा पुगेर विभिन्न क्षेत्रको नेतृत्व गर्न सक्ने प्रतिभा उत्पादन गर्न कलेजलाई आग्रह गर्दै उनले विद्यार्थीले पनि शिक्षा लिएपछि सहर होइन, गाउँगाउँमा पुगेर दिगो विकासमा हातेमालो गर्नुपर्ने बताइन्।

बागमती प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले विद्यार्थी विदेश पलायन हुने क्रम बढ्दै गएकाले यसलाई रोक्नुपर्ने बताए। उनले नैतिक र राष्ट्रियतासम्बन्धी शिक्षा प्रदान गर्न सके विदेश पलायनमा कमी आउन सक्ने धारणा राखे।

त्यस्तै कलाकार दीपकराज गिरीले विद्यार्थीलाई देशमै भविष्य छ भन्ने खालको शिक्षा दिएर विदेश पलायन हुनबाट रोक्नुपर्ने नीति ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराए।

कार्यक्रमका सभापति एवं कलेजका अध्यक्ष डा. घिमिरेले कलेजबाट शिक्षा लिएका विद्यार्थी विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगेको जानकारी गराउँदै कलेजले शिक्षाको गुणस्तरमा कहिल्यै सम्झौता नगरेको र अब पनि नगर्ने बताए।

 उनले दुःखबिना सुख नमिल्ने र सुखका लागि स्वस्थ जीवन र शिक्षा हुनुपर्ने धारणा राखे। चन्द्रागिरि क्षेत्रको विकासमा कलेज सहकार्य गर्न तयार रहेको जानकारी गराउँदै उनले सहकार्यबाटै चन्द्रागिरिलाई विकासमा नमुना पालिका बनाउन सकिने बताए।

कलेजका उपप्राचार्य केशव सुवेदीले उपस्थित पाहुनालाई स्वागत गर्दै कलेजको शैक्षिक गतिविधि प्रकाश पारेका थिए। कार्यक्रममा विद्यार्थीले नृत्य र गीत प्रस्तुत गरी उपस्थित पाहुनालाई आनन्द प्रदान गरेका थिए। यसअघि काठमाडौं महानगरपालिका गैरीधारामा सञ्चालित कलेजको पठनपाठन र प्रशासन यसै वर्षदेखि नैकापमा स्थानान्तरण गरिएको हो।

स्नातकोत्तर तहसम्म पठनपाठन हुने यो कलेज नैकापबाट सञ्चालन हुन थालेपछि यस क्षेत्रको शैक्षिक र सामाजिक विकासमा थप रौनक आउने विश्वास स्थानीयको छ।

प्रकाशित: २९ माघ २०८० ०८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App