२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

भक्तपुर नगरपालिकाले सय एक जना विद्यार्थीलाई शैक्षिक ऋण दिने

भक्तपुर नगरपालिकाको यो वर्षको लागि शैक्षिक ऋण दिन एक सय एक जना विद्यार्थी छनौट गरेको छ। छनौटमा परेका विद्यार्थीसँग शुक्रवार नगरपालिकाले शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

आव २०८०/८१ मा भक्तपुर नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यता (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत ब्याजदरमा ऋण दिई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई भक्तपुर नगरपालिकाबाट शैक्षिक ऋण प्रदान गर्ने सम्बन्धमा आवेदन पर्न आएकामध्ये अन्तरवार्ताबाट १०१ जना विद्यार्थीहरू छनोट भएको कार्यक्रममा बताइयो। 

छनोट हुनेमा भनपा वडा नं. १ का ३ जना, भनपा २ का १५ जना, भनपा ३ का ११ जना, भनपा ४ का १५ जना, भनपा ५ का १० जना, भनपा ६ का १६ जना, भनपा ७ का १२ जना, भनपा ८ का ७ जना, भनपा ९ का ४ जना र भनपा १० का ८ जना रहेको जनाइयो। नगरपालिकाले विगत वर्षहरूदेखि नै आर्थिक अभावका कारण पढाइबाट वञ्चित गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा शैक्षिक ऋण वितरण गर्दै आएको छ।

 कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले बौद्धिक जनशक्ति उत्पादन गरी देश विकासमा महत्त्वपूर्ण योगदान पुयाउन नगरपालिकाअन्तर्गत विभिन्न विषयका शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको बताए। नपाले शिक्षा क्षेत्रको विकासमा गरेको लगानी उपलब्धिपूर्ण भएको बताउँदै उनले कामदार वर्गको हितमा काम गर्ने नीतिअनुरूप भनपाले काम गरिरहेको बताए। शारीरिक र बौद्धिक श्रमले देश विकासमा टेवा पुर्‍याउने बताउँदै प्रमुख प्रजापतिले युवा जनशक्ति बिदेसिँदा र यहाँ प्राप्त स्रोतसाधनको उचित प्रयोग नहुँदा देश विकासमा झन् झन् पछाडि पर्दै गएको बताए। 

भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यार्थीहरूले अध्ययन गर्ने सबै विषयहरू समान ढंगले महत्त्वपूर्ण भएको बताए। नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाले सबै विषयहरू अध्ययन अध्यापनको व्यवस्था नपाबाट सञ्चालित कलेजहरूमा गरिरहेको बताउँदै शैक्षिक ऋणलाई ऋणको रुपमा नभई नगरबासी विद्यार्थीहरूलाई नपाले प्रदान गरेको सुविधाको रुपमा लिई यसको उचित सदुपयोग गर्नुपर्ने धारणा राखे। वडा नं. ९ का वडाध्यक्ष रबीन्द्र ज्याख्वले शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०७५ सम्बन्धी व्यवस्था, शैक्षिक ऋण माग गर्न आवश्यक प्रक्रिया, ऋणको सीमा र सर्त, ऋणको साँवा ब्याज असुली आदिबारे प्रस्ट पारे।

प्रकाशित: २० पुस २०८० १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App