२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री

उदयपुरको विकट गाउँपालिका ताप्ली–४ स्थित महेन्द्र आधारभूत विद्यालय सोरुङ पोखरीका बालबालिकाले न्यानो कपडासहित झोला र शैक्षिक सामग्री पाएका छन्। विराज समाज काठमाडौंले उनीहरूलाई जाडोमा लगाउने न्यानो कपडा, टोपी, शैक्षिक सामग्री बोक्ने झोला र स्टेसनरी सामग्री प्रदान गरेको हो।

विद्यालयका सहायक प्रधानाध्यापक लालबहादुर तामाङका अनुसार ताप्लीमै जन्मेर सोही विद्यालयमा प्रारम्भिक शिक्षा लिएका ईश्वर पोखरेलको अगुवाईमा बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री उपलब्ध गराइएको हो।

 तामाङका अनुसार समाजले समाजले दुई सय ३० जना बालबालिकालाई न्यानो कपडा र टोपी तथा पुस्तक बोक्ने झोला उपलब्ध गराएको छ।

त्यसैगरी एक हजार तीन सय ८० थान कापी, ६ सय ९० थान कलम र २१ थान न्यानो बर्को र ज्याकेट पनि समाजले उपलब्ध गराएको छ।

समाजका तर्फबाट प्राप्त न्यानो कपडा र शैक्षिक सामग्री तथा स्कुल ब्यागहरू आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्मा र पोखरेलले संयुक्त रूपमा बालबालिकालाई हस्तान्तरण गरे।

त्यसैगरी समाजले नै उपलब्ध गराएको ज्याकेट र न्यानो बर्की जेष्ठ नागरिक तथा एकल महिला र पुरुषलाई अध्यक्ष विश्वकर्मा र पोखरेलले हस्तान्तरण गरे। कार्यक्रममा अध्यक्ष विश्वकर्माले जाडोयाममा अत्यावश्यक न्यानो कपडा बालबालिकालाई सहयोग गरेकोमा विराज समाजप्रति आभार व्यक्त गर्दै पहलकर्ता पोखरेललाई धन्यबाद दिए।

उच्च भूभागमा रहेको महेन्द्र आधारभूत विद्यालयमा पढ्ने बालबालिकाहरू न्यानो कपडा पाउँदा पठनपाठनमा सहयोग पुगेको बताए। त्यहाँ अध्ययनरत बालबालिकाहरू अधिकतर गरिब र विपन्न परिवारका भएकाले समाजले कपडासँगै स्कुल व्याग र शैक्षिक सामग्री सहयोग गर्नुले उनीहरूलाई धेरै राहत पुगेको अध्यक्ष विश्वकर्माको भनाइ थियो।

सामुदायिक विद्यालयहरूमा अझै भौतिक पूर्वाधार संरचना र दक्ष जनशक्तिको अभाव कायमै रहेको भन्दै अध्यक्ष विश्वकर्माले स्थानीय सरकारले त्यो अभाव टार्ने प्रयास गरिरहेको बताए।

अभिभावक तथा नेकपा (माओवादी केन्द्र) ताप्ली गाउँ कमिटी अध्यक्ष गुरूप्रसाद पोखरेलले आफूले प्रारम्भिक शिक्षा लिएको विद्यालयलाई सम्झेर सहयोग गरेकोमा विराज समाजका प्रतिनिधि पोखरेलको प्रशंसा गरे।

शिक्षाको सुधारविना समाजमा विकास र उन्नति सम्भव नभएको भन्दै शैक्षिक सुधारका लागि स्थानीयदेखि प्रदेश र संघीय तीनैतहका सरकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो।

समाजका प्रतिनिधि ईश्वर पोखरेलले आफू यही ठाउँमा जन्मेर धुलो खेल्दै कखरा पढेको विद्यालय भएकाले त्यहाँ पढ्ने बालबालिकालाई आफ्नो बाल्यकाल सम्झेर सानोतिनो सहयोग गरेको बताए।

उनले यहाँ अत्यन्त जाडो हुने ठाउँ भएकाले बालबालिकालाई पठन पाठन गर्न सहज होस् भनेर न्यानो कपडा, टोपी र शैक्षिक सामग्रीको जोहो गरिदिएको उनले बताए।

प्रकाशित: १७ पुस २०८० ०५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App