१९ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

त्रिवि सिध्याउन दलहरू फेरि भागबन्डामा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपतिको पद कात्तिक १६ गते रिक्त भयो। सरकारले मुलुककै ठुलो त्रिविलाई तत्काल पूर्णकालीन उपकुलपति दिनुको साटो बढीमा तीन महिनाका लागि भन्दै शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसाललाई निमित्तको जिम्मेवारी तोक्यो। उपकुलपति प्राध्यापक धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल कात्तिक १६ गते सकिएपछि अर्को दिन भुसाललाई निमित्तको जिम्मेवारी दिइएको हो।

तीन महिने उपकुलपतिले विश्वविद्यालय थप संकटमा पर्ने प्राध्यापकहरूको चिन्ता छ। प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहालले विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम दैनिक कार्य सञ्चालन गर्न बढीमा ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी भुसाललाई दिएका हुन्।

यसैगरी मंसिर ८ गते त्रिवि सेवा आयोगका सदस्य हेमराज ढकालको चारवर्षे कार्यकाल सकिएको छ। आगामी पुस ८ गते रजिस्ट्रार प्राध्यापक पेशल दाहाल र चैत ८ गते निमित्त उपकुलपतिको जिम्मेवारी पाएका शिक्षाध्यक्ष भुसालको पनि चारवर्षे कार्यकाल सकिँदैछ। सेवा आयोगमा सदस्य पद रिक्त हुँदा उपप्राध्यापक पदको परीक्षा, सहप्राध्यापक र प्राध्यापकमा बढुवाका लागि अन्तर्वार्ता हुन सकेको छैन।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एव त्रिविका सहकुलपति अशोककुमार राईको संयोजकत्वमा कात्तिक २० गते तीन सदस्यीय उपकुलपति छनोट समिति गठन गरेको भए पनि हालसम्म कुनै काम नभएकाले नियुक्ति प्रक्रिया अघि नबढेको त्रिवि प्राध्यापक संघका सभापति वसन्त ढकाल बताउँछन्। उनले सरकारले विश्वविद्यालयलाई समयमै नेतृत्व दिएर प्राज्ञिक उन्नयनमा सहजीकरण गर्नुपर्नेमा जोड दिए। ‘उपकुलपति छनोटका लागि समिति गठन भए पनि काम अघि बढेको छैन। विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको बन्धक बनाउने काम अब दलहरूले बन्द गर्नुपर्छ,’ ढकालले भने, ‘भागबन्डा मिलाउने निहुँमा विश्वविद्यालयलाई नेतृत्वविहीन बनाउनु राम्रो होइन। यसको असर समग्र प्रशासन र शैक्षिक उन्नयनमा पर्छ।’

उपकुलपति छनोट समितिका सदस्य डा. चन्द्रकला घिमिरेले समिति गठन भए पनि पत्र ढिला पाएकाले काम अघि बढाउन समय लागेको बताइन्। ‘उपकुलपति छनोट विधि, मापदण्ड बनाउन समितिले छलफल थालेको छ,’ त्रिवि बौद्ध अध्ययन केन्द्रीय विभागको प्रमुखसमेत रहेकी घिमिरेले भनिन्, ‘तीन महिनाका लािग शिक्षाध्यक्षलाई निमित्त उपकुलपति तोकिएको छ। यही अवधिभित्र समितिले कुलपतिसमक्ष उपकुलपतिमा नियुक्तिका लागि नाम सिफारिस गर्नेछ।’ 

निमित्तका भरमा विश्वविद्यालय चलाउने र रिक्त पदमा दलीय भागबन्डा मिलाएर नियुक्ति गर्ने परिपाटीले विश्वविद्यालयको शाखमा आँच आउने त्रिवि कर्मचारी संघका अध्यक्ष छत्रबहादुर कार्की बताउँछन्। तीन महिनाका लागि निमित्त उपकुलपति तोक्दा दलहरूलाई भागबन्डा मिलाउन चलखेलको अवसर मिलेको उनको बुझाइ छ। उनका अनुसार विश्वविद्यालयले समयमै नेतृत्व पाउनुपर्नेलगायत ४५ बुँदे माग राखेर संघले दबाब सिर्जना गरेको छ। उपकुलपति, सेवा आयोगका अध्यक्ष र सदस्य, शिक्षाध्यक्ष, रजिस्ट्रार विश्वविद्यालयका मुख्य पद हुन्। ‘यी पद खाली राख्दा विश्वविद्यालयले गति लिन सक्दैन,’ कार्कीले भने, ‘विश्वविद्यालयलाई तत्काल नेतृत्व दिनुपर्नेमा दलका शीर्ष नेताहरू पद बाँटफाँटमा तल्लीन छन्। भागबन्डा नमिलेकै कारण निमित्त उपकुलपति तोकिएको हो।’ उनले थपे, ‘भागबन्डा नै मिलाउने हो भने पनि समयअगावै मिलाएर विश्वविद्यालय हाँक्न सक्षम व्यक्ति ल्याउनुप¥यो भन्ने संघको माग हो।’

त्रिविका प्राध्यापक जगदिशचन्द्र भण्डारीका अनुसार देशकै ठुलो त्रिविमा निमित्त उपकुलपति तोकेर प्रधानमन्त्री एवं कुलपति दाहालले आफ्नो अक्षमता प्रस्तुत गरेका छन्। साढे पाँच लाख विद्यार्थी अध्ययन गर्ने र १६ हजार शिक्षक–कर्मचारी कार्यरत त्रिविमा तीन महिने निमित्त उपकुलपति तोक्दा आर्थिक, प्रशासनिक र शैक्षिक कार्यक्रम सबै संकटमा पर्ने उनको बुझाइ छ। ‘निमित्त उपकुलपतिलाई नीतिगत निर्णय गर्ने, शिक्षक, कर्मचारी नियुक्ति, सरुवा, बढुवालगायतका काम गर्ने अधिकार हुँदैन। निमित्त उपकुलपति हात बाँधिएको मानिसजस्तै हो,’ उनले भने, ‘उपकुलपति विश्वविद्यालयको चालक हो। चालक नभए, नराम्रो भए दुर्घटना हुन्छ।’ उनले विश्वविद्यालयको हित सोचेर तत्काल पूर्णकालीन उपकुलपति नियुक्त गर्नुपर्ने बताए।

प्रकाशित: २७ मंसिर २०८० ००:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App