२६ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

शिक्षामा सुधार ल्याउन गोष्ठी

जिल्लाको समग्र शिक्षा क्षेत्रको अवस्थामा सुधार ल्याउन कालिकोट जिल्लामा बृहत् शैक्षिक गोष्ठी गरिएको छ। जिल्ला शिक्षा समितिको आयोजना र विभिन्न जिल्लाका गैरसरकारी संस्थाको सहयोग र समन्वयमा जिल्लाका ९ वटै पालिका र शिक्षा सरोकारवालाको सहभागितामा मान्ममा बृहत् शैक्षिक गोष्ठी आयोजना गरिएको हो।

शिक्षकको व्यावसायिक विकास, समावेशी शिक्षा, कलामार्फत रचनात्मक शिक्षा र मूल्यांकनका विषयमा छलफल भएको छ। विद्यालय शिक्षा क्षेत्रको प्राथमिकतासँग जोडिएर भएको छलफलमा नेपालको शिक्षानीति र २१औं शताब्दीको विद्यालय शिक्षाका आवश्यकता प्रणालीबारे बहस भएको छ।

कार्यक्रममा नेपालमा शिक्षक, शिक्षा र विकासको अवस्थाबारे ९ वटै पालिकाका शिक्षा संयोजकले आ–आफ्नो पालिकाको शिक्षाको अवस्थाबारे जानकारी गराएका थिए। कार्यक्रममा राजनीतिक दलका प्रमुख, ९ वटै पालिका प्रमुख, विद्यालयका प्रअलगायत शैक्षिक सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा अधिकांश सभागीले संयुक्त राजनीतिक दलहरूले विद्यालय शान्तिक्षेत्र घोषणासँगै शैक्षिक सुधारका लागि गरिएका प्रतिबद्धताको सही ढंगले कार्यान्वयन हुन नसकेको बताएका थिए।

विशेष गरी सामुदायिक विद्यालयको अवस्थामा सुधार ल्याउन सबैले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गराउनुपर्ने अनि मात्र शिक्षामा सरकारदेखि अधिभावकसम्म सबैको चासो हुनसक्ने भनाइ छ।

कतिपय पालिकाले त शिक्षामा आएको बजेटसमेत कटौती गरेर सडक र अन्य क्षेत्रमा लगानी गरेको आरोप लगाएका थिए।शिक्षामा सही नीति र बजेटसहितको व्यवस्था गर्न सके सामुदायिक विद्यालयको अवस्था सबैभन्दा बलियो र आकर्षक हुने सहभागीले बताए।

प्रकाशित: २१ आश्विन २०८० ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App