१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

इन्जिनियरिङ शुल्क विवाद: विभागीय प्रमुखले दिए राजीनामा

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक, थापाथली र पूर्वाञ्चल क्याम्पसमा भएको शुल्क वृद्धि विवाद बढ्दै जाँदा ६ विभागीय प्रमुख, विभागीय उपप्रमुख, सहायक क्याम्पस प्रमुख, स्नतकोत्तर तह कार्यक्रम संयोजकसहितका पदाधिकारीले राजीनामा गरेका छन् । दुई महिनाअघि वृद्धि गरेको शुल्क घटाउन विद्यार्थीले निरन्तर दबाब दिएपछि विभागीय प्रमुखहरूले राजीनामा गरेका हुन् । समस्या समाधानका लागि पहल लिनुको साटो उनीहरूले क्याम्पस सञ्चालनको जिम्मेवारी नै विद्यार्थीलाई दिने जनाउँदै सामूहिक राजीनामा गरेका हुन् ।  

लामो समयदेखि शुल्क विवाद सल्टाउन नसकेको र विद्यार्थी नेताहरूले दिँदै आएको मानसिक यातना तथा भौतिक कारबाहीको धम्की सहन नसकेपछि पदाधिकारीले लिखित हस्ताक्षरसहित सामूहिक राजीनामा दिएको उपप्राध्यापक सुदीप भट्टराईले बताए । मेकानिकल तथा एरोस्पेस इन्जिनियरिङ विभागका प्रमुख रहेका भट्टराईले स्ववियु सभापतिहरूद्वारा असोज १२ गते संवेदनहीन शब्द र कुनियतले विभागीय प्रमुखहरूलाई मानमर्दन हुनेगरी पत्रचार गरेपछि बाध्य भएर राजीनामा दिएको बताए । यसले असोज २२ गते सञ्चालन हुने स्नातक तहको प्रवेश परीक्षा स्थगित भएको छ । यसबाट प्रत्यक्ष रूपमा नौ हजार तीन सय विद्यार्थी परीक्षा कहिले हुने भन्ने अन्योलमा परेका छन् ।

‘अहिलेको भन्दा गुणस्तर वृद्धिकासाथ क्याम्पस चलाएर देखाउने जिम्मा भर्खरै निर्वाचित स्ववियुले लिने भन्ने स्ववियुको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागीय प्रमुख भट्टराईले भने, ‘पुरानै शुल्कमा हामीले भन्दा राम्रो विश्वविद्यालय चलाउने भनेपछि हामीले विद्यार्थीलाई विभाग चलाउनैकै लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएर हिँड्यौं ।’ अहिलेको शुल्क समायोजनको परिप्रेक्षमा संस्थानबाहिरका विद्यार्थी नेताहरूका साथै निजी शिक्षामा लगानी गरेका ठूलाठूला व्यापारिक संस्थाको समेत विभिन्न स्वार्थ मिसिँदै जाँदामहत्त्वपूर्ण मुद्दा अर्को सेमेस्टरको कक्षा चाउनुका लागि चाहिने आर्थिक स्रोतको सुनिश्चिता ओझेलमा परेको उनले आरोप लगाए ।

संस्थानको कार्यान्वयन समितिको २०८० साउन २५ गतेको निर्णयले अध्ययन संस्थानअन्र्तगतका आगिक क्यम्पसको शुल्क दुई लाख ८० हजारबाट बढाएर सात लाख ७५ हजार पु¥याइकोमा संस्थानका आंगिक कलेजका विद्यार्थी आन्दोलनमा छन् । संस्थानले आंगिक कलेजहरू सरकारी स्वामित्वमा भए पनि सरकारले प्राविधिक शिक्षामा लगभग शून्य लगानी गरेको र अब कलेज धान्न मुस्किल परेको भन्दै २७ वर्षपछि शुल्क बढाएको जनाएको छ । 

प्रकाशित: १८ आश्विन २०८० ०२:१९ बिहीबार

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान ६ विभागीय प्रमुख पदाधिकारीले राजीनामा गरे