१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

विद्यार्थी नै बेच्छन् तरकारी

केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन्। उनीहरू आफैंले उत्पादन गरेका तरकारी आफैं बिक्री वितरण गर्दै आएका हुन्। तुलसीपुर उपमहानगरपालिका-४ स्थित गुरुजजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरूले चार विघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका र उत्पादन भएको तरकारी बजारमा लगेर बेच्ने गरेका छन्।

कृषि शिक्षा बढी प्रयोगात्मकमा केन्द्रित हुने भएकाले पनि सबै विद्यार्थी मिलेर यसरी कृषि खेती गरिएको र उत्पादित तरकारी आफैंले बिक्री गर्ने गरेको एक विद्यार्थी रेशम विश्वकर्माले बताए।

‘हाम्रो विषय पनि कृषि भएकाले कृषिलाई कसरी आधुनिककरण गर्न सकिन्छ भन्ने पनि थाहा हुन्छ’, उनले भने, ‘खोजअनुसन्धान गर्न सहज पनि भएको छ।’

विद्यालयले बीउ लगायत अन्य प्राविधिक सहयोगका साथै आवश्यकता अनुसार ऋण पनि दिने गरेकामा विद्यार्थीहरूले त्यो ऋण त्यही उत्पादित वस्तु बिक्री गरेर तिर्नाका साथै बाँकी रहेको रकम कोषमा जम्मा गर्ने गरेका छन्।

प्रयोगात्मकका लागि लाग्ने खर्च त्यही कोषबाट ब्यहोर्दै आइएको विद्यार्थी  शोभा बुढाथोकीले बताए। तुलसीपुर-३ स्थित गोटीखोलामा आठ कट्ठा, रानागाउँमा दुई बिघा १७ कट्ठा, गाडीबरा सामुदायिक वनको एक बिघा जति जग्गा भाडामा लिएर यसरी खेती तथा अन्य प्रयोगात्मक कार्य हुँदै आएको छ।

विद्यार्थीहरूले यसअघि ५२ किलो बोडी तथा सिमी बिक्री गरेका थिए। त्यस्तै हाल हलेदो, सयपत्री, आँप, कटहर, अमिला जातका फलफूल, सितलचिनी, खयर, अमला, हर्रोबर्रो, भटमास लगायत खेती गरेका छन्। विद्यालयमा उद्यमी क्लब गठन गरेर यसरी उनीहरू व्यवसायमा जोडिएको विद्यालयका कृषि सङ्काय प्रमुख समीक्षा गुप्ताले बताए। सैद्धान्तिक कक्षाबाहेक प्रयोगात्मक कक्षाको समयमा उनीहरूले समूह बनाएर यसरी खेती गर्दै आएका छन्।

मेहनतअनुसारको फल प्राप्त भएपछि विद्यार्थीहरूलाई थप हौसला मिलेको छ। विद्यार्थीहरूलाई आम्दानी पनि हुने र अनुसन्धान पनि हुने भएकाले पनि व्यावसायिक खेतीलाई प्रोत्साहन गरिएको हो। योसँगै विद्यार्थीहरूले कस्तो ठाउँ र कस्तो मौसममा के खेती हुन्छ भन्ने कुरा पनि थाहा पाउने गरेका छन्। 

प्रकाशित: २० भाद्र २०८० ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App