२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

विद्यालयमा बाढी पस्याे, पठनपाठन बन्द

जुम्लाको तिला गाउँपालिका-६ रुखेडास्थित देवीमहादेव माविको भवनभित्र बाढी पस्दा विद्यालय भवनमा क्षति पुग्नुका साथै पठनपाठनका सामग्रीहरु पुरिएका छन् ।

तिला (९ को कुच्चा खोलामा आएको बाढी विद्यालयभित्रै पसेको छ। विद्यालयमा बाढी पसेपछि पठनपाठन प्रभावित भएको छ। कक्षा ६ देखि ११ सम्म सञ्चालनमा रहेको विद्यालयमा बाढीले क्षति गरेपछि दुई दिनदेखि विद्यालय बन्द गरिएको छ।

यो विद्यालय चालु नयाँ शैक्षिक सत्र वैशाखदेखि सञ्चालनमा ल्याइएको हो। खोलाको किनारमा विद्यालय स्थापना गरिएकाले पनि स्थानीयले पहिले नै बाढीपहिरोको जोखिम आँकलन गरेका थिए। बुधबार आएको बाढीले विद्यालयमा क्षति गरेपछि भवन निर्माण नभएसम्म पठनपाठन प्रभावित हुने भएको छ।प्रधानाध्यापक झुपे रावतका अनुसार बुधबार आएको बाढीले विद्यालयको चारकोठे भवनमा क्षति पुगेको छ। उनले भने, 'त्यो भवनमा विज्ञानको ल्याब, कम्प्युटर कक्षा र स्कुलको कार्यालय रहेको थियो । भवनभित्रै बाढी पसेपछि बगाउनुका साथै सामग्री भिजेका छन् । भवन पनि भत्किएको छ ।'

ढिपु, सुडी र रिपीमा विद्यार्थीलाई पायक पर्ने गरी रुखेडामा ६ देखि १२ कक्षाको विद्यालय सञ्चालन गरिएको थियो । जहाँ तीन गाउँका कक्षा १० सम्मका २ सय २० जना र कक्षा ११ का ५० जना विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक झुपे रावतका अनुसार बाढीले विद्यालयका भौतिक संरचना क्षति गर्नुका साथै रिपी र सुडिदेखि विद्यालयसम्म आवतजावत गर्ने दुईवटा काठेपुल पनि बगाएको छ। तत्काल विद्यालयमा जान सकिने अवस्था छैन।

बाढीले केकति क्षति गर्‍यो भन्ने यकिन नभएको बताइएको छ। अहिले बाढीका कारण विद्यालयमा पुगेर अवलोकन गर्न सक्ने अवस्था नरहेको पनि प्रधानाध्यापक रावतले बताए। क्षतिको यकिन गर्न गाउँपालिकास्थित रारालिही प्रहरी चौकीलाई खबर गरिएको पनि उनले बताए। तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले तत्काल त्यही स्कुलमा विद्यार्थीहरु राखेर पठनपाठन गर्नसक्ने अवस्था नरहेको बताए। विद्यालयभर बाढीले ढुंगा गिट्टी, बालुवा र झारपात थुपारेको छ। बाढीले ठूला काठका मुढा बगाएर ल्याएको छ ।२र४ दिनमा खोलामा पानी घटेपछि विद्यालयमा जान सक्ने सम्भावना हुन सक्छ। वर्षा भइहाल्यो भने जानसक्ने अवस्था हुँदैन, अध्यक्ष रोकायाले बताए। खोलामा पानी नघटेको खण्डमा त्यसका लागि केही वैकल्पिक उपाय गरेर भए पनि पठनपाठन सुचारु गर्ने विद्यालयको योजना छ। बाढीले तिला ९ स्थित राँसा र मालापानीका दर्जनभन्दा बढी घट्टहरु बगाउनुका साथै आधा दर्जन बढी काठेपुलहरु बगाएको स्थानीय खाम्मा बुढाले बताए। उनका अनुसार छिमेकी गाउँ आउजाउ गर्नसमेत समस्या भइरहेको छ 

प्रकाशित: ९ भाद्र २०८० ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App