८ मंसिर २०८१ शनिबार
image/svg+xml
शिक्षा

संस्कृत विश्वविद्यालयका सहप्राध्यापक छनौट: परिक्षाको निश्पक्षता माथि प्रश्न

तस्बिर: दाङ स्थित नेपाल संस्कृत विश्वविद्यालय ।

नेपाल संस्कृत विश्व विद्यालय अन्तर्गतको सेवा आयोगले कर्मचारी तथा प्राध्यापक नियुक्तीका लागि लिन थालेको परिक्षाको निश्पक्षता माथि प्रश्न उठेको छ। सेवा आयोगकै नियतवस् आयोगका पदाधिकारी तथा सदस्यले ‘आफ्नालाई’ पास गराउने नियोजित षडयन्त्र पूर्वक प्रश्न पत्र तयार गर्न थालेको आरोप लागेको छ । परिक्षामा गडबड गर्न थालिएपछि नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा ताला झुण्डिएको छ । नेपाल विद्यार्थी संघले परिक्षाको निष्पक्षता माथि प्रश्न उठाउँदै तालाबन्दी गरेको हो।

नेसंविले कर्मचारी तथा प्राध्यापकहरु नियुक्तीका लागि आवेदन माग गरेको थियो । कर्मचारी नियुक्तीका लागि १० असारमा र उपप्राध्यापक नियुक्तीका लागि २१ असारमा परिक्षा तोकिएको थियो । सोही अनुसार उसले आवेदन माग गरेको थियो । तर आयोगले लिन थालेको परिक्षाको बिश्वसनीयता माथि प्रश्न उठ्यो । अनि नेविसंघले असार ९ मा ताला लगायो । असार ९ मा तालाबन्दी भएपछि १० गते हुने भनिएको कर्मचारी नियुक्तीको परिक्षा रोकियो । अनि असार २१ का लागि तोकिएको प्राध्यापकहरुको परिक्षा समेत रोकियो ।  सेवा आयोगले ३ जना प्राध्यापक, २ जना उपप्राध्यापक र ४९ तथा उपप्राध्यापक तथा २९ जना कर्मचारी नियुक्तीका लागि आवेदन खोलेको थियो।

सेवा आयोगले लिने भनिएको परिक्षाको निष्पक्षता माथि प्रश्न उठ्यो । प्रश्नपत्र निर्माणकर्ता बिषय बिशेषज्ञहरुको नाम नै परिक्षा अगावै सार्वजनिक भएको थियो । जबकी परिक्षा अगावै कुनै पनि प्रश्न पत्र निर्माणकर्ताको नाम सार्वजनिक हुनुहुँदैन । ‘परिक्षा हुनुपूर्व नै प्रश्न पत्र बनाउने बिषय बिशेषज्ञहरुको नाम सार्वजनिक भयो,’ आन्दोलनरत नेविसंघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले भने ‘प्रश्न पत्र बनाउने एक्सपर्टकै नाम सार्वजनिक भएपछि कसरी परिक्षा निष्पक्ष हुन्छ ?’ स्रोतका अनुसार प्रश्न पत्र निर्माणकर्ताहरुले आफू निकटस्थ परिक्षार्थीहरुलाई आफूहरुले प्रश्नपत्र निर्माण गर्न थालेको जानकारी दिएका थिए । ‘आफ्ना निकटस्थहरुलाई सहज तरिकाले पास गराउने नियतले प्रश्न निर्माणकर्ताहरुले नै आफूहरुले प्रश्न पत्र निर्माण गर्न थालेको भनेर पहिल्यै जानकारी गराएपछि यो कुरा बाहिर आएको हो,’ अध्यक्ष पोख्रेलले भने ‘आफ्नाहरुलाई मात्रै पास गराउने नियतले प्रश्नहरुकै बारेमा जानकारी दिएपछि कसरी परिक्षा मर्यादित र निष्पक्ष हुन्छ ?’

नेसंविको सेवा आयोगमा अध्यक्ष सहित एक सदस्य र लोकसेवा आयोगका प्रतिनिधि पदेन सदस्यका रुपमा रहने व्यवस्था छ । परिक्षाको प्रश्न पत्रको ड्राफ्ट निर्माणका लागि आयोगले बिषय विशेषज्ञहरुलाई तोक्छ । कुनै एक बिषयको प्रश्न पत्र निर्माणमा लागि तीन÷चार जना बिशेषज्ञहरु तोकिएका हुन्छन् । ति बिशेषज्ञहरुबाट प्रश्नपत्रको ड्राफ्ट लोकसेवा आयोगमा पुग्छ । लोकसेवा आयोगले ति ड्राफ्ट प्रश्नहरुबाट छनौटगरेर लोकसेवाले प्रश्नपत्रलाई अन्तिमरुप दिन्छ । तर प्रश्न पत्र ड्राफ्ट गर्नेहरुबाटै प्रश्नहरु चुहिएको भन्दै गरिएको आन्दोलनका कारण परिक्षा नै रोकिन पुग्यो । ‘प्रश्न पत्रहरुको ड्राफ्टका लागि तोकिएका सबै विशेषज्ञहरुले यो यो प्रश्नहरु समावेश गरिएका छन् भनेर सम्भावित सबै प्रश्नहरु आफ्नालाई सुनाईदिएपछि परिक्षा मर्यादित कसरी हुन्छ?’ नेविसंघका जिल्ला अध्यक्ष पोख्रेलले भने ‘अहिले भएको त्यहि हो, अन्यथा हामीले प्रश्न बनाउँदैछौँ भनेर प्रश्न बनाउनेहरुले आफ्ना निकटस्थहरुलाई पहिले नै भन्दै हिँड्नुको कारण के हो त ?’

त्यसोत,नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगले पनि प्रश्न पत्र निर्माणका क्रममा त्रुटि भएको स्वीकार गर्छ । आयोगका सदस्य मुरली मनोहर बास्कोटाले काँचो प्रश्न निर्माण गर्नेहरुको नाम पहिले नै सार्वजनिक भयो भन्ने कुरा आएको स्वीकारे । तर यसमा आफूहरुको कुनै संलग्नता नरहेको उनको भनाई छ । ‘हामीहरुले काँचो प्रश्न निर्माणका लागि रोष्टरमा रहेका बिषय विशेज्ञहरुलाई जिम्मा दिने हो,हामीले उसैगरि दियौँ,’ आयोगका सिदस्य बाँस्कोटाले भने ‘तर पछि उहाँ( प्रश्न निर्माणकर्ता) हरुले नै आफूहरुले प्रश्न निर्माण गर्न थालेको भनेर बाहिर सार्वजनिक गरेको भन्ने कुरा सुन्नमा आयो ।’ आफुहरुले प्रश्नको ड्राफ्टका लागि अनुमती दिएको तर बाहिर सार्वजनिक कसरी भयो भन्ने कुराको जानकारी नरहेको उनले बताए । ‘प्रश्न निर्माणकर्ताहरुको नाम बाहिर सार्वजसनिक भएको भन्ने कुरा बाहिर आएको सुनियो, तर यसको एकिन प्रमाण त छैन,’ बास्कोटाले भने ‘तर नाम बाहिर आएकै हो भने उहाँहरुको नाम सम्बन्धीत व्यक्ति आफैले सार्वजनिक गर्नु भयो वा कसरी भयो ? यदि प्रश्न निर्माणकर्ताहरुले नै आफूहरुको नाम सार्वजनिक गर्नुभएको हो भने उहाँहरुलाई कालो सुचीमा राखिन्छ ।’

परिक्षा अगावै प्रश्न पत्र चुहावट गर्ने नियतका साथ परिक्षा गर्न थालिएको भन्दै सेवा आयोगको कार्यालयमा ताला लागेपछि सेवा आयोगले वार्ता समिति पनि निर्माण गरेको छ । सुरज लामाको नेतृत्वमा बनेको वार्ता समितिले आन्दोलनरत पक्षसंग वार्ताको पहल गरिरहेको छ । प्रश्नपत्र निर्माताहरुको नाम सार्वजनिक भएको आशंका यो समितिले पनि गरेको छ । फलतः उसले प्रश्न पत्र सार्वजनिक भएको आशंका रहेका बिषयहरुको प्रश्नपत्रको निर्माण पुनः गर्न सकिने समिति बताउँछ । ‘प्रश्न पत्र निर्माताहरुको नाम बाहिर आएको भन्दै परिक्षाको निष्पक्षतामा माथि आन्दोलनरत पक्षले प्रश्न उठाएको छ,’ वार्ता समितिका संयोजक लामा भन्छन् ‘जुन जुन बिषयको प्रश्नपत्र माथि आशंका भएको हो, सति बिषयहरुको प्रश्नपत्र पुनः निर्माण गरेर परिक्षा सञ्चालन गर्न सकिन्छ ।’ त्यसका लागि प्रश्न पत्र निर्माणको पुरै जिम्मेवारी लोकसेवा आयोगलाई नै दिन सकिने समेत लामा बताउँछन् ।

‘शंका रहेका बिषयहरुको प्रश्न पत्र निर्माणको सबै जिम्मा दिईदिन बरु लोकसेवा आयोगलाई अनुरोध गर्न सकिन्छ,’ लामा भन्छन् ‘हामीहरुले आन्दोलनरत पक्षसंग निकासको यो बिकल्पमा रहेर पनि छलफल गरेका छौँ ।’ सेवा आयोग पनि प्रश्न पत्र निर्माणका क्रममा त्रुटि भएको भए पुनः प्रश्न पत्र निर्माण गर्न सकिने वताउँछ । आयोगका सदस्य बास्कोटाले भने ‘यदि प्रश्न पत्र निर्माणमा शंका रहेको भए पुनः प्रश्न पत्र निर्माण गरेर परिक्षा सञ्चालन गर्न सकिन्छ ।’  आयोगकै सदस्यले पुनः प्रश्नपत्र निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुले पनि प्रश्न पत्र निर्माणमा त्रुटि भएको आशंकालाई स्वाभाविकै रुपमा बल पुर्याउँछ ।  

आयोगका सदस्यले प्रश्न निर्माताहरुसंग कुनै निकटस्थता नरहेको बताएपनि नेविसंघले भने यसमा सबैको मिलेमतो रहेको दाबी गर्छ । ‘आफ्ना आफन्त तथा निकटस्थहरुलाई जसरी पनि पास गराउने नियत सबैको जोडिएका कारण यो कुरा बाहिर आएको हो,’ नेविसंघका अध्यक्ष पोख्रेलले भने ‘जसले आफ्नालाई प्रश्न पत्र सार्वजनिक गरिदिन्छ, उसैलाई नै प्रश्न पत्र निर्माण गर्न दिईएको छ,अनि त उनिहरुको नाम परिक्षा अगावै बाहिर आयो नि ।’

यसैविच नेविसंघले परिक्षाको निश्पक्षता माथि प्रश्न उठाउँदै लोकसेवा आयोगलाई परिक्षा रोक्न अनुरोध समेत गरेको छ । परिक्षा रोक्न माग गर्दै आयोगलाई नेविसंघले लिखित पत्र बुझाएको नेविसंघले परिक्षा सञ्चालनमा देखिएका कमजोरीहरुलाई उल्लेख गरेको छ।अनि लोकसेवा आयोगले परिक्षा लिन नसक्ने भन्दै सेवा आयोगलाई जानकारी गराएपछि परिक्षा रोकिएको थियो। 

प्रकाशित: १२ श्रावण २०८० १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App