१९ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

वैदेशिक रोजगार बोर्डको छात्रवृत्तिमा लक्षित वर्ग नै बेखबर

वैदेशिक रोजगारमा ज्यान गुमाएका तथा अंगभंग भएकाहरुको सन्तानलाई वैदेशिक रोजगार बोर्डले शिक्षाकालागि छात्रवृत्ति दिइरहेको छ।

बोर्डले ०७१ सालदेखि वैदेशिक रोजगारमा ज्यान गुमाएका र अंगभंग भएका अभिभावकका सन्तानलाई विद्यालय शिक्षा पुरा गराउने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराउने लक्ष्य राखेको भए पनि सूचना र प्रचार प्रसारको अभावमा लक्षित वर्गले लाभ उठाउन सकेका छैनन्।

श्रम मन्त्रालयको वैदेशिक रोजगार नियमावली २०६४ मा वैदेशिक रोजगार छात्रवृत्ति सहयोग कार्यक्रम रहे पनि यसको कार्यान्वयन भने वैदेशिक रोजगार छात्रवृत्ति संचालन कार्यविधि ०७१ कार्यान्वयनमा आएपछि मात्र भएको बोर्डले जनाएको छ।

बोर्डका कर्मचारी आशिष कुमार भण्डारीका अनुसार चालु शैक्षिक सत्रमा ३ करोडको छात्रवृत्ति उपलब्ध गराउने बोर्डको लक्ष्य रहे पनि त्यस अनुसारको आवेदन प्राप्त हुन सकेको छैन।

यो वर्ष ५४ जिल्लाको २ हजार ४ सय २५ ले मात्र छात्रवृत्ति कोलागि आवेदन दिएका छन्। जसमध्ये ३३ जिल्लामा बोर्डले एक करोड ४५ लाख रकम पठाइसकेको उनले जनाए। 

२१ जिल्लामा रकम पठाउने काम सुरु भएको छ। बोर्डका अनुसार नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीलाई वर्षेनी ८ हजार र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई वर्षेनी १२ हजार रकम उपलब्ध गराइन्छ।

०७१ देखि जेठ समन्तभित्र हालसम्म ११ हजार ७ सय २२ विद्यार्थीले मात्र छात्रवृत्तिबाट लाभ उठाउन सकेको भण्डारीले जनाए।

‘वैदेशिक रोजगारमा ज्यान गुमाएका र अंगभंग भएका सन्तानलाई विद्यालय शिक्षा पुरा गराउने बोर्डको लक्ष्य हो। यो छात्रवृत्ति सरकारी र निजी जुनसुकै विद्यालयमा अध्ययनरत विद्यार्थीले पाउँछ ,’ भण्डारीले नागरिकसँग भने ‘सूचना र प्रचारप्रसारको अभावकै कारण लक्षित वर्गले लाभ उठाउन नसकेको महसुस भएको छ।’ उनले थपे ‘चालु आर्थिक वर्षमा ३ करोड रकम छात्रवृत्तिकोलागि छुटाएको छ। जसमध्ये डेढ करोड रकम बाँकी नै छ। हामीलाई ३ हजार ५ सय सम्म आवेदन आउने आशा थियो।’

शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौंका प्रमुख नन्दलाल पौडेलले काठमाडौं जिल्लाका ११ वटा नगरपालिकाका विद्यालयहरुबाट कुल ८३ वटा आवेदन मात्र प्राप्त भएको जनाए।

‘विद्यालयहरुले विद्यार्थीसँग फारम भराएर बोर्डमा बुझाएपछि बोडले छनौट गरी इकाईमा तथ्याङ्क उपलब्ध गराए अनुसार रकम वितरण हुन्छ,’ प्रमुख पौडेलले भने ‘वैदेशिक रोजगारमा अभिभावक गुमाएका र अंगभंग भएकाका बालबालिका कम्तीमा विद्यालय शिक्षा पुरा गराउने छात्रवृत्तिको उद्देश्य हो।’ उनले थपे ‘विद्यालयहरुले पनि पर्याप्त सूचना प्रभाव गर्नु पर्ने देखिन्छ।’

काठमाडौंकै स्कुलहरुलाई समेत यस्ता छात्रवृत्ति बारे कुनै जानकारी नै नभएको विद्यालयका प्रअहरुलेनै बताएका छन्।

सरकारले एकातिर उपलब्ध गराएको छात्रवृत्तिमा सूचना प्रभावको कमीका कारण लक्षित वर्गले यस्ता छात्रवृत्तिको लाभ उठाउन सकेका छैनन् भने अर्को तर्फ यही छात्रवृत्ति पनि पर्याप्त छैन।

वैदेशिक रोजगार बोर्डका अनुसार विगत १५ वर्षमा (०६५/०६६देखि जेठ ४ गते सम्म) विदेशमा ज्यान गुमाएकाहरुको कुल सङ्ख्या ११ हजार ९ सय ७८ रहेको छ। मलेसियामा मात्र ३ हजार ७ सय ९९ को शव नेपाल आएको रहेछ भने साउदी अरबबाट यही अवधिमा ३ हजार २ सय ५६ शव नेपाल आएको तथ्याङ्क छ। यसैगरी कतारबाट २ हजार ३ सय २१ को शव नेपाल आएको तथ्याङ्क छ। ०७६/०७७ मा ६ सय ६२ को शव आएको थियो भने ०७७/०७८ मा एक हजार २ सय ४३ ले ज्यान गुमाएका थिए। यस अर्थमा वर्षेनी करिब ९ सयको हाराहारीमा वैदेशिक रोजगारमा ज्यान गुमाउनेहरु छन्।

यस अर्थमा छात्रवृत्ति को रकम एकातिर अपुग छ भने अर्को तिर उपलब्ध भएकै छात्रवृत्ति पनि सूचना र प्रचारप्रसारको कमीले लक्षित वर्ग लाभ लिनबाट वञ्चित हुनु परेको सरोकारवालाहरुको ठहर छ।

प्रकाशित: १४ असार २०८० ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App