२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

सक्किमका विद्यार्थीको स्वागत

सिक्किमस्थित राष्ट्रिय भाषा एवं संस्कृति विद्यालय गान्तोकका विद्यार्थीको काठमाडौंमा स्वागत गरिएको छ। विद्यालयका प्रमुख विकास प्रधानको नेतृत्वमा नेपाल आएका २० जना नेवार समुदायका विद्यार्थीको टोलीलाई काठमाडौंको तजिलजि गुथि नेपाःले नेवार परम्पराअनुसार सगुन दिएर स्वागत गरेको हो।  

आफ्नो भाषा, कला, संस्कृति, संस्कार र सम्पदाबारेमा अध्ययन गरिरहेका विद्यार्थीहरूको पढाइलाई पूर्णता प्रदान गर्नका लागि व्यावहारिक ज्ञान आवश्यक भएकाले उनीहरूलाई नेपालमा शैक्षिक भ्रमण गराइएको विद्यालय प्रमुख प्रधानले बताए। असार १२ गते पाँचदिने नेपाल भ्रमणमा आएको टोलीको स्वागत गर्ने क्रममा जीवित कुमारी संस्कृति संरक्षण, संवद्र्धनका साथै प्रचारप्रसार गर्दै आइरहेको ह्युमत महिला समूहसँग परिचयात्मक कार्यक्रम गरेको थियो। कार्यक्रममा समूहका अध्यक्ष मचानानी महर्जनले कुमारी संस्कृति संरक्षणमा गर्देै आएको कार्यको जानकारी गराइन्।

नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा अध्ययनका लागि शैक्षिक भ्रमणमा आएका विद्यार्थीलाई तजिलजि गुथि नेपाःका अध्यक्ष राजु नापितले नेवारी भोजका परिकार र महत्वबारे जानकारी दिँदै भोज खुवाएका थिए। भोजको जानकारीपछि विद्यालय प्रमुख विकास प्रधानले तजिलजि गुथि नेपाः र ह्युमत महिला समुहलाई धन्यवाद दिँदै नेवारी भोजको जानकारी पाउनु विद्यार्थीका लागि उपलब्धिमूलक रहेको र १० अंकको परीक्षाका लागि महत्वपूर्ण हुने धारणा राखेका थिए।

स्वागत कार्यक्रमअघि सिक्किमबाट आएका विद्यार्थीले वसन्तपुरमा रहेकी जीवित राजकीय कुमारीको दर्शन गरेका थिए। उनीहरूले काठमाडौं, भक्तपुर, ललितपुरका धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाहरूको अध्ययनका साथै नेपाल लिपि गुथि र आशा सफु कुथिको भ्रमण गर्ने कार्यक्रम छ। साथै उनीहरूले पाटन क्याम्पस र ज्यापू संग्रहालयहरूको पनि भ्रमण गर्नेछन्। शैक्षिक भ्रमणमा आएका उनीहरूको नेपाल बसाइको सम्पूर्ण व्यवस्था ललितपुरको ज्यापू समाजले गरेको थियो।

प्रकाशित: १४ असार २०८० ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App