१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

सरकारको निर्णयविरुद्ध चलाउने सर्वोच्चमा

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि सांघातिक आक्रमण गर्ने सात जनाविरुद्ध असार ५ गते जिल्ला अदालतमा अन्तिम सुनुवाइ थियो।

तर सरकारले त्यसअगावै जेठ ३० नै मन्त्रिपरिषद्को निर्णयबाट मुद्दा फिर्ता लिएर जिल्ला अदालत काठमाडौंमाथि गलत निर्णय गर्न दबाब दिएपछि उपप्राध्यपाक चलाउनेले बुधबार यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। आफूमाथि भएको सांघातिक आक्रमण गर्ने गुण्डाहरूलाई सत्ताको आडमा सत्ताको दुरूपयोग गरी सरकारलेनै प्राज्ञिक स्वतन्त्रताको हत्या गर्न खोजेको भन्दै उपप्राध्यापक चलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेको बताए। ‘मैले आज अदालतमाथिको सरकारको गलत हस्तक्षेप कदमविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेँ,’ त्रिवि उपकुलपति कर्यालयअगाडि सोमबारदेखि आमरण अनशनमा बसेका उपप्राध्यापक चलाउनेले भने, ‘प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुनुहुन्छ।

आफ्ना विश्वविद्यालयको प्राध्यापकमाथि सांघातिक हमला गर्ने गुण्डाहरूलाई पुरस्कार स्वरूप छुटकारा दिलाउनु कहाँको न्याय हो ? मेरो अदालतमा विचाराधीन मुद्दामाथि राज्यको स्वेच्छाकारी निर्णयले न्यालयमाथिको नांगो हस्तक्षेप हो। यो असह्य छ।’ सरकारको यस्तो हस्तक्षेपकारी निर्णयले राज्य शक्तिको आडमा अदालतलाई अचानो बनाएको छ। ‘सरकारले आफैंले अपराधी मानेर न्यायिक निकायमार्फत अनुसन्धान गराएको मुद्दाका अपराधीलाई मन्त्रिपरिषद्को निर्णयबाट मुद्दा फिर्ता लिनु भनेको न्याय, मानवता, नैतिकता, प्राज्ञिक स्वतन्त्रता सत्यको हत्या गरिएको छ,’ उपप्राध्यापक चलाउनेले आक्रोश पोखे, ‘राज्यलेनै सत्ताको आड लिएर गुणहरूको संरक्षण गरी आपराधिक क्रियाकलापमा बढावा दिइरहेको हामीलाई महसुस भएको छ।’

त्रिविका अवकाशप्राप्त सहप्राध्यापक योगेन्द्रनारायण बडबडियाले कहिले विश्वविद्यालयको उपकुलपतिलाई कालो मोसो दल्ने त कहिले विभिन्न निकायमा दलको मान्छे नियुक्ति गरिनुपर्ने भन्दै आफंैले पढाएका शिक्षकलाई मरणासन्न हुने गरी कुटपिट गर्नु निन्दनीय कार्य भएको बताए। ‘चलाउने सरमाथि हमला गर्ने विद्यार्थी कदापि हुन सक्दैनन्। तिनीहरू गुण्डा नै हुन्,’ उनले भने, ‘विश्वविद्यालयका प्राध्यापकमाथि हमला गर्नु जघन्य अपराध हो। दोषीलाई कानुन अनुसार कारबाही हुनुपर्छ। त्यो सजाय शिक्षकले माफी र क्षमा दान पनि हुन सक्छ। या अपराधको कसुरअनुसारको कानुनी कारबाही पनि हुनसक्छ। तर सजाय हुनुपर्छ।’

त्रिभुवन विश्वविद्यालका समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ अससोज २० गते मंगलबार विभागीय प्रमुखको नियुक्तिलाई लिएर सत्तारुढ नेपाली कांग्रेसनिकटका नेपाल विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरूले त्रिवि परिसरभित्रै सांघातिक आक्रमण गरेका थिए। नेवि संघका योगेन्द्र रावल, दिपकराज ओझा, हरिप्रसाद आचार्य, रूपेश साह, रविन कुमार लामा, सयुज श्रेष्ठ र निरज लामाविरुद्ध उपप्राध्यापक चलाउनेले ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता गराएका थिए।  

अदालतमा मुद्दा विचाराधीन  

नेविसंघका योगेन्द्र रावल, दिपकराज ओझा, हरिप्रसाद आचार्य, रूपेश साह, रवीन कुमार लामा, सयुज श्रेष्ठ र निरज लामाविरुद्ध उपप्राध्यापक चलाउनेले ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता गराएका थिए। अदालतमा मुद्दा विचाराधीन छ।

विश्वविद्यालयको परिसरमै विभागिय प्रमुखको नियुक्तिलाई लिएर विद्यार्थीहरूबाटै प्राध्यापक निर्मम कुटिए। समाजशास्त्र केन्द्रीय विभाग कीर्तिपुरका उपप्रध्यापक डा. प्रेम चलाउनेलाई विश्वविद्यालयकै केही विद्यार्थीको समूहले रड र भाटाले निर्मम कुटपिट गरी हात, खुट्टा भाँचिदिएको र टाउकोमा रड प्रहारले गहिरो चोट लागेको थियो। 

प्रकाशित: ७ असार २०८० ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App