१९ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

खानेपानीकै पिरलो

धाराबाट बोतलमा पानी भरेर कक्षाकोठामा लैजाँदै छात्रा। तस्बिर: गणेश/नागरिक<br>

आठ वर्षीया पार्वती थारु कक्षा २ मा पढ्छिन्। सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनरत उनलाई पढाइभन्दा खानेपानीकै पिर छ। किनकी विद्यालयमा पर्याप्त खानेपानी छैन। गर्मी समयमा तीर्खा मेटाउन उनले विद्यालय आउँदा घरबाटै झोलामा किताबसँगै पानी ल्याउँँछिन्। विद्यालयमा खानेपानीको व्यवस्था नहुँदा घरबाटै बोकेर ल्याउने गरेको पार्वती बताउँछिन्।

सिदार्थ माध्यमिक विद्यालयमा चार सय जना विद्यार्थीका लागि एउटा मात्रै धारो छ। त्यो पनि जीर्ण अवस्थामा छ। हाते पम्प (नल्का) को पानी प्रयोग गर्छन् विद्यार्थी। कक्षा १ देखि १० सम्मका विद्यार्थीले वर्षौंदेखि उक्त धारा प्रयोग गर्दै आएका छन्।

विद्यार्थी संख्याको अनुपातमा धारा अभाव हुँदा खानेपानीको समस्या भएको कक्षा ६ मा अध्ययनरत आयुषा थारु बताउँछिन्। उनको घर विद्यालय नजिकै छ। उनी हरेक दिन पानीसमेत बोकेर विद्यालय जान्छिन्। आयुषा भन्छिन्, ‘किताबसँगै पानीको बोतल पनि सँगै ल्याउँछु। विद्यालयमा धारा एउटै हुँदा समस्या भएको छ। धेरैजना हुन्छन्। पानी प्यास लाग्दा लाइन लाग्नुपर्छ। त्यही धारा पनि बिग्रेको छ।’

आठ वर्षीया पार्वती थारु कक्षा २ मा पढ्छिन्। सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनरत उनलाई पढाइभन्दा खानेपानीकै पिर छ।

कक्षा ६ मै अध्ययनरत अञ्जु सहकारी पनि उस्तै समस्या सुनाउँछिन्। उनी भन्छिन्, ‘गर्मीयाम छ। पानी प्यास लाग्छ। एउटै धारा हुँदा समस्या भएको छ। पढाइभन्दा पानीकै पिर छ हामीलाई।’

करिब १० वर्षअगाडि निर्माण गरिएको उक्त धारा बेलाबेलामा बिग्रिँदा विद्यार्थीलाई हैरानी हुने गरेको छ। एउटा मात्र धारो छ, त्यो पनि बेलाबेलामा बिग्रिँदा विद्यार्थीलाई पानी खान समस्या छ।

समुदायका व्यक्तिले विद्यालयको धारो प्रयोग गर्दा जीर्ण भएको प्रधानाध्यापक रञ्जना रानाले बताइन्। ‘समुदायका मान्छेले जथाभावी रूपमा धारा प्रयोग गर्दा पनि समस्या भएको छ,’ उनले भनिन्, ‘प्रत्येक महिना मर्मत गर्नुपर्छ। फेरि भाँचिदिन्छन्। बाहिरका मानिसलाई रोक्न सकिरहेका छैनौं। त्यसैले विद्यार्थीलाई समस्या भइसक्यो। बिग्रेको धारा मर्मत गर्नुपर्ने अवस्था छ। आन्तरिक समस्याका कारण बनाउन सकिएको छैन।’

त्यस्तै सिद्धार्थ माध्यमिक विद्यालयमा विद्यार्थीलाई खोपानीको मात्र होइन, शौचालयको पनि समस्या छ। शौचालयको उचित व्यवस्था छैन। छात्र र छात्राका लागि शौचालय व्यवस्था भए पनि प्रयोगविहीन अवस्थामा छन्। छात्र शौचालय प्रयोगविहीन छ। शिक्षक र विद्यार्थी एउटै शाचौलय प्रयोग गर्छ्न। शौचालय र धाराका लागि माग गर्दा रकम व्यवस्था हुन नसकेको विद्यालय प्रशासन बताउँछ।

समुदायका व्यक्तिले विद्यालयको धारो प्रयोग गर्दा जीर्ण भएको प्रधानाध्यापक रञ्जना रानाले बताइन्।

विद्यालयको अनुरोधमा सहकर्मी समाज बाँकेले शौचालय जीर्णोद्वार गरिदिएको प्रधानाध्यापक रञ्जना राना बताउँछिन्। उनका अनुसार विद्यालयमा पहिलेजस्तो अहिले शौचालयको अभाव छैन। शौचालय निर्माणमा विद्यालयले थोरै लगानी गरेको उनले बताइन्।

प्रकाशित: १५ जेष्ठ २०८० ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App