विश्वविद्यालय भनेको पवित्र ज्ञानभूमि हो। जहाँबाट दीक्षित विद्यार्थीबाट परिवार र समाजले मात्र होइन देशले नै केही सकारात्मक अपेक्षा गरेको हुन्छ। उच्च प्राज्ञिक अभ्यास गरिने विश्वविद्यालयमा नै जब तर्क र विज्ञताभन्दा बाहुबलीको हालीमुहाली हुन थाल्छ, त्यसपछि कसले के अपेक्षा गर्ने?
१३ वैशाखमा त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागीय प्रमुख डा. युवराज लुइँटेलमाथि विश्वविद्यालयकै आंशिक शिक्षक ललितकुमार बिष्टले गरेको दुव्र्यवहार गरे। आफूलाई निशर्त करार गराउन विभागीय प्रमुखलाई डर, त्रास, धाक धम्की देखाउँदै उनले विभागीय प्रमुखमाथि अभद्र व्यवहार गरेका हुन्। विभागीय प्रमुख लुइँटेलले पटकपटक प्रक्रिया पुर्याएर काम गर्ने भन्दै गर्दा उनलाई आंशिक शिक्षक बिष्टले तथानाम गालीलगौज गर्नुका साथै प्रमुखको टेबुलमा तीनपटक हेलमेट बजारेका थिए।
विश्वविद्यालयभित्र पदाधिकारी नियुक्तिको विषयलाई लिएर विद्यार्थीले शिक्षक कुट्ने र र शिक्षकले आफ्नै पदाधिकारीमाथि दुर्व्यवहार गर्ने गरेको घटना यो नौलो भने होइन। अपराधिलाई ठोस कारबाही नभएकै कारण यस्ता विद्यार्थी र शिक्षको खोल ओढेर विश्वविद्यालयभित्र आपराधिक क्रियाकलाप गर्नेहरूले प्रश्रय पाइरहेको विश्वविद्यालयका प्राध्यापकहरूको अनुभव छ।
उच्च प्राज्ञिक अभ्यास गरिने विश्वविद्यालयमा नै जब तर्क र विज्ञताभन्दा बाहुबलीको हालीमुहाली हुन थाल्छ, त्यसपछि कसले के अपेक्षा गर्ने?
अर्कातर्फ विद्यार्थी र शिक्षक संगठनले नै पदाधिकारी नियुक्ति गराउने खेलमा समावेश भएकोले उनीहरूले आफ्ना गुरुलाई तल्लोस्तरको कामदारको रूपमा व्यवहार देखाउने गरेको प्राध्यापकहरूको गुनासो छ।
०७७ साल असोज २० गते समाजशास्त्र विभागकै उपप्राध्यापक प्रेम चलाउनेमाथि विश्वविद्यालयका विद्यार्थी नेता तथा भाडाका गुण्डाले सांघातिक हमला गरी विश्वविद्यालय परिसरभित्रै कुटपिट गरे। पदाधिकारी नियुक्तिको विषय लिएर विद्यार्थीले लगाएको ६० दिनदेखिको तालाले पठनपाठनमा नकारात्मक असर पर्न थालेपछि उपप्राध्यापक चलाउनेले विद्यार्थीलाई तला खोल्न अनुरोध गर्दा उनलाई नेवि संघका नेताले भाडाका गुन्डा लगाएर कुटपिट गर्न लगाए। उपप्राध्यापक चलाउने जीवन र मरणको अवस्थामा लामो समयसम्म अस्पतालमा भर्ना हुनुपर्यो।
२०७६ मंसिर ९ गते त्रिचन्द्र कलेजका तत्कालीन प्रमुख प्रदीप बहादुर न्यौपानेमाथि भर्ना तथा शुल्कको विवादलाई लिएर कलेजका विद्यार्थी संगठनका नेताले कुटपिट गर्दा उनी लामो समय अस्पताल भर्ना हुनु परेको थियो।
०७७ साल असोज २० गते समाजशास्त्र विभागकै उपप्राध्यापक प्रेम चलाउनेमाथि विश्वविद्यालयका विद्यार्थी नेता तथा भाडाका गुण्डाले सांघातिक हमला गरी विश्वविद्यालय परिसरभित्रै कुटपिट गरे।
२०७१ जेठमा त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा प्राध्यापक संगठनका प्रतिनिधिले तत्कालीन उपकुलपति हीराबहादुर महर्जन, रजिष्ट्रार चन्द्रमणि पौडेल र शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलाई करारका शिक्षकलाई स्वतः स्थायीको माग गर्दै २४ घण्टा थुनेर दुव्र्यवहार गरेका थिए।
विश्वविद्यालयमा शैक्षिक र प्राज्ञिक उन्नयनका लागि विभिन्न राजनीतिक आस्थाका आधारमा शिक्षक र विद्यार्थीको संघ संगठन खुलेका छन्। तर यी संगठनले भने दलगत भागबन्डामा नियुक्ति गराउने काममा मात्र सीमित भएको विश्वविद्यालयका प्राध्यापकको तितो अनुभव छ।
समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेका अनुसार आंशिक शिक्षक ललित बिष्ट त विश्वविद्यालयमा हुने गरेका आपराधिक क्रियाकलापको एक पात्र हुन्। विश्वविद्यालयभित्र शिक्षक र विद्यार्थी संगठनको खोल ओढेको आपराधिक गिरो हनै परिचालन रहेको उनले बताए।
उनका अनुसार पदाधिकारी नियुक्ति, सरुवा, बढुवा, परीक्षामा पास फेललगायत छात्राबासको कोठा ओगट्ने कामसम्ममा यी संगठनका खोल ओढेका गुण्डाहरूको गिरोह नै त्रिविमा परिचालन रहेका छन्।
‘घटनाको तीन वर्ष बित्न लाग्दासमेत म पूर्णरूपमा शारीरीक र मानिसक तवरमा निको भएको छैन। मेरो तेस्रो अपरेसन हुने मिति तय भएको छ। विभागमा लगाइएको ताला खोलाउँदा ममाथि प्राणघातक हमला भयो,’ उपप्राध्यपाक चलाउनेले भने, ‘मलाई आक्रमण गर्ने हरि आचार्य र योगेन्द्र रावालमाथि मैले किटानी जाहेरी दिए। काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। तर यी अपराधीलाई दलगत संरक्षण छ। राजनीतिक संरक्षणमै विश्वविद्यालयभित्र शिक्षक र विद्यार्थीले खुलेआम गुण्डागर्दी गरिरहेका छन्,’ उनले पीडा पोखे, ‘अपराधीलाई कुनै कारबाही हुन नसकेकै कारण बौद्धिक विरोधीले अपराधी क्रियाकलाप गर्न प्रश्रय पाइरहेका छन्। दलको नांगो हस्तक्षेपले विश्वविद्यालय असुरक्षित बन्दै गएको छ। शिक्षकले त्रासमय वातावणमा बाँच्नु परेको छ।’
उनले विश्वविद्यालय तीन वर्षमा ३ सय ४५ दिन तालाबन्दीमा हुँदासमेत विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीसमेतले केही नबोल्नुले पनि विश्वविद्यालय राजनिति दलदलमा फस्दै गएको प्रष्ट हुन्छ। ‘विश्वविद्यालयभित्र रहेका दलका भ्रातृ संगठनहरूले भागबन्डा हुबहु लागु गराउने मात्र काम गरिरहेका छन्,’ उनले भने, ‘विश्वविद्यालयमा प्राज्ञिक नियुक्ति नभएसम्म चुनौती कायम नै देखिन्छ।’
विश्वविद्यालयका पूर्वउपकुलपति हीराबहादुर महर्जनका अनुसार विश्वविद्यालयको संरक्षण कुलपति एवं प्रधानमन्त्रीको जिम्मा हो। तर विश्वविद्यालयभित्र हुने यस्ता आपराधिक क्रियाकलापमा समेत कुलपति एक शब्द नबोल्नुलाई उनले विश्वविद्यालयभित्र हुने अराजकताको पछाडि दलगत संरक्षण रहेको प्रष्टै भएको अवगत गराए।
उनले विश्वविद्यालय तीन वर्षमा ३ सय ४५ दिन तालाबन्दीमा हुँदासमेत विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीसमेतले केही नबोल्नुले पनि विश्वविद्यालय राजनिति दलदलमा फस्दै गएको प्रष्ट हुन्छ।
‘त्रिविमा मात्र अराजक होइन यो देशकै अराजक भएको हो। विश्वविद्यालयले आवश्यकता अनुसार सानो अवधिका लागि आंशिक, केही वर्षका लागि करार राख्छ। यस्ता शिक्षकलाई स्थायी गर्ने त्रिवि नियममै छैन,’ पूर्वउपकुलपति महर्जनले भने, ‘तर म आफंैले भोगेको कुरा के हो भने राजनीतिक दलको संरक्षणमा शिक्षक मात्र होइन विद्यार्थी पनि स्थायी गराउन दबाब दिन्छन्। दलगत संरक्षणमा गलत काम गराउन तम्सिन्छन्। नगरे गुण्डागर्दी गर्छन्। राजनीतिक दलले आफ्नो भ्रातृ संगठनका शिक्षक र विद्यार्थीलाई नियम कानुनमै नभएको कुरा गराउन संरक्षण दिनु नै गलत हो।’
त्रिविकै अर्का उपप्राध्यापक डा. जीवन काफ्लेका अनुसार त्रिवि विधि, पद्धति र प्रणालीअनुसार शैक्षिक क्यालेन्डर कार्यान्वयन नसकेकै कारण विश्वविद्यालयमा आपराधिक क्रियाकलाप हुन गएको हो। ‘विश्वविद्यालयको उपकुलपतिदेखि सबै विभागका पदाधिकारीहरू राजनीति निगाहमा पद पाएका हुन्छन्। विश्वविद्यालयलाई दलले चलाइरहेको देखिन्छ,’ उनले भने, ‘यसकारण त्रिविमा दलको निगाहामा नियुक्ति पाएका पदाधिकारीले क्यालेन्डर पालना गर्नुभन्दा पनि दलको निर्देशन पालना गरेको देखिन्छ।’
प्रकाशित: २६ वैशाख २०८० ०१:२१ मंगलबार