५ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

पोखरा महानगरको निर्देशनः ब्रिजकोर्ष सञ्चालन नगर्नू, विद्यालयभित्र किताब बेच्न रोक

विद्यालयहरु नयाँ शैक्षिकसत्रको तयारीमा छन्। विद्यालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा समेत लिईसकेका छन्। आगामी वैशाख १० गतेदेखि नयाँ शैक्षिकसत्रका पठनपाठन शुरु हुनेछ। नयाँ शैक्षिक सत्रको पठनपाठन अघि पोखरा महानगरपापालिकाले महानगर भित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन विभिन्न निर्देशनसहितको निर्देशिका जारी गरेको छ।  

शिक्षा निर्देशिकामा शैक्षिक सत्र २०८० का विद्यालय हाताभित्रबाट विद्यार्थीलाई पाठयपुस्तक बिक्री वितरणमा रोक लगाएको छ। त्यति मात्रै ब्रिजकोर्ष समेत खारेज गर्ने निर्णयसहित निर्देशिकामा उल्लेख गरिएको छ। ‘विद्यालयले विद्यार्थीलाई पुस्तक सहज उपलब्ध गराउने नाममा व्यापार गर्नुभएन्,’ नगर शिक्षा समितिका सदस्य सचिव हेमप्रसाद आचार्यले भने, ‘अभिभावकले आफनो अनुकुल पसलमा गएर आवश्यक अनुसार विभिन्न प्रकाशन किताब किन्न सक्छन्।’

निर्देशिकामा विद्यालयले उपलब्ध गराएको पब्लिकेशनकै किताब तोकिएकै पसलमा खरिद गर्नुपर्ने अवस्था नभएको उनको भनाई थियो। ‘अभिभावकले पुस्तक जुनसुकै पसलमा गएर बार्गेनिङ गरेर किताब किन्न सक्नेछन्,’ उनले भने, ‘यद्दपी विद्यालयले तोकेकै पुस्तक पसलमा गएर किताब खरिद गर्छन् भने हामीले भन्नु केही छैन्।’ किताब किन्दा अभिभावक ठगिएको गुनासो आउन नहुने उनको बुझाई थियो।  

कतिपय विद्यालयले विद्यालय हाताभित्रैबाट पुस्तक बिक्री वितरण गरेको गुनासो आएपछि महानगरपालिकाले शिक्षा निर्देशिका जारी गरेको उनले बताए। नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले निर्देशिका जारी गरेको उनले सुनाए।

‘किताब विद्यालयले किनेर विद्यार्थीलाई बेच्ने होईन्। विद्यालयभित्र व्यापार गर्नुहुदैन्,’ उनले भने, ‘त्यसो गरेको पाईए आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउँछौं।’ नगर शिक्षा समितिका सदस्य सचिव आचार्यले ब्रिजकोर्षको नाममा व्यापार भएको भन्दै त्यस्ता व्यापार पूर्णरुपमा निस्तेज गर्नुपर्ने उल्लेख गरे। 

शैक्षिकसत्र २०८० को पठनपाठन वैशाख १० गतेबाट शुभारम्भ गर्ने निर्णय गरेको महानगरले कक्षा १० सम्म अध्ययन गरिरहेका विद्यार्थीहरूले सोही विद्यालयमा अध्ययन गर्न चाहेमा अनिवार्य रुपमा भर्ना लिनुपर्ने प्रावधान बनाएको छ। साथै महानगर भित्र सञ्चालित विद्यालय क्षेत्रको १०० मिटर दुरी भित्र सुर्ती तथा मदिराजन्य वस्तुहरूको बिक्री वितरणमा पूर्ण तया निषेध गरिएको छ।

विद्यालयहरूले सञ्चालन गरिरहेको बस सेवा अवधि लामो भएको जनगुनासो आएकाले सो सम्बन्धमा आगामी शैक्षिकसत्र बाट विद्यालय सुरु हुनु पूर्व डेढ घण्टा अगाडीबाट मात्र बस सेवा सञ्चालन गर्न महानगरले निर्देशन गरेको छ। महानगरको निर्देशनमा भनिएको छ, ‘स्कुलबस विद्यालय सुरु हुनुभन्दा १ घण्टा ३० मिनेट अगाडिबाट मात्र विद्यार्थी ल्याउने कार्यमा प्रयोग गर्नु पर्नेछ, बिहानैदेखि विद्यार्थी ओसारेर राख्न पाइदैन।’ यस्तै विद्यालयहरुलाई २० वर्ष भन्दा पुराना सवारी साधन प्रयोगमा रोक लगाउनुका साथै प्रत्येक ६–६ महिनामा पूर्ण सर्भिसीङ गर्न निर्देशन जारी गरिएको छ।

जारी निर्देशनहरूलाई पूर्ण रुपमा कार्यान्वयन गर्न–गराउन सरोकारवालालाई परिपत्र गरी उक्त निर्देशनको परिपालना नभए नियमानुसार कारबाही गर्ने पनि महानगरले जनाएको छ। शैक्षिक संस्थालाई चुस्त, सहज, सर्वसुलभ र व्यवहारिक बनाउनका निम्ति जारी गरिएको निर्देशनलाई आगामीदिनमा आवश्यकता अनुसार समयानुकूल बनाउँदै लैजाने निर्णय पनि गरिएको छ।  महानगरको निर्देशनमा भनिएको छ, ‘विद्यालयले शिक्षा नियमावलीमा उल्लेखित शीर्षकमा बाहेक एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधि भर भर्नाशुल्क बापत एकपटक मात्र अधिकतम २ महिनाको शुल्क भन्दा बढी लिन पाइने छैन।’  

प्रकाशित: २६ चैत्र २०७९ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App