१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

कर्णालीको दुर्गम भेगका सामुदायिक विद्यालयका विद्यार्थीको वार्षिक परीक्षा सकिएर नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना नाघिसक्यो। तर उनीहरू विगतमा जस्तै पाठ्यपुस्तककै पिरलोमा छन्। हातमा अझै पाठ्यपुस्तक नपर्दा र पाठ्यपुस्तक आइपुग्ने ठेगानसमेत नहुँदा उनीहरूको पढाइ प्रभावित भएको छ। दुर्गम जिल्लामा हरेक वर्ष फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ। नयाँ शैक्षिक सत्रका लागि कक्षा १० सम्म पढिरहेका विद्यार्थीलाई त  पाठ्यपुस्तक अभाव छ नै, अहिले एसइई दिँदै गरेका विद्यार्थीसमेत पाठ्यपुस्तक नपढीकनै जाँच दिन बाध्य छन्। यहाँका विद्यार्थीमा पाठ्यपुस्तक पाउन नसकेको गुनासो सधैं रहने गरेको छ।

कर्णालीको विकट पहाडी जिल्ला कालिकोटका धेरै विद्यालयका विद्यार्थी पाठ्यपुस्तकविहीन छन्। कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–३ स्थित विद्याज्योति माध्यमिक विद्यालय कक्षा ८ का विद्यार्थीसम्म नेपाली र स्वास्थ्य विषयको पुस्तक पुगेको छैन। खाँडाचक्र नगरपालिका–३ ताडीको जनजीवन माविमा पनि केही पुस्तक पुगेको छैन। यस्तै पलाँता गाउँपालिकाका सामुदायिक विद्यालयले पनि पुस्तक अभाव झेलिरहेको छ।

सान्नीत्रिवेणीको विद्याज्योतिकी छात्रा आशा गिरीले पाठ्यपुस्तकबिनै परीक्षा दिनुपर्नेे बाध्यतामा आफू रहेको बताइन्। उनी माध्यमिक तहमा अध्ययनरत छिन्। ‘न समयमा किताब पाउँछौं न विद्यालयमा सिकाइ गतिविधिका लागि पर्याप्त सामग्री नै छन्,’ उनी भन्छिन्।

पाठ्यपुस्तक, भौतिक संरचना र शिक्षक अभाव जस्ता कारणले आफूहरूको सिकाइ प्रभावकारी बन्न नसकेको उनी सुनाउँछिन्। पलाँता गाउँपालिकाका विद्यार्थीहरूको गुनासो पनि आशाको भन्दा भिन्न छैन। ‘यो वर्षको वार्षिक परीक्षा किताब नपढी सकियो। अब अर्को वर्षका लागि यस्तै पिरलो नहोस् भन्ने चाहेका छौं,’ पलाँताका एक छात्रले भने, ‘हामीले सबै विषयका पुस्तक समयमै पाउनुपर्ने माग त गरेका छौं तर कहिले हात पर्ने हो, कुनै ठेगान छैन।’

खाँडाचक्र–३ स्थित जनज्योति माविमा पनि पाठ्यपुस्तक अझै नपाएको विद्यार्थीको गुनासो छ। यस्तै शुभकालिका गाउँपालिका र महावै गाउँपालिकाका केही विद्यालयमा पनि पुस्तकको अभाव छ। जिल्लाका सामुदायिक विद्यालयमा समयमै सबै विषयका पाठ्यपुस्तक नपुग्दा सिकाइ गतिविधि नै प्रभावित भएको नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टले बताए। विद्यार्थीको पठनपाठन सहज पार्न जिल्लामा पुस्तक पुर्‍याउने जिम्मा लिएका निकायको लापरबाही र गैरजिम्मेवारीपनका कारण समयमै पुस्तक नपुगेकाले आगामी आर्थिक वर्षका लागि समयमै पुस्तक पुर्‍याउन सबै जिम्मेवार हुनुपर्ने बताए।

शिक्षाका संरचनादेखि हरेक क्षेत्रमा प्रदेश सरकारले लगानी गरिरहेको अवस्थामा स्थानीय सरकार गैरजिम्मेवार बनेकाले र विद्यालयमा राजनीतिक हस्तक्षेप बढेकाले विद्यार्थी समयमै पुस्तक नपाउने समस्यामा गुज्रिनुपरेको स्थानीयको भनाइ छ। कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको बताउँदै त्यसका लागि रकम निकासा भइसकेको जनाएको छ। तर कालिकोटका धेरै विद्यालयमा पाठ्यपुस्तक अभाव कायमै छ। पालिकाहरू भने किताब किन्ने जिम्मेवारी विद्यालयलाई दिएको भन्दै पन्छिने गरेका छन्।

पुस्तकका लागि विद्यालयको खातामा रकम पठाइसकिएको तर पुस्तक अभावका कारण विद्यार्थीका हातमा पुस्तक उपलब्ध नभएको विद्याज्योति माविका प्रधानाध्यापक मानप्रसाद देवकोटाले बताए। ‘हामीले विद्यार्थीलाई पढाइमा निरन्तरता दिएकै छौं। समयमै किताब ल्याउने भन्दाभन्दै पाएका छैनौं। अहिले थोरै पुस्तक मात्र अपुग हो। विद्यार्थीका समस्या त जहिल्यै उस्तै त हो,’ उनले भने।

कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीले पुस्तक नपाउने समस्या बर्सेनि खेप्दै आएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ कालिकोटका प्रमुख प्रकाशचन्द धितालले बताए। अघिल्लो आर्थिक वर्षमा केही ऐच्छिक विषय परिमार्जन भएकाले ती विषयका पुस्तक अपुग भएको उनले बताए।

कर्णालीका कालिकोट, जुम्ला, दैलेख, सुर्खेत र जाजरकोटमा कक्षा ६ मा विज्ञान, गणित र अंग्रेजी विषयका ६ हजार पुस्तक र कक्षा ८ का विभिन्न विषयका ३ हजार पुस्तक पुग्न सकेको छैन। पुस्तक अपुग कायम रहँदै वार्षिक परीक्षा सकिएको छ। पाठ्पुस्तकको अभाव हुन नदिने, देशभरिका विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउने भनी सरकारले बारम्बार प्रतिबद्धता जनाउँदै आए पनि कर्णालीका दुर्गम पहाडी जिल्लाका हकमा भने विद्यार्थीले अभाव झेल्नुको विकल्प नै नरहेको ती जिल्लाका अभिभावकहरू बताउँछन्। 

प्रकाशित: १९ चैत्र २०७९ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App