२० असार २०८१ बिहीबार
image/svg+xml
शिक्षा

एसइई दिँदै ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी

माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारदेखि सुरु हुँदै छ। यो वर्ष एसइईका ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यसपटक एसइईका लागि देशभित्र र बाहिर गरी २ हजार ३७ परीक्षा केन्द्र निर्धारण गरिएको छ। यो वर्ष जापानमा पनि परीक्षा केन्द्र तोकिएको छ। जापानमा एसइईका लागि परीक्षा केन्द्र कायम गरिएको पहिलोपटक हो।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार नेपालको जनसंख्या क्रमशः घट्दो क्रममा रहेकाले विगतमा भन्दा यसपटक एसइईका परीक्षार्थीको संख्या घटेको छ। बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष अर्थात् २०७८ सालको एसइईमा ४ लाख ९४ हजार ६ सय ८१ परीक्षार्थी सहभागी भएका थिए।

त्यस्तै २०७४ सालमा ४ लाख ८५ हजार ५ सय ८६ र २०७५ सालमा ४ लाख ७५ हजार ३ सय परीक्षार्थी थिए। २०७६ र २०७७ सालमा कोभिडका कारण विद्यालयले नै एसइई सञ्चालन गरेकाले यकिन तथ्यांक नरहेको बोर्डले जनाएको छ।

‘गत वर्षको तुलनामा यो वर्ष ९ हजार २ सय ८५ परीक्षार्थी घटेका छन्,’ बोर्डका अध्यक्ष शर्माले भने, ‘बालबालिकाको जनसंख्या घट्दो क्रममा भएकै कारण विद्यालय उमेरका बालबालिका कम भर्ना भए। यसैको परिणाम एसइईमा देखियो।’ उनका अनुसार यसपटक दुई लाख ४२ हजार ७ सय १२ छात्रा र दुई लाख ४२ हजार ६ सय ७४ छात्र परीक्षार्थी छन्।

जापानमा पनि परीक्षा केन्द्र

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार यसपटक जापानमा समेत परीक्षा केन्द्र तोकिएको छ। एभरेस्ट इन्टरनेसनल स्कुल जापानले नेपाली पाठ्यक्रम पढाउँदै आएको छ। त्यसैले यसपटक जापानमा पनि परीक्षा केन्द्र तोकिएको श्रेष्ठले बताए। उक्त विद्यालयका १४ जनाले एसइई दिँदै छन्। बोर्डका अनुसार जापानमा एसइई परीक्षा केन्द्र तोकिएको यो पहिलोपटक हो।

देशभरि कक्षा १० सञ्चालित कुल १२ हजार ८३ विद्यालयमध्ये प्राविधिक धारतर्फका ५ सय ५ छन्। यसपटक प्राविधिकतर्फका १५ हजार ४ सय ६१ परीक्षार्थी छन्। त्यस्तै ३३ जिल्लाका ६६ विद्यालयबाट संस्कृत अध्ययन गर्ने विद्यार्थीले ५६ वटा केन्द्रबाट एसइई दिँदै छन्।

‘कुल परीक्षार्थीमध्ये ३ लाख ४३ हजार ७९ सरकारी विद्यालयका र निजी विद्यालयका १ लाख ४२ हजार ३ सय १७ जना छन्,’ परीक्षा नियन्त्रक श्रेष्ठले भने, ‘यसपटक प्रश्नपत्र स्तरीकृत गर्नुका साथै दृष्टिविहीन ५५ परीक्षार्थीका लागि घरपायक पर्ने स्थानमा केन्द्र तोकिएको छ।’ उनका अनुसार सबैभन्दा बढी केन्द्र काठामाडौं (१ सय २३) तथा सबैभन्दा कम केन्द्र मनाङ र मुस्ताङ (एकएक) छन्। सबैभन्दा बढी परीक्षार्थी (१ लाख २ हजार) वाग्मती प्रदेशबाट छन्। सबैभन्दा कम परीक्षार्थी कर्णाली प्रदेश (३८ हजार ६ सय ८) बाट छन्।

प्रकाशित: १७ चैत्र २०७९ ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App