११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

मोरङमा अनेरास्ववियू ४, नेविसंघ ३, अखिल क्रान्तिकारी १ वटा क्याम्पसमा विजयी

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा मोरङमा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियू अगाडि देखिएको छ। 

मोरङका १० मध्ये ९ वटामा आइतबार सम्पन्न निर्वाचनमा मतगणना सम्पन्न भएको ८ वटा क्याम्पसमध्ये अनेरास्ववियूले ४, नेवि संघले ३ र अखिल क्रान्तिकारीले १ वटा क्याम्पसको सभापति जितेका छन्।  

अनेरास्ववियूले  विराटनगर स्थित डिग्री क्याम्पस, लेटाङ बहुमुखी क्याम्पस, रमाइलो बहुमुखी क्याम्पस र नर्सिङ क्याम्पसको सभापति जितेको छ। यस्तै नेविसंघले उर्लावारी, वेलवारी, पथरी शनिश्चरे बहुमुखि क्याम्पसको सभापति जितेको छ। यस्तै अखिल क्रान्तिकारीले मोरङको खदम केरावारी बहुमुखी क्याम्पसको सभापति जितेको छ। विवादका कारण महेन्द्रमोरङ क्याम्पस विराटनगरमा सोमबार ढिलोगरी मतगणा सुरु भएको छ। यस्तै मोरङको सुकुना बहुमुखी क्याम्पसमा रोकिएको निर्वाचनमा सोमबार मतदान भइरहेको छ।  

मोरङको पथरीशनिश्चरेस्थित पथरी बहुमुखी क्याम्पसमा लोकतान्त्रिक बाम गठबन्धनतर्फबाट नेविसंघका केशर थुलुङ राई निर्वाचित भएका छन्। रार्ईले अनेरास्ववियुका उज्वल लकान्द्रिलाई पराजित गरेका हुन्। त्यस्तै सचिवमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेविसंघका भुपाल खतिवडा,कोषाध्यक्षमा गठबन्धनबाट अखिल क्रान्तिकारीका खगिन मगर विजयी भएका छन्। सदस्यमा नेवि संघका सफिन आचार्य गंगाराम शाह ९शम्भु०, सोमनाथ फुंयाल ९दिपेश०, अखिल क्रान्तिकारीकी प्रितिका भट्टराई र अनेरास्ववियू ९माधव नेपाल पक्ष०का  प्रकाश शिवा विजयी भएका छन् ।  

मोरङको लेटाङ क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानलै विजयी  भएको छ। निर्वाचनमा सभापतिका उम्मेदवार छवि श्रेष्ठ सचिवमा पुजेश अधिकारी र कोषाध्यक्षमा पनि अनेरास्ववियुका सागर पौडेल विजयी भएका छन्।  

केराबारी खदम क्याम्पसमा एमाले निकट अनेरास्ववियुले उमेद्धारी नदिएपछि  नेविसंघ र अखिलक्रान्तिकारीको प्यानलै विजयी भएको छ। अखिल क्रान्तिकारीका सिमान्त लुइँटेल नेतृत्वको प्यानल निर्विरोध निर्वाचित भएको हो । सचिवमा नेविसंघकी सिर्जना पोखरेल, कोषाध्यक्षमा क्रान्तिकारीकै सावित्रा विश्वकमा निर्वाचित भएकी छिन्।  सदस्यहरुमा क्रान्तिकारीका सुनिलकुमार रोक्का, नेविसंघका रितिका कार्की र स्वस्तिका कार्की निर्वाचित भएका छन्।  

रमाईलो बहुमुखी क्याम्पस कानेपोखरीमा एमाले निकट अनेरास्वबियुको तर्फबाट सभापतिमा मालती रेग्मीको  प्यानल नै बिजयी भएको छ।  बेलबारी बहुमुखी क्याम्पसमा लोकतान्त्रिकम  बाम गठबन्धनका तर्फबाट सभापतिका उम्मेदवार  सियोम सुवेदी सर्बसम्मत  निर्वाचित भएका छन्।  

मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ। सभापतिमा नेविसंघका विवेक कार्की विजयी भएका छन्। उनले नेकपा एमाले निकट अनेरास्ववियु,  माओवादी निकटको  अखिल क्रान्तिकारी, राप्रपाको राप्रविसंघ, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू र जसपाको समाजवादी विद्यार्थी युनियनका तर्फबाट संयुक्त उम्मेदवार प्रीति दाहाललाई पराजित गरेका हुन्। सचिवमा नेविसंघका देवेन्द्र पौडेल,कोषाध्यक्षमा भुवन श्रेष्ठ, सदस्यहरुमा सुजन शंकर, दिपेश चौधरी, अन्जना न्यौपाने, सन्दीप बुढाथोकी, शुसिला कार्की, कहना वि।क, विनिता गौतम र विराट थापा विजयी भएका छन्।  

नर्सिङ क्याम्पस विराटनगरको सभापतिमा  अनेरास्ववियूकी  प्रशंसा पौडेल विजयी भएकी छिन्। डिग्री क्याम्पस विराटनगरमा अनेरास्ववियूका निर्मल गजुरेल सभापतिमा विजयी भएका छन्।

मोरङको सुकुना बहुमुखी क्याम्पसमा विवादका कारण रोकिएको निर्वाचन सोमबार भइरहेको छ। यस्तै महेन्द्र मोरङ विराटनगरमा आइतबार निर्वाचन सम्पन्न भए पनि मतगणनामा विवाद भएपछि रोकिएको मतगणना सोमबार भइरहेको छ।  

प्रकाशित: ६ चैत्र २०७९ ०८:५० सोमबार

त्रिभुवन विश्वविद्यालय