२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको छ: मन्त्री शर्मा

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको बताएकी छिन्।  

प्राविधिक शिक्षा तथा व्यावयायिक तालिम परिषद् (सिटीइभीटी) को ३५ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले सरकारले बजेटमा समेत प्राविधिक शिक्षाका लागि प्राथमिकता दिएको बताइन्।  

 मन्त्री शर्माले भनिन्, 'देशलाई सीपयुक्त जनशक्ति आवश्यक छ, त्यसैले सरकारले बजेटमा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ, सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको छ।' हातमा सीप भएका जनशक्ति नेपालमा धेरै रहेको चर्चा गर्दै उनले  पढाइलाई मात्रै नभइ अनौपचारिक शिक्षाका रुपमा हातमा सीप भएका जनशक्तिलाई पनि शिक्षा ऐनले सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।  

उनले देशका सबै युवालाई हातमा सीप दिएर दक्ष जनशक्ति बनाएर रोजगारी सिर्जना गर्नुपर्ने औँल्याइन्। अन्य विषय पढ्न नसक्ने मात्रै प्राविधिक शिक्षा पढ्न सिटीइभीटी आउँछन् भन्ने भ्रम रहेकाले त्यो भ्रमलाई चिर्नु आवश्यक रहेको मन्त्री शर्माले बताइन्।

अब नेपालको शिक्षामा पढ्दै कमाउँदै भन्ने नीतिलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले भनिन्, 'नेपालको शिक्षा महँगो हुँदै गएको छ, त्यसैले सरकारले कमाउँदै पढ्दै भन्ने नीति ल्याएको छ, त्यसलाई व्यवहारमा ल्याउनुपर्‍यो।'  

सिटीइभीटीबाट एउटै विद्यालयमा प्राविधिक शिक्षाका १० वटा कार्यक्रम लैजाने प्रतिस्पर्धा चलेको भन्दै उनले त्यसरी धेरै कार्यक्रम एउटै विद्यालयले लैजानुभन्दा थोरै कार्यक्रम लैजाने र गुणात्मक शिक्षा दिनुपर्ने बताइन्। सरकारले अहिले शिक्षा ऐन र निजामती ऐनलाई प्राथमिकतामा राखेको जनाउँदै देश सङ्घीयतामा गए पनि शिक्षा ऐन भने पुरानै भएकाले छिट्टै शिक्षा ऐन ल्याउन सरकार लागेको उनले बताइन्।  

 नेपालको जनशक्ति धमाधम बाहिरिँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले नेपालमै बसेर पनि आम्दानी गर्नसक्ने भएकाले शिक्षाका अगुवाले विदेशिनुको कारण खोज्नुपर्ने बताइन्। कर्मचारीलाई उनले अधिकार पनि खोजौं तर आफ्नो कर्तव्यलाई नभुलौँ भन्दै कर्मचारीले आफ्नो कर्तव्यलाई सधैँ निर्वाह गर्नुपर्नेमा जोड दिइन्।  

प्रकाशित: १२ फाल्गुन २०७९ ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App