४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

किताब छैन, चिन्ता छैन: सिकाई बाकसले पढाउँछ विद्यालय शिक्षा

गोरखाका विद्यालयहरुलाई सिकाई बकास हस्तान्तरण गरिँदै।

गोरखाका सबै विद्यालयमा पाठ्यपुस्तक पुग्न शैक्षिक सत्र सुरु भएको तीनदेखि पाँच महिनापछि समय लाग्छ। कतिपय विद्यालयमा त शिक्षकसँग भएकै किताबले आधाआधी कोर्स सकिन्छ। पाठ्यक्रम फेरबदल नभएको बेला त पुराना किताबले केही भरथेग होला तर पाठ्यक्रम फेरिएपछि नयाँ छापिने पाठ्यपुस्तक अझै ढिला गरी विद्यार्थीको हातमा पर्छ। गोरखामा जस्तै समस्या गत शैक्षिक सत्रमा देशभर पाठ्यपुस्तकको अभाव थियो।

नयाँ शैक्षिक सत्र सुरु भएदेखि नयाँ होस् या पुराना पाठ्यक्रममा आधारित पाठ्यपुस्तकबाट विद्यार्थीलाई पढाउन ‘सिकाई बाकस’ (लुमा) ले सहज हुने भएको छ। सिकाई बासक कम्प्युटर र प्रोजेक्टर जडित हुन्छ। कक्षा १ देखि १२ सम्म पाठ्यक्रम बिकास केन्द्रले स्वीकृत गरेका पाठ्यक्रममा आधारित हरेक पुस्तक त्यहाँ हुन्छ।

‘पुस्तक मात्र होइन, कुन पाठ पढाउँदा मिल्दोजुल्दो अन्य सामग्री के हुन सक्छ त्यो पनि त्यहाँ छ’ पाठ्यक्रम बिकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले भने ‘किताब पुगेन भनेर वर्षेनी हाहाकार भइरहेका बेला हाम्रा विद्यालयहरुकालागि यो एउटा वैकल्पिक आधार हुनसक्छ।’ यी सामग्री पढाउन, हेर्न अफलाइनबाट सकिन्छ।

‘पाठ्यक्रम बद्लियो र थपघट गर्नुपर्ने भयो, सुधार गर्नुपर्‍यो भने पनि सिकाई बाकसलाई अनलाइन राखेर इन्टरनेटको माध्यमले जहाँबाटपनि सामग्री थप्न सकिन्छ’ महानिर्देशक अर्यालले थपे।

हरेक कक्षामा एक/एक वटा सिकाई बाकस हुने हो भने सहज हुनेछ। अहिले यसबाट विद्यार्थी, शिक्षकमा कस्तो प्रभाव पर्छ, सिकाईको स्तरमा के सुधार हुन्छ भन्ने हेर्न लागिएको उनले बताए।

‘किताबको सट्टा सिकाई बाकसबाट सहज भयो भने सरकारले अपनत्व लिएर अघि बढाउँछ’ महानिर्देशक अर्यालले भने। अहिले तयार भएको सिकाई बाकसमा केही छुटेको वा थप गर्नुपर्ने, सुधार गर्नुपर्ने विषयहरू छन् भने सुधार गर्न सकिने उनले बताए।

नेपालमा एक सय वटा विद्यालयमा यो प्रयोग गर्न लागिएको छ। ‘सिकाई बाकस’ गण्डकी प्रदेशका ३५ वटा विद्यालयलाई वितरण गरिएको शैक्षिक स्रोत तथा बिकास केन्द्र नेपालका कार्यकारी निर्देशक भीमप्रसाद पोखरेलले बताए। शिक्षा तथा मानव बिकास स्रोत केन्द्र, पाठ्यक्रम बिकास केन्द्रले मन्त्रालयसँगको सहकार्यमा तयार गरेका सामग्री सिकाई बाकसमा राखिएको छ। 

‘अनिवार्य विषयका सबै पुस्तक छन्’ उनले भने ‘विषय बस्तुसँग मिल्दो अडियो, भिडियो सामग्रीहरुपनि त्यहाँ छ, कक्षाकोठामा सहजै प्रयोग गर्न सकिन्छ।’

शनिवार गोरखाका ११ विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको छ। सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरले शिक्षकहरूले सिकाई बाकसको धेरै प्रयोग गर्नुपर्ने बताए। गोरखाका ११ विद्यालयका दुई जना विद्यार्थी र दुई जना शिक्षकलाई दुई दिन सिकाई बाकस कसरी संचालन गर्ने भन्ने बारेमा तालिम दिइएको थियो। रोटरी क्लब अफ अमेरिकाको सहयोगमा रोटरी क्लब अफ पोखराले नमुना परीक्षण परियोजनाको रुपमा यो संचालन गरेको कार्यक्रम संयोजक मिनु कुँवरले बताईन। ‘तपाईहरुले राम्रोसँग प्रयोग गर्नुभयो र यसको आवश्यकता भयो भने रोटरी क्लबले थप विद्यालय र कक्षाकालागि सहयोग गर्न सक्छ’ रोटरी क्लब अफ पोखराका पूर्व अध्यक्ष ज्ञानेन्द्र सिग्देलले भने।

गोरखाको धार्चे र चुमनुब्री जस्ता दुर्गम गाउँपालिका भित्रका विद्यालयलाई सिकाई बाकस आवश्यक रहेको शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख सुवास आचार्यले बताए। ‘पालिका भर माविको दरबन्दी नभएका विद्यालय पनि यहाँ छन्, त्यस्ता विद्यालयमा यो अझै प्रभावकारी हुने देखियो’ उनले भने। सरकारी विद्यालयमा लगानी र प्रविधि बढे पनि गुणस्तर नबढेको भन्ने आरोप सधैँ लाग्ने भएकाले ईलिर्निङका माध्यमले गुणस्तर बढाउन सकिने उनले बताए।  

गोरखाको ज्ञानज्योती मावि, चर्तुमाला मावि, जनता मावि, अमर ज्योति मावि, जिवनज्योती मावि, अकला मावि, सरस्वती मावि, मण्डली मावि, परोपकार मावि, महेन्द्रलिला मावि, जनज्योती माविलाई सिकाई बाकस प्रदान गरिएको छ। लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, पर्वत लगायत जिल्लाका ३५ विद्यालयलाई यो बाकस दिइएको हो। त्यहाँ हुने सिकाईको गुणस्तर र प्रयोगको अवस्थालाई मापन गरेर थप बिस्तार गर्ने योजना रहेको शैक्षिक स्रोत बिकास केन्द्रका अध्यक्ष थितिजराज प्रसाईँले बताए।  

करिब १५ वर्षअघि गोरखामा तुईन बनाउन आएका अमेरिकी नागरिक डेबिड र स्कीपले विद्यार्थीहरू किताब बिना विद्यालय गएको देखेपछि उनीहरुले दुर्गमका विद्यार्थीलाई पुस्तक बिना पढाउन कसरी सकिन्छ भन्ने बारेमा अध्ययन गरेका थिए। उक्त अध्ययनबाट ‘सिकाई बाकस’ तयार भएको थियो।  

प्रकाशित: २१ माघ २०७९ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App