१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

समताका विद्यार्थीलाई मातृसेवा प्रतिष्ठानको छात्रवृत्ति

पोखरामा शनिबार छात्रवृत्ति वितरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी। तस्बिरः नागरिक

मातृसेवा प्रतिष्ठान नेपालले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार आयोजित कार्यक्रममा २ सय ९ जना विद्यार्थीलाई कुल १२ लाख २१ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरियो।

कुनैपनि दाताको सहयोगबिनै प्रतिष्ठानले प्राविधिक विषय अध्ययनका लागि निरन्तर छात्रवृत्ति वितरण गर्दै आएकोमा यसपालि समता शिक्षा निकेतनका १ सय ९२ र आनन्दज्योति माविमा जेटिए अध्ययनरत ११ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको पूर्व मन्त्री एवं प्रतिष्ठानका संस्थापक अध्यक्ष हरि पाण्डेले जानकारी दिए। उनका अनुसार प्रतिष्ठानले यसअघि विभिन्न नाममा देशभरका गरी ६ सय २५ जना विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्ति वितरण गरिसकेको छ।

समता शिक्षा निकेतन मासिक एकसय रुपैयाँमा अध्यापन हुने विद्यालय हो। पोखराको यो विद्यालयमा एकदेखि १० कक्षासम्म अध्यापन हुन्छ। एकहजार भन्दा बढी विद्यार्थी विद्यालयमा अध्ययनरत छन्। यसपालि समताका शिक्षा निकेतनको पोखरास्थित विद्यार्थीका लागि प्रतिविद्यार्थी ४ हजार रुपैयाँ र व्यवस्थापन खर्च १५ सय गरी कुल ५ हजार ५ सय रुपैयाँ र आनन्दज्योतिका प्रतिविद्यार्थीले १५ हजार रुपैयाँ प्राप्त गरेका समाजका पूर्व अध्यक्ष कुलप्रसाद घिमिरेले बताए।

छात्रवृत्ति रकम वितरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शिक्षा र स्वास्थ्य निशुल्क गर्ने राज्यको नीति नै भएकोले गण्डकी प्रदेश सरकारले पनि यस अभियालाई अघि बढाउन सहयोग गर्ने बताए। उनले सधैंभर माता, पिता र गुरुको सम्मान गर्नुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज्य मुल्मीले शिक्षा क्षेत्रमा पर्याप्त समस्या रहेको बताए। छात्रवृत्ति रकमले विद्यार्थीलाई सहयोग पुग्ने समता स्कुलका प्रिन्सिपल झलकप्रसाद पौडेलले बताए। कार्यक्रममा समता स्कुलका संस्थापक उत्तम सञ्जेल पनि सहभागि थिए।  

प्रतिष्ठानका संस्थापक अध्यक्ष समाजसेवी हरि पाण्डेले छात्रवृत्तिको सदुपयोग गरी स्वास्थ्य, विचार र सम्पत्तिलाई जोड दिंदै राष्ट्रको लागि योग्य नागरिक बन्न विद्यार्थीलाई सुझाए। २०३५ सालमा पहिलोपल्ट पोखरा प्रवेश गरेको स्मरण गर्दै उनले आफू अहिलेको अवस्थामा आइपुग्न कही न कही समाजको भूमिका रहेको भन्दै छात्रवृत्ति वितरण अभियानलाई निरन्तरता दिएको बताए। जन्मभूमि पाल्पामा पनि उनले यसअघि १ सय ४ विद्यार्थीलाई ‘रम्भादेवी छात्रवृत्ति’ प्रदान गरेका थिए।  

प्रकाशित: ७ माघ २०७९ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App