अचेल जीवनशैली परिवर्तन हुँदा धैरै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ। जीवनशैलीकै कारण सर्नेभन्दा नसर्ने रोग व्यापक भइरहेका छन्। जतिबेला पनि खानेकुरा उपलब्ध हुने भएकाले अचेल मानिसमा समस्या बढ्दो छ। खान नपाउँदा एक किसिमको समस्या थियो भने सजिलै यसको उपलब्धताले विविध रोगको समस्या देखिन थालेको छ। त्यही भएर कति खाने, कतिबेला खाने, के खाने जस्ता विषयमा पनि मानिसको उत्तिकै ध्यान जान थालेको छ। विशेषगरी मधुमेह, रक्तचाप आदि रोगका कारण युवावस्थामै पीडित हुनुपर्ने अवस्था देखिन थालेको छ। विश्वभरि मधुमेह रोगबारे सचेत बनाउन सोमबार दिवससमेत मनाइएको छ। विश्व मधुमेह दिवस मनाउनुको उद्देश्य यसबारे चेतना फैलाउनका निम्ति हो।
स्वस्थ जीवन बाँच्नु र नबाँच्नुले निकै फरक पार्छ। सकेसम्म रोग लाग्न नदिने उद्देश्य राख्नुपर्छ। लागिहाल्यो भने पनि त्यसमा यथोचित रोकथाम गरेर जीवनलाई सक्रिय तुल्याउन सक्नुपर्छ। फेरि एउटा रोग लागिसकेपछि त्यसले अन्य समस्यातर्फ क्रमशः शरीरलाई उन्मुख गराउँछ। मधुमेह भएपछि आँखाको समस्या हुन थाल्छ। विशेषज्ञहरूका अनुसार मधुमेह लागेका ३५ प्रतिशत बिरामीमा आँखाको समस्या हुने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ। विश्वभरि ५३ करोडभन्दा बढी मानिसलाई मधुमेह भइसकेको छ। यो समस्या अबका १० देखि १५ वर्षमा अरू भयावह हुन सक्ने चेतावनीसमेत विशेषज्ञहरूले दिएका छन्। युवा उमेरमै यसले आक्रमण गर्ने प्रवृत्तिको विकास भइरहेको छ।
यो प्रक्षेपणका आधारमा पनि आगामी दिनमा मधुमेह रोकथामका निम्ति सरकारको ध्यानाकर्षण हुन आवश्यक छ। अहिले युवा उमेरमै मधुमेहको संक्रमण हुनु आफैंमा चिन्ताको विषय हो। त्यसैले यसबाट जोगिन बेलैमा सचेत हुन जरुरी छ। जीवनशैली परिवर्तन गर्ने हो भने यसले आक्रमण गर्न सक्दैन। त्यसैले दैनिक तोकिएको मात्रामा शारीरिक श्रम गर्न छाड्नु हुँदैन। विशेषगरी पत्रु खाना (जंक फुड) ले सर्वसाधारणको स्वास्थ्य बिगारिरहेको अवस्था छ। अतिरिक्त प्रशोधित खानाको ठाउँमा आफ्नै घरमा बनाएको सामान्य खानाले मानिसको स्वास्थ्य राम्रो हुन्छ भन्ने अध्ययन/अनुसन्धानले देखाइसकेको छ। सागपात, फलफूल, तरकारी, माछा/मासु, अन्डा, दाल, भात, रोटी वा अन्य यस्तै खाना राम्ररी खाने र यथेष्ट शारीरिक श्रम गर्ने हो भने मधुमेहको संक्रमण हुन सक्दैन।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०१० मै अघि सारेको स्वस्थ जीवनशैलीका उपाय अपनाउनु उचित हुन्छ। सकेसम्म वनस्पतिजन्य खाना खान, रोटी, अन्न, पास्ता वा आलु खान, विभिन्न तरकारी र फलफूल प्रतिदिन ४ सय ग्रामसम्म खान, शरीरको तौल ठीक अवस्थामा राख्न, बढी नमोटाउन, चिनीजन्य पदार्थ नखान, मदिराजन्य पदार्थ सेवन नगर्न आदि सुझाव दिएको छ। त्यसैगरी प्रौढका लागि प्रत्येक साता हल्का किसिमका शारीरिक गतिविधि १५० देखि ३०० मिनेटसम्म गर्नसमेत डब्लुएचओले सिफारिस गरेको छ। बालबालिका र किशोरका निम्ति प्रतिदिन ६० मिनेट हल्का शारीरिक अभ्यासका निम्ति सिफारिस गरिएको छ। प्रायः बालबालिका र किशोर दैनिकजसो सक्रिय हुन्छन्। प्रौढहरूमा भने विस्तारै शारीरिक अभ्यास घट्दै जान्छ। अझ कार्यालयमै बसेर धेरै काम गर्ने भएकाले शारीरिक अभ्यास कम हुन्छ। त्यसकारण पनि दैनिक शारीरिक अभ्यासका निम्ति समय छुट्ट्याउनु स्वास्थ्यका निम्ति उपयुक्त हुन्छ। त्यसैले ब्यायाम नगर्नुलाई धूमपान गर्नुभन्दा खतरनाक स्थितिका रूपमा चित्रण गरिन्छ।
नेपालमा ८ प्रतिशत मानिसमा मधुमेह समस्या देखिएको छ। त्यसमा पनि ३० वर्षभन्दा माथिका मानिसमा यो समस्या धेरै देखिएको छ। पहिला ५० वर्ष कटेकालाई मात्र मधुमेह हुन्छ भन्ने ठानिन्थ्यो। त्यसैले खानपिनमा ध्यान दिने, पत्रु खाना नखाने, बढी खाना नखाने र शारीरिक कसरत गर्ने गर्नाले मधुमेह मात्र होइन; रक्तचाप र अन्य समस्याबाट समेत जोगिन सकिन्छ। मधुमेहको परीक्षण प्रत्येक वर्ष गर्न पनि चिकित्सकहरूले सुझाव दिएका छन्। मधुमेह लागेको व्यक्तिमा तिर्खा लाग्ने, पिसाब धेरै लाग्ने, तौल कम हुने जस्ता समस्या हुन्छन्। त्यसैले आफ्नो शरीरमा कुनै त्यस्ता लक्षण देखिएको भए परीक्षण गरेर शंका निवारण गर्न सकिन्छ।
भौतिक उन्नति गर्दै जाँदा मानिसमा यस्ता अनेक समस्या देखिन थालेका छन्। विश्वभरि नै यस किसिमको अवस्था छ। हिजो हामीकहाँ कृषिमा आधारित समाज हुँदा शारीरिक श्रम हुन्थ्यो। आज क्रमशः मानिस सेवा–व्यवसायमा लागेका छन्। त्यसमा कम शारीरिक श्रम हुन्छ। खानाको नियमित उपलब्धताले खाइरहन प्रेरित पनि गर्छ। त्यसैले हाम्रो खानपिनदेखि दैनिक बानी र व्यवहारको पनि सुधार हुन आवश्यक भइसकेको छ। अघिल्लो पुस्ताका मानिसले कमै भोग्नुपरेको समस्या अहिले बढेको छ, तर त्यसको समाधान पनि नभएको होइन। हामीले त्यसमा ध्यान नपु¥याएको मात्र हो। विश्व स्वास्थ्य संगठनदेखि अन्य जिम्मेवार निकायले समेत यसबारे ध्यानाकर्षण गरिरहेका छन्।
यतिबेला मुलुक निर्वाचनमा व्यस्त छ। वास्तवमा स्वास्थ्य क्षेत्रलाई समेत सबैजसो दलले आफ्नो चुनावी अजेन्डा बनाएका छन्। यस्ता विषयलाई भोलि कार्यक्रम बनाएर सरकारमा हुँदा सञ्चालन पनि गर्नुपर्छ। राम्रो सरकार त्यही हो, जसले सर्वसाधारणलाई दैनिक मार्गदर्शन गर्न सक्छ। स्वस्थ जीवनयापनका निम्ति सरकारको मार्गदर्शन हुनै पर्छ। कतिपय सरकारले दैनिक कस्ता खाना खाने भनेर समेत सार्वजनिक सूचना जारी गर्ने गरेको देखिन्छ। कल्याणकारी राज्य भनेको त्यही हो; जसले आफ्ना नागरिकको स्वास्थ्यमा ध्यान दिन्छ। भोलिको नेपाल स्वस्थ नेपाल बनाउने हो भने यस्ता विषयमा ध्यान पु¥याउनुपर्छ। देशको विकास निर्माण मात्र होइन; बलिया र स्वस्थ नागरिक नै मुलुकका निम्ति सम्पत्ति हुन्। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले त्यसै भनेका होइनन्, ‘प्रजा मोटा भया दर्बार बलियो रहन्छ।’
प्रकाशित: २९ कार्तिक २०७९ ००:१५ मंगलबार