१७ माघ २०७९ मंगलबार
सम्पादकीय

बिजुली बिक्री होइन खपत गरौं

मुलुकको समृद्धिका निम्ति छिमेकी भारतलाई बिजुली बिक्री गर्नुपर्छ भन्ने दह्रो मान्यता रहँदै आएको छ। नीति निर्मातादेखि उच्च सरकारी नेतृत्वसम्मले यसलाई प्राथमिकतामा राखेको देखिन्छ। नेपालमा जलविद्युत् उत्पादन गरेर भारतलाई सजिलै बेच्न पाउने हो भने देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने धारणा यहाँ धेरैको छ। बिजुली भनेको कच्चा पदार्थ मात्र हो, त्यसलाई प्रयोग गरी मूल्य अभिवृद्धि गर्ने हो भने झन् बढ्ता आम्दानी गर्न सकिन्छ भन्ने विज्ञहरूले बोलेको राम्ररी सुनिएको छैन। त्यसैले बिजुली बेच्ने र धनी हुने सपनाले हामीलाई राम्रैसँग प्रभाव पारेको छ। भुटानले भारतलाई बिजुली बेचेर लिएको फाइदा देखेर हामी दंग परेका छौं तर यथार्थमा बिजुली बेचेर हाम्रो जस्तो मुलुक र मुलुकवासीलाई धनी बनाउन सकिने नसकिने अझै खुल्न सकेको छैन।

पछिल्ला वर्षहरूमा हामीलाई बढी भएको बिजुली बिक्री गरेर धनी हुने हुटहुटी छ। बिजुली बिक्री गर्ने सबैभन्दा नजिकको बजार भारत हो। भारतमा विद्युतीय ऊर्जाको माग ठूलो छ। तैपनि ऊ आफूलाई चहिए जति बिजुली नेपालबाट किन्न चाहँदैन। नेपाललाई बिजुली चाहियो भने भारत जति पनि दिन तयार हुन्छ। नेपालले भारतलाई चाहेर पनि धेरै बिजुली बेच्न सक्दैन। नेपालमा बर्खायाममा स्वदेशी माग भन्दा बढी बिजुली उत्पादन हुन्छ। त्यसलाई बिक्री गर्न नेपालले भारतसँग प्रस्ताव गरे पनि जवाफ आलटालमा सीमित छ। केही लाख युनिट बिजुली भारतले खरिद गर्दा पनि हामी खुसी हुनुपर्ने अवस्था छ।

नेपालले गत जेठदेखि निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरण मातहतका १३ आयोजनाबाट उत्पादित ७ सय ८६ मेगावाट बिजुली किन्न भारतसँग आग्रह गर्दै आएको छ। पाँचपटक यस्तो आग्रह गरे पनि भारतले टेरपुच्छर लगाएको छैन। लगाओस् पनि किन? नेपालसँग सजिलै बिजुली खरिद गरे भारतले नेपालबाट चाहेको कुरा प्राप्त गर्न सक्दैन। नेपालको जलस्रोतमा भारतको रणनीति आफ्नै हितअनुकुल मात्र छ। सिञ्चाइ होस् वा ऊर्जा जुन माध्यमबाट भए पनि नेपालको जलस्रोत भारत आफू अनुकूल प्रयोग गर्न चाहन्छ।

नेपालले भने सबै क्षेत्रमा भारतसँगको निर्भरतालाई स्वीकार गरेको छ। नेपालको कुल वैदेशिक व्यापारमा ७० प्रतिशतभन्दा धेरै हिस्सा भारतसँग छ। कुल व्यापार घाटाको अवस्था पनि यस्तै हो। भारतसँगको व्यापार घाटा कम गर्न नेपालले बिजुली निर्यातलाई प्रयोग गर्न सक्ने अवस्था बनेको छ। पछिल्ला वर्षहरूमा वर्षात्का बेला नेपालसँग निर्यात गर्ने पर्याप्त बिजुली छ तर आवश्यक हुँदाहुँदै पनि भारत बिजुली किनेर नेपाललाई सहयोग गरिहाल्दैन। यसैले बिजुली बेचेर धनी हुने भन्ने अहिलेको अवधारणामै परिवर्तन गर्नु आवश्यक भइसकेको छ।

सरकारको अबको रणनीति बिजुली निर्यात होइन, स्वदेशमै खपत बनाउने हुनुपर्छ। स्वदेशमा बिजुली खपत गर्ने नेपालीलाई सरकारले प्रोत्साहित गर्न सकेको छैन। भनिन्छ, एक युनिट बिजुली खपत हुँदा ८६ अमेरिकी सेन्ट (सय सेन्ट बराबर एक डलर) बराबर मूल्यअभिवृद्धि हुन्छ। सरकारले बिजुली प्रयोग गर्ने उद्योगधन्दालाई सस्तो दरमा दिएको छैन। सस्तोमा बिजुली दिन सके स्वदेशमै खपत हुने अवस्था छ। आन्तरिक उत्पादकत्व बढाउनेतर्फ सरकारको ध्यान गएको छैन। आफ्ना उपभोक्तालाई विद्युत् प्राधिकरणले करसहित सरदर ९ रुपियाँ ५० पैसा प्रतियुनिटमा बिजुली बिक्री गर्छ। भारतलाई त्यही बिजुली प्रतियुनिट ७ रुपियाँ ९१ पैसामा बेच्ने गरिएको छ। स्वदेशी ग्राहकलाई सस्तोमा बिजुली दिने हो भने उपभोग स्वतः बढ्ने छ।

हामी कहाँ बिजुली खपत बढाउन सक्ने अरू पनि क्षेत्र छन्। राति बिजुली कम खपत हुन्छ भने मूल्य घटाएर यसको उपभोग बढाउन सकिन्छ। यस्तै राति उद्योगधन्दा चलाएर पनि यसको खपत बढाउन नसकिने होइन। हाम्रै मुलुकमा रहेका उद्योगलाई समेत माग अनुसार बिजुली दिन सकिएको छैन। सिमेन्ट उद्योगहरूले माग गरेअनुसारको बिजुली दिन नसकेको उदाहरण सबैभन्दा जल्दोबल्दो छ। एक अनुमानअनुसार तराईमा सिँचाइका निम्ति डिजेलबाट ७ सय मेगावाट बराबरको विद्युत् प्रयोग हुन्छ। डिजेलको सट्टा बिजुलीबाट पम्पिङसेट चलाउने हो भने एकातिर बिजुलीको खपत बढ्छ अर्कोतिर कृषि उपज बढाउन सकिन्छ। यसका साथै पेट्रोलियम पदार्थ आयात गर्दा विदेशी मुद्रा खर्च गर्नुपर्ने बाध्यता समेत रहँदैन। यस्ता नीतिले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ।

अहिले हाम्रो मुलुकको समृद्धिको सपनाले बाटो समातेको छैन। जलस्रोतदेखि मानवस्रोतसम्म निकासी गरेर धनी हुन खोज्नु भनेकै अहिलेका लागि कतै मिल्दो पक्ष होइन। मुलुकका जल्दाबल्दा युवा जति विदेशी भूमिमा पाखुरी बजार्छन्। हाम्रा खेतबारी भने बाँझै छन्। हिजोको जस्तो कृषि उपज पनि आज हुन छाडेको छ। यो सबै आयातबाटै काम चलाउने गरिएको छ। हाम्रै खेतीपातीलाई मात्र पनि ऊर्जा स्रोत खर्च गरेर आम्दानी बढाउन सकिन्छ। यस्तो आम्दानीले एकातिर हाम्रो आयात प्रतिस्थापन हुन्छ भने अर्कोतिर यहीं उद्यमशीलताको विकास हुन्छ। उद्यमशीलतामा ध्यान नदिने हो भने अहिले भएको बिजुली र कच्चा पदार्थ विदेशीलाई बेचेर हामीले धनी हुने दीवास्वप्न देख्नुको विकल्प हुने छैन।

खासमा हाम्रोजस्तो मुलुकले गर्नुपर्ने भनेकै ससाना उद्योग र उद्यमशीलतामा ध्यान दिने हो। त्यसो गर्‍यो भने हामीसँग भएको बिजुली खपत आफैं हुन्छ। बिजुलीको लाइन भएका सर्वसाधारणले समेत बाल्न नसक्ने गरी यसलाई महँगो बनाइएको छ। यसलाई सर्वसुलभ बनाउने र खपत बढाउने उपाय गर्ने हो भने निर्यातका लागि भारतको मुख ताक्नुपर्ने अवस्था रहँदैन। पछिल्ला वर्षहरूमा विश्वभर नै विद्युतीय सवारी साधनको उपयोग विस्तारको बाढी चलेको छ। हामीकहाँ पनि यसको प्रयोग बढाउने हो भने विद्युत् खपतमा सहयोग पुग्नेछ। भारतमै पनि सरकारले सर्वसाधारणलाई सस्तोमा बिजुली बेच्छ। हामीले पनि त्यसो गरे हुँदैन?

बिजुली बेच्ने भन्ने सोच नै बदल्नु अहिले आवश्यक भएको छ। भारतले नेपालबाट कृषिजन्य वस्तु लैजाने बेलामै अनेकन बहाना बनाउँछ भने बिजुली किन्देला भनेर धेरै आशा गर्नु उचित हुँदैन। हामी आफैंले यसको उपयोग गर्न थाल्यौं र वस्तु वा सेवामा मूल्य अभिवृद्धि गर्न थाल्यौं भने मात्र उनीहरूले पनि पत्याउने अवस्था हुन्छ। अन्यथा सोम शर्माको सातुको कथा दोहोर्‍याउनेबाहेक अन्य उपाय हुने छैन।

प्रकाशित: २८ आश्विन २०७९ ०६:१७ शुक्रबार

Download Nagarik App
Download Nagarik App