चाडवाड भनेको समृद्ध समय हो। आर्थिक समृद्धि हुने हो भने बाह्रै महिना बाह्रै काल चाडवाडमय हुन्छन्। यसकारण पनि चाडवाडको समयमा समृद्धिलाई प्राथमिकतामा राखिन्छ। व्यक्ति हुँदै देशसम्मको समृद्धि प्राप्त होस् भन्ने अपेक्षा राखिन्छ। विशेषगरी दसैँ, तिहार, म्हपुजा हुँदै छठसम्म पुग्दा देशमा समृद्धिकै चर्चा हुन्छ। समृद्धिकै पूजा हुन्छ। चाडवाडमा सुखको कामना हुन्छ। सुखलाई जतिसुकै आत्मिक भनेर व्याख्या गरे पनि भौतिक उपलब्धिले मात्र त्यसलाई यथार्थ बनाउँछ। त्यसैले आर्थिक समृद्धिसँग सबै सुख जोडिएका हुन्छन्। अत्यावश्यक वस्तु र सेवा उपलब्ध नभई कसैले पनि आफूलाई सुखमा रहेको अनुभूति गर्न सक्दैन। त्यो सान्त्वना क्षणिक मात्र हो।
त्यसकारण पनि समृद्धिका निम्ति आमअपेक्षा हुने गरेको हो। मुलुकका निम्ति अत्यावश्यक वस्तु र सेवा उत्पादन नभई त्यो प्राप्त हुन सक्दैन। गरिबी पुज्ने मुलुकले आफूलाई अगाडि लैजान सक्दैन। पौरखी पाखुरामा मात्र समृद्धिको लंका लुकेको हुन्छ। र, पौरख व्यक्ति-व्यक्ति हुँदै मुलुकसम्मले गर्नुपर्छ। समग्र मुलुकको समृद्धिबाट मात्र सबै नागरिकको इज्जत हुन्छ। आज देशको राहदानीको इज्जत छैन। नेपालको राहदानी उत्तर कोरियासँगै प्रतिस्पर्धारत छ। देशको राहदानी बलियो बनाउन आर्थिक समृद्धि अपरिहार्य हुन्छ। त्यसले मात्र देशको इज्जत बढाउँछ। बालुवाले घेरिएको सिंगापुर आज जुन अवस्थामा छ, त्यसको कारण अरू केही होइन, देशको हैसियत बढाउने समृद्धि नै हो।
हामीचाहिँ हिजोभन्दा आज कमजोर भएका छौँ। हिजो हामी धानचामल निर्यात गर्थ्यौं, आज आयात गर्दैछौँ। ऊर्बर फाँट भएर पनि सुख्खा राखेका छौँ। अनि कपाल दुखाउने अरबमा पुगेर रोजगारी खोजिरहेका छौँ। आफ्ना करेसाबारी बाँझा छाडेका छौँ। आफ्नै बारीका फलफूल र तरकारीभन्दा आयातित खाद्यवस्तुमा हामीलाई रुचि छ। यस्तो स्थितिमा देशको अर्थतन्त्र झन्झन् परावलम्बी हुँदैछ। व्यापार घाटा बढ्दो छ। महँगो डलर खर्च गरेर हामीले आफ्नै खेतबारीमा उत्पादन हुने वस्तु किनिरहेका छौँ। अझ यस्तो स्थितिमा पनि प्रगति गर्न नसकेको भनेर चिन्ता गरिरहेका छौँ। प्रकृतिले भाग्य दिए पनि आफ्नै कर्मले ठेलेका कारण हामी पछाडि परिरहेका छौँ।
नेपालले निर्यात बढाएर आम्दानी गर्न सक्ने क्षमता भएर पनि त्यसको पूर्ण उपयोग गर्न हामी पछि परेका छौँ। हाम्रो मुलुकले हालभन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावना रहेको जानकारी हालै विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले दिइसकेका छन्। यो भनेको हनुमानजीलाई आफ्नै क्षमताबारे जानकारी दिएजस्तो हो। हामीलाई हाम्रो क्षमताबारे विशेषज्ञहरूले जानकारी दिइरहे पनि हामी आफैँले भने त्यो सम्भवनाबाट फाइदा लिने गरी काम गर्न सकेका छैनौँ। भरेलाका अनुसार नेपालले हाल भइरहेको २ खर्ब रुपियाँभन्दा आठ गुणा बढी अर्थात् करिब १० खर्ब रुपियाँ बराबर निर्यात गर्ने क्षमता राख्छ।
वास्तवमा यस्तो क्षमता जति उपयोग गर्दै गयो, त्यति बढ्दै जान्छ। कुनै बेला १६ घन्टासम्म लोडसेडिङमा बसेको नेपालले अहिले बिजुली निर्यात गर्न थालेको छ। यो क्षमतामा अरू विस्तार हुँदै जान सक्ने देखिएको छ। यही अवस्था नेपालले निर्यातका क्षेत्रलाई विस्तार गर्दै गएमा बढ्दै जान्छ। नेपालले बर्सेनि व्यापार घाटा बढाउँदै जानुभन्दा यसलाई घटाउने उपाय खोज्नुपर्ने हो। त्यसका निम्ति विश्व बैंक वा यस्तै बहुआयामिक साझेदार संस्थाले नेपाललाई बाटो पनि देखाइरहेका छन्। यसरी देखाइदिएको बाटो पछ्याउने हो भने स्वाभाविक रूपमा परिवर्तन सम्भव छ। नेपालसहितका ५० मुलुकलाई समावेश गरी निर्यात सम्भावनासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो। हामीजस्तै सम्भावना भएका कैयन् मुलुकले त्यो सम्भावनालाई उपयोग गरी फाइदा उठाइरहे पनि नेपालले त्यतातिर ध्यान दिन सकेको छैन।
नेपाल विश्व व्यापार संगठन (डब्ल्युटिओ) को सदस्य बनेकै दिन अति कम विकसित मुलुक कम्बोडिया, लाओसजस्ता देश पनि सरिक भएका थिए। आज यी मुलुकले जति निर्यात बढाएर फाइदा गरेका छन्, त्यति नेपालले गर्न सकेको छैन। आखिर हामीले यसरी रोकिनुपर्ने आवश्यकता छैन। विश्व बजारले नेपाललाई नचिनेको होइन। अझ नेपालले आफ्नो बजार विस्तारका निम्ति प्रभाव विस्तार गर्न सक्ने सम्भावना ठूलो छ। नेपालसँगको लामो सम्बन्धका हिसाबले पनि युरोपेली र पश्चिमा अन्य मुलुकले समेत सजिलै नेपाली वस्तुलाई बजार पहुँच दिन सक्छन्।
नेपालले बेलाबेलामा आफ्नै बजार पहुँच गुमाउँदै गएको छ। आफूले निर्यात गरिरहेको गलैँचा र पस्मिनाको बजार अरूले ध्वस्त गर्दा पनि नेपालले केही गर्न सकेन। अहिले चियाको बजार सिध्याउन खोजिँदैछ। नेपालले अहिलेसम्म निर्यात गर्दै आएका वस्तुलाई विस्तार गर्दै समृद्धि यात्रामा बढ्ने रणनीति बनाउनै सकेको छैन। नेपालले क्रमशः आफ्ना कृषिजन्य वस्तु मात्र होइन, अन्य तर्फ पनि ध्यान बढाउन सक्छ। देशमै सस्तो र सक्रिय जनशक्ति भएका कारण यसलाई उपयोग गरी निर्यात विविधीकरण गर्न सम्भव छ। कम्बोडिया, लाओसजस्ता मुलुकले गर्न सकेको काम हामी किन सक्दैनौँ ? यसका निम्ति इच्छाशक्ति आवश्यक हुन्छ। राष्ट्रिय संकल्प हुने हो भने देशले अपेक्षा गरेका सफलता हासिल गर्न कति समय लाग्छ र?
देशमा व्यापार प्रवर्द्धनको वातावरण आवश्यक छ। सरकारले वातावरण बनाउने हो भने यो सम्भव छ। अहिलेजस्तो न्यून परिणाम र सीमित वस्तुको निर्यातमै रमाएर बस्ने भन्दा पनि योजनाबद्ध तयारी आवश्यक हुन्छ। वैदेशिक लगानी आकर्षित गर्दै यहीँ उद्योग स्थापना गरी अगाडि बढ्न सकिन्छ। नेपालले केही वर्षयता पानी र तरकारी निर्यात गर्न थालेको छ। सरकारले रणनीति बनाउँदै निर्यात व्यापारलाई प्रोत्साहन गर्ने हो भने समृद्धि सम्भव छ। चाडवाडको यो समयले मुलुकको निर्यात व्यापार बढाएर समृद्धि यात्रामा फड्को मार्ने सद्बुद्धि प्रदान गरोस्।
प्रकाशित: १६ आश्विन २०७९ ००:१५ आइतबार