७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

सुर्तीविरुद्ध सक्रियता

केही दशकअघिसम्म सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवनलाई शानका रूपमा लिइन्थ्यो। त्यो बेला नेता हुन् वा अभिनेता सार्वजनिक स्थानमा चुरोट पिएको देखिन्थ्यो। मन्त्रिपरिषद् बैठकदेखि आमसभासम्म चुरोट हातमा लिएर ठाँटका साथ नेताहरू रहन्थे। पुराना सिनेमामा चुरोट, सिगार वा यस्तै महँगा सुर्तीजन्य वस्तु उपभोग गरेका दृश्य सजिलै राखिन्थ्यो। त्यसमा सर्वसाधारणका निम्ति सावधानीको जानकारीसमेत हुँदैनथ्यो। समय फेरिएको छ अहिले।

विस्तारै यसले सिर्जना गर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर सार्वजनिक स्थानमा उपभोग गर्न नपाइने भएको छ। त्यति मात्र होइन, यसरी चुरोट पिउने व्यक्तिका निम्ति तोकिएको सीमित ठाउँ मात्र हुन्छ। त्यहीँ बसेर तिनले सुर्तीजन्य पदार्थ सेवन गर्नुपर्ने हुन्छ।  

चुरोट, खैनी, गुटखा वा यस्तै अन्य वस्तु उपभोग नगर्नेका निम्ति अहिलेको समय निकै सहज छ। जसले प्रयोग गर्छन्, तिनले भने धेरै मानिसलाई समस्यामा पारिरहेका हुन्छन्। सडकमै पनि कसैले चुरोट खाँदै हिँडेको छ भने वरिपरि हुने व्यक्तिलाई समस्या हुन्छ। यी मानिसले सिधै केही भन्न नसके पनि मनमनै गाली गरिरहेका हुन्छन्।

कैयन् व्यक्ति यसबाट दिक्क हुन्छन्। त्यसैले सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थको उपभोगमा रोक लगाउने सरकारको निर्णयप्रति आमनागरिकलाई सधैँ खुसी लाग्छ। काठमाडौँ महानगरपालिकाले असोज १ देखि सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा उपभोग गर्न रोक लगाएर आमनागरिकको मन जित्ने काम गरेको छ। हेर्दा सामान्य लागे पनि जनस्वास्थ्यमा यसको गम्भीर असर हुन्छ।  

समाजमा यस्ता कैयन् काम भइरहेका हुन्छन्, जसलाई व्यक्तिले नियन्त्रण गर्न सक्दैन। सुर्तीजन्य पदार्थ उपभोग गर्ने केही व्यक्तिलाई यसबाट टाढै रहन चाहनेहरूले तह लगाउन सक्दैनन्। उपभोग गर्नेहरूलाई आफ्नै सम्पत्ति खाएको हो, अरूलाई किन टाउको दुख्नुपर्ने हो भन्ने लाग्न सक्छ। तैपनि यस्तो अवस्थामा सरकारी स्तरबाटै सक्रियता हुने हो भने सर्वसाधारणलाई सहज हुन्छ। सुर्तीजन्य पदार्थबाट हाम्रो समाजका धेरै क्षेत्रमा क्षति पुगेको छ।

स्वास्थ्य क्षेत्रमा आमनागरिकलाई समस्या परेकै छ। यसबाट उत्पन्न हुने स्वास्थ्य समस्या समाधानका निम्ति राज्यले ठूलो रकम बर्सेनि खर्च गर्नुपर्छ। सरसफाइ र वातावरणीय हिसाबले पनि यसमा समस्या छ। सुर्तीजन्य पदार्थ खाने व्यक्तिहरूले जथाभावी फोहोर गरेको देखिन्छ। राम्रा भवनका कुनामा बसेर तिनले सुर्तीजन्य वस्तु सेवन मात्र गर्दैनन्, जथाभावी थुक्ने र ठुटा फ्याँक्ने काम पनि गर्छन्।  

आजका मानिस धेरै हिसाबले जानकार छन्। सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य समस्याबारे अनेकन अध्ययन तथा अनुसन्धान भएका छन्। यसले पनि सुर्तीजन्य पदार्थबाट आफूलाई टाढा राख्न मद्दत गरेको छ। सरकारले पनि यसको प्रयोग घटाउन प्रयास गर्छ। संसद्ले कानुन पनि बनाएको छ। नेपालमा अझ जनमानसलाई सजग तुल्याउन सुर्तीजन्य उत्पादनको बट्टामा तस्बिर राख्ने र सजग गराउने काम पनि गरेको छ।

मुलुकको कानुनले पनि यसमा रोक लगाउन भूमिका खेलेको छ। तैपनि कतिपय अवस्थामा भएका कानुनको प्रयोग प्रभावकारी छैन। कानुन बनाएर मात्र पुग्दैन। त्यसको कार्यान्वयन पनि हुनु आवश्यक छ। त्यसो भयो भने कानुन बनाउनुको उद्देश्य पूरा हुन्छ। यसबाट सर्वसाधारणको जीवन पनि जोगिन्छ।  

ढिलै होस्, काठमाडौँ महानगरपालिकाले यसको थालनी गरेर सकारात्मक सन्देश दिएको छ। महानगरले सूचना जारी गर्दै भनेको छ– ‘असोज १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ।’ सार्वजनिक स्थलमा धूमपान गरे सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतको आधारमा कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवाना गर्ने जानकारी महानगरपालिकाले दिइसकेको छ।

मुलुकमा कानुन बनेको ११ वर्षपछि यसको कार्यान्वयनमा स्थानीय सरकारको ध्यान गएको छ। यो अभियान काठमाडौँमा मात्र सीमित भएर पुग्दैन। देशैभरिका स्थानीय सरकारले यसलाई आफ्नो अभियानका रूपमा अगाडि बढाउनु आवश्यक छ।  

कतिपय रेस्टुरेन्ट र होटलमा समेत सुर्तीजन्य पदार्थ सेवन गर्न पाइन्छ। सिसा भनेर खान पाइने सुर्तीजन्य पदार्थको सेवनमा महानगरपालिकाले कसरी भूमिका खेल्ला ? यस्ता कानुनको कार्यान्वयन त्यतिबेला मात्र हुन्छ जतिबेला अनुगमन प्रभावकारी हुन्छ।

महानगरपालिकाले यसको प्रभावकारी अनुगमन गर्न सक्नुपर्छ। सिंगापुरले चुइगम खान प्रतिबन्ध लगाएको छ। मुलुकको राम्रो रेल्वेमा चुइगम खाएर झ्यालमा टाँस्न थालेपछि कानुन बनाउन बाध्य भएको हो। हामीकहाँ गुटखा र यस्तै पदार्थले जथाभावी फोहर भएको छ। प्लास्टिकका स–साना पाउच यत्रतत्र छरिएका छन्। सार्वजनिक सवारी चालक र सहयोगीले समेत खाएर सजिलै सडकमा फ्याँक्ने गरेको देखिन्छ। भारतमा पनि यसको व्यापक प्रयोग भएपछि अहिले रोक लगाउन थालिएको छ। देशलाई सुग्घर बनाउने र व्यक्तिको स्वास्थ्यमा सुधार गर्ने काममा यसले मद्दत गर्न सक्छ। यसले उपभोग नगर्नेलाई सबैभन्दा बढी आनन्द दिन्छ।

यति कडाइ भएमा नयाँ प्रयोगकर्ता पनि कम हुन्छन्। अचेल युवाहरूमा झन् धेरै सुर्तीजन्य वस्तुको प्रयोग बढेको छ। यो देखासिकी रोक्न पनि सार्वजनिक स्थानमा सुर्तीजन्य वस्तुको प्रयोगमा रोक लगाउन स्थानीय सरकारको कडा भूमिका हुनु आवश्यक छ। सुर्तीविरुद्धको सक्रियताको सफलताको कामना।

प्रकाशित: ३१ भाद्र २०७९ ००:४४ शुक्रबार

Download Nagarik App
Download Nagarik App