सत्तारुढ नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणको अर्थ खोज्ने प्रयास भइरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानछाओको भर्खरै सम्पन्न नेपाल भ्रमणलगत्तै तय भएको उनको तीनदिने दिल्ली दौड देश र उनी आफ्नै निम्ति कति फलदायी रह्यो भन्ने चर्चा हुुनु स्वाभाविक हो। संघीय र प्रदेश निर्वाचन घोषणा गर्नुअघि उनले गरेको दिल्ली यात्रामा सत्ता बाँडफाँटको व्यापार कति जोडिएको छ? विस्तारै खुल्दै जानेछ। प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासमेत भारतमै रहेका बेला दाहाल दिल्ली पुगेका हुन्। त्यो संयोग मात्र हो वा सत्ता गठबन्धनका प्रमुख दुई पक्षलाई सँगै राखेर केही सन्देश दिन खोजिएको हो? प्रमुख दलका नेताहरूका गतिविधि र अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धीको पारदर्शिताको अभावमा आशंकाको खेती हुनु स्वाभाविक हुन्छ।
एक वर्षदेखि सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र त्यसको प्रमुख घटक माओवादी केन्द्रबीचको आगामी लेनदेनको चर्चा भइरहेको छ। भ्रमणलगत्तै दाहालले आलोपालो प्रधानमन्त्रीबारे एउटा विन्दुमा छलफल हुने संकेत गरिसकेका छन्। आगामी निर्वाचनपछि कांग्रेस र माओवादीबीच सत्ता सहभागितामा प्रमुख पदहरूको बाँडफाँट एउटा मुद्दाका रूपमा अवश्यै रहनेछ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख जस्ता पदको बाँडफाँट स्वाभाविक हो। आगामी सत्ता साझेदारीबारे सहमति भएको खण्डमा स्वाभाविकरूपमा यी प्रमुख दलबीच निर्वाचनमा समेत सहभागिता हुने देखिन्छ। यो भ्रमणले निर्वाचन अगावै वामपन्थी गठबन्धनको सम्भावनालाई टारेको छ।
अहिलेको सत्ता गठबन्धनप्रति छिमेकीहरूको चासो देखिएको छ। पछिल्लो चरणमा चीनबाट भइरहेका भ्रमण र अहिले भारतमा दाहाल र राणाको भ्रमणबीच एउटा साइनो अवश्य छ– त्यो हो दलबीचको भ्रमण आदानप्रदान। चीनबाट नेपालमा भएको भ्रमण पनि दलबीचको आदान–प्रदान हो। त्यसैगरी अहिले भारतमा भएको दाहालको भ्रमण पनि सत्तारुढ भारतीय जनता पार्टी अध्यक्ष जगतप्रसाद नड्डाको निमन्त्रणामा भएको हो। राणाको भारतीय यात्राका क्रममा उनले भाइ बनाएका भाजपा नेता विजय चौथाइवालेको भूमिकालाई पनि सम्झनामा लिने गरिएको छ। भारतसँगको सम्बन्धलाई वर्तमान सत्तारुढ दलले प्राथमिकतामा राखेर अगाडि बढिरहेको यी घटनाक्रमले देखाउँछ। यसपटक दाहालले भेटेका भारतीय नेता तथा उच्च सरकारी अधिकारीहरूमा भाजपा अध्यक्ष नड्डा, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेश सचिव विनयमोहन क्वात्रा, भाजपा विदेश विभाग प्रमुख चौथाइवाले छन्। दाहालको भ्रमणका क्रममा भाजपाबाहेक अन्य दलका नेता भेटको प्राथमिकतामा नपर्नुलाई कूटनीतिक चातुर्यका रूपमा कसरी लिने? जनआन्दोलन २०६२/६३ र त्योभन्दा अघि लोकतन्त्रका निम्ति सद्भाव राख्ने भारतीय दलहरूको भूमिका महत्वपूर्ण छ। तर, त्यो पक्षलाई दाहाल मात्र होइन यसअघि देउवाले भ्रमण गर्दा पनि वास्ता गरिएको छैन। नेपालका दलको सम्बन्ध सत्तारुढ भाजपासँग मात्र हो?
दाहालले अन्तिम अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न पाएनन्। उनको भारत भ्रमणका क्रममा मोदीसँग भेट हुने तय भए पनि अन्तिममा त्यो सम्भावना टरेको थियो। भेट रद्द हुँदा आफूलाई ‘टेन्सन’ नभएको दाहालले बताए पनि यथार्थमा यसलाई आफ्नो भ्रमणको उत्कर्ष बनाउने चाहना उनीमा रहेको यसअघिका प्रतिक्रियाले भलिभाँती जानकारी दिएको हो। दाहालजत्तिका नेता भारतमा जाँदा त्यहाँका प्रधानमन्त्रीले समय ननिकाल्नु भनेको सामान्य स्थिति होइन। त्यसो त उनले भारतमा आफ्नो निकै आतिथ्य भएको भनेर चर्चा गरेका छन्। अरू जतिसुकै आतिथ्य भए पनि प्रधानमन्त्रीले उनका निम्ति केही समय निकाल्न नसक्नु स्वाभाविक घटना होइन। यसबाट पनि भारतले आफूलाई कति महŒव दिएको छ भनेर निष्कर्ष निकाल्नु उचित हुन्छ। वास्तवमा उच्चस्तरको भेट जुट्दैन भने भ्रमणमा गइरहनु उचित हुँदैन। भेट नहुनेजस्तो देखिएमा तत्काल फर्केर आउन पनि सक्नुपर्छ तर दाहालबाट त्यो सम्भव हुँदैन किनभने उनलाई भूमिगत राजनीति गर्दा लामो समय त्यहीँ आश्रय प्राप्त भएको हो।
दुई देशका राजनीतिक दलका नेताबीच भेटघाट हुनुलाई अस्वाभाविक मान्न सकिँदैन। यो जनस्तरको सम्बन्धको सिलसिला पनि हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पालामा भारतीय खुफिया एजेन्सी ‘रअ्’ प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा मध्यरातमा भेट गरेका थिए। त्यो भेट किन र केका निम्ति थियो भन्ने अहिलेसम्म खुलेको छैन। यसरी एजेन्सीको तहमा भेटघाट गर्नुभन्दा दलका नेता वा उच्च सरकारी अधिकारीबीच भेटघाट हुने र आपसी समस्या समाधान गर्ने पक्षमा कुराकानी हुनुलाई अन्यथा मान्न सकिन्न। तर आन्तरिक राजनीतिमा आशीर्वादको खोजी हुनुलाई भने सहज ठान्न सकिँदैन। दाहाल आफैँले कुनैबेला भारतलगायत अन्य मुलुकलाई आफ्नो दलको सरकार ‘कम्फर्टेबल’ (सुविधाजनक) हुने भनी व्याख्या गरेका थिए। सरकारले सबैसँग मित्रवत् सम्बन्ध राख्दै देशकै निम्ति सुविधाजनक हुने कोसिस गर्नुपर्छ। कुनै देशविशेषका निम्ति सुविधाजनक हुने र नहुने भन्ने प्रश्न उठ्नु उचित होइन। देश सोच्ने र त्यसकै निम्ति काम गर्ने क्षमता प्रत्येक नेतामा हुनु आवश्यक छ।
सबै छिमेकी र मित्र मुलुकप्रति सद्भाव राख्न कसैले हिच्किचाउनु पर्दैन। तर त्यसका निम्ति आफूमा मुलुकप्रतिको जिम्मेवारीबोध बढ्ता हुनुपर्छ। बदलिँदो विश्व व्यवस्थामा घरेलु नीतिदेखि कूटनीतिसमेतमा सजग हुनुपर्ने अवस्था आइसकेको छ। यस्तो बेलामा कुनै खास नेता कुनै देशको नजिक र कोही अर्कोको टाढा हुनेजस्तो परिस्थिति सिर्जना गर्नु हुँदैन। सबै नेताको परराष्ट्र मामिलामा समान धारणा हुनु आवश्यक छ। त्यसो भयो भने कुनै पनि विदेशी शक्तिका निम्ति सुविधाजनक हुने र नहुने भन्ने चर्चा नै असान्दर्भिक हुन्छ। सबैले नेपाल पक्षीय नेता बनेर गतिविधि गर्न सक्दा नै अहिलेका चुनौती सामना गर्न सम्भव छ। कूटनीतिक अभ्यासमा देखिएको कमजोरीका कारण पटक–पटक मित्र मुलुकप्रति हामी संवेदनशील रहेको प्रतिक्रिया दिइरहनु परेको छ। यस्तो अवस्था आउनु आफैंमा चिन्ताको विषय हो।
प्रकाशित: ३ श्रावण २०७९ ००:१६ मंगलबार