२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

अब गरौं कामका कुरा

स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ। केही स्थानको गणना बाँकी भए पनि जित्ने उम्मेदवारको चित्र प्रष्ट छ। विजयको केही दिन माला, खादा र अबिरको वातावरण हुन सक्छ। त्यसलाई अन्यथा नमानौँ। तैपनि अब कामको बेला भइसकेको छ। निर्वाचनकै निम्ति भनेर झण्डै दुई महिनादेखि सिंगो मुलुक व्यस्त छ। अझ निर्वाचन वर्षको पछिल्लो छ महिना यसै बित्छ। कार्यकाल पूरा गरेर जाने बेला भइसकेका जनप्रतिनिधिको ध्यान कामप्रति कमै जान्छ। यसकारण पनि सुरुका चार वर्ष धमाधम काम गर्ने हो भने निर्वाचन हुने वर्षमा धेरै गाह्रो हुँदैन।

सधैँ मेहनत र काम गर्ने व्यक्तिका निम्ति तत्काल निर्वाचन हुँदा पनि बाधा पर्दैन। यसपटकको निर्वाचनमा दोहोरिने अवसर पाएका धेरैले यसअघि गरेको कामको श्रेय प्राप्त गरेका हुन्। जसले विगतमा मौका पाएर पनि काम गरेनन्, तिनलाई मतदाताले विजयी गराएनन्। अहिलेसम्म दल बलियो हुँदा उम्मेदवार कमजोर उठाए पनि निर्वाचन जितिने वातावरण रहेको हो। यसपटकको निर्वाचनमा यो वातावरणमा परिवर्तन देखिएको छ। स्थानीय तह निर्वाचनमा दलभन्दा सक्षम उम्मेदवारतिर मतदाताको ध्यान गएको छ।

यसपटकको निर्वाचनले यसअघिका अनेकन मान्यतालाई समेत चिरेको देखिएको छ। एक, दल बलियो हुँदैमा उम्मेदवार सक्षम नभई जित्न सकिँदैन। दुई, अरूलाई गालीगलौज गरेरमात्र वर्चस्व स्थापित हुँदैन। बरु आममतदातालाई दन्तबझानमा रुचि छैन। तीन, नयाँ मानिसले केही गर्लान् कि भन्ने भावनाको विकास भएको छ। चार, युवाप्रति आममतदाताको ध्यान गएको छ। निर्वाचन परिणाम हेरेपछि सहजै यी निष्कर्षमा पुग्न सकिन्छ। चर्का भाषण गरेर र अरूलाई तथानाम गाली गरेर भन्दा जनताको काम गरेर मात्र लोकप्रिय हुन सकिन्छ। निर्वाचनमा काठमाडौँ महानगरपालिकादेखि धरान उपमहानगरपालिकासम्ममा उदाएका बालेन अर्थात् बालेन्द्र शाह र हर्क साम्पाङ जस्ता व्यक्तित्वले आममतदाताको मनोभाव प्रष्ट पारेको छ।

धरानका मेयर साम्पाङले आफ्नो प्रतिबद्धताअनुसारको काम पनि सुरु गरिसकेका छन्। धरानका मतदातालाई उनले स्वच्छ खानेपानी ख्वाउने प्रतिबद्धता जाहेर गरेका थिए। त्यसैअनुसार उनले खानेपानीको मुहान सफाइदेखि अनुगमनको काम थालिसकेका छन्। उनले सर्वसाधारणलाई सफाइ कार्यक्रममा सहभागी हुनसमेत आह्वान गरिसकेका छन्। एउटा व्यक्ति जो निरन्तर हिजो नागरिककै बीचमा थिए र आज निर्वाचित भएपछि पनि आफ्नो सादापनलाई लिएर अगाडि बढ्ने लक्ष्य उनले राखेको देखिन्छ। यसले निःसन्देह धरानका मतदाताको मन मात्र जितेको छैन। देशैभरिका मतदाताका बीचमा मेयर साम्पाङ परिचित हुँदैछन्।

बुटवल महानगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवार बनेर विजयी गोपाल हमालको चर्चा राष्ट्रिय रूपमा भइरहेको छ। दलका उम्मेदवार धेरै नै विजयी भएका छन्। तर, अहिले स्वतन्त्र रूपमा जति धेरै उम्मेदवार विजयी भएका छन्, त्यो विगतको भन्दा धेरै हो। त्यसैले आममतदाताले सक्षम व्यक्तिलाई आफ्नो घरआँगनको सरकारको जिम्मा लगाएका छन्। काठमाडौँ महानगरपालिकामा सुरुदेखि नै मेयर पदमा अग्रता लिएका बालेनको विजय सुनिश्चित भएको छ। विजय निकट भएपछि उनले बुधबार सार्वजनिक गरेको वक्तव्यबाट परिपक्वता झल्किएको छ।

राजधानी काठमाडौँका मतदाताले विगतमा पनि विद्रोहको मत धेरै पटक दिएका छन्। यसपटक बालेनलाई दिएको मत विद्रोह मात्र होइन, सिर्जनाका निम्ति हो। महानगरमा बसेर पनि यहाँका समस्या भयाबह छन्। हावापानीका हिसाबले वरिपरि डाँडाको बीचमा रहेको यो सुन्दर सहर आज नारकीय अवस्थामा छ। फोहर र प्रदूषणले यो आक्रान्त छ। यसमा सुधार ल्याउन सक्ने व्यक्तिले राजनीतिमा कहिल्यै पराजित हुनुपर्दैन। काठमाडौँबासीले बालेनलाई दिएको मतको उद्देश्य यही हो। उनले यसलाई सामना गर्न सक्षम हुने देखिन्छ।

बालेनले आफ्नो वक्तव्यमा आफू विजयी भएको र अरू पराजित भएको रूपमा नलिन र धन्यवाद सभाका रूपमा मनाउन गरेको आग्रहमा उनी जोस र होस दुवै भएका युवा हुन् भन्ने देखाउँछ। वास्तवमा अब प्रत्येक नगरपालिका र गाउँपालिकाका विजयी उम्मेदवारले सोच्ने पनि यसरी नै हो। विजयी उम्मेदवारले ल्याएको मतभन्दा बढी बाहिरै रहेको हुन्छ। तर विजयी व्यक्तिले सबैलाई साथमा लिएर प्रभावकारी काम गर्न सक्षम हुनु नै सफलताको सूचक हो।

यी उम्मेदवार सफल भए भने भविष्यमा मतदाताले नयाँ प्रयोगमा आफूलाई पुनः लगाउने छन्। यसै पनि हाम्रा मतदातामा राजनीतिक सुझबुझ बढी देखिएको छ। जथाभावी बोल्नुभन्दा काम गरेर देखाउनुमै राजनीतिक नेतृत्वको सफलता हुन्छ।

लोकतन्त्रको यो अभ्यासले राजनीति थप परिपक्व हुँदै गएको संकेत गर्छ। अहिलेको राजनीति असफल हुनुमा प्रणालीभन्दा यसलाई चलाउने व्यक्तिहरूको कमजोरी हो। त्यो कमजोरी सच्याउने काम यसका पात्र परिवर्तनबाट सम्भव छ। मुलुकमा लोकतन्त्र स्थापनाका निम्ति संघर्ष गरेको राजनीतिक नेतृत्वले अब समृद्धि यात्राका निम्ति उत्साही युवालाई मौका दिनुपर्ने देखिन्छ।

तिनलाई जिम्मेवारी दिने हो भने अहिलेको कार्यशैली पक्कै पनि परिवर्तन हुन्छ। विशेष गरी प्रमुख दलभित्र नेतृत्व विकास हुन नसक्दा बाहिरबाटै वैकल्पिक व्यक्तिको खोजी भएको हो। यसकारण अहिले जसले दल वा स्वतन्त्र रूपमा निर्वाचित भई स्थानीय सरकार हाँक्ने जिम्मेवारी पाएका छन्, तिनले भावी राजनीति सुधारका निम्ति काम थाल्नुपर्छ। यो वा त्यो बहानामा काम ढिला गर्ने होइन, आमनागरिकमा प्रभाव पार्ने गरी काम थालिहाल्नु अहिलेको आवश्यकता हो। त्यसैले अब कामका कुरा थालौँ। परिवर्तन हाम्रै जीवनमा सम्भव छ। 

प्रकाशित: १३ जेष्ठ २०७९ ००:५२ शुक्रबार

Download Nagarik App
Download Nagarik App