संयुक्त राष्ट्रसंघले शुक्रबार जारी गरेको विश्व खुसी प्रतिवेदन (वल्र्ड ह्यापिनेस रिपोर्ट) ले नेपालीका निम्ति मरुभूमिमा एक थोपा पानीजस्तै आशालाई सञ्चारित गरेको छ।
जताततै अव्यवस्था, मुलुकका मुख्य संस्थामा विचलन र कोभिड–१९ को त्रासदीपूर्ण जीवनबीच बाँचिरहेका नेपाली दक्षिण एसियामै सबैभन्दा खुसी रहेको प्रतिवेदन आफैँमा सुखद आश्चर्य हो। यसबाट प्रष्ट हुन्छ, नेपालीलाई खुसी राख्न सरकारले धेरै मेहनत गर्नु पर्दैन। निःसन्देह हामी नेपाली भइरहेका विकासप्रति असन्तुष्ट छौँ तर जे भइरहेको छ, त्यसप्रति कृतघ्न पनि छैनौँ।
थोरैमात्र काम भइदियो भने पनि गुणग्राही नेपालीले खुसी व्यक्त गर्छन्। केही मन्त्रीले अलिकति मात्रै काम गरे भने पनि नेपाली तिनका प्रति खुसी दर्शाउँछन्। आखिर त्यो गर्नैपर्ने नियमित काम गरेको भए पनि सकारात्मक भाव राख्न नेपालीलाई कुनै कारण आवश्यक छैन।
यदाकदा सामाजिक सञ्जालमा आउने प्रतिक्रियाले मानिसलाई हाम्रो समाज घृणा चिन्तनमै अभ्यस्त भएजस्तो लाग्छ। तर गहिरो गरी समाजको अध्ययन गर्ने हो भने सञ्जालमा आएर नबोल्ने ठूलो हिस्सा नेपाली मौन रहन्छ र आवश्यक निर्णय गर्ने क्षमताविना प्रतिक्रिया राख्छन्। त्यही मौनताको मत नै निर्वाचनमा पनि अभिव्यक्त हुन्छ।
प्रत्येक निर्वाचनमा मतदान गर्दा नेपालीले तौलीतौली व्यवहार गरेको देखिन्छ। लगातार निर्वाचनमा उनीहरूले विजयी गराउनुपर्ने हो भने उम्मेदवार र दलले उम्दा व्यवहार गर्नुपर्ने हुन्छ। काम राम्ररी गर्ने नेता, प्रशासक वा अन्य कोही स्वतः सर्वसाधारणको नजरमा चढ्छन्। यसको अर्थ हाम्रो समाजमा अझै सकारात्मकता मरिसकेको छैन। सकारात्मक भाव राख्ने र अरूको भलो चिताउनेको संख्या पनि ठूलो छ।
वल्र्ड ह्यापिनेस रिपोर्टअनुसार नेपाल विश्वका १ सय ४६ मुलुकमध्ये ८५ औँ स्थानमा छ। दक्षिण एसियाका अन्य मुलुकभन्दा नेपालको स्थान भारत र अन्य मुलुकभन्दा माथि रहेको छ। प्रतिवेदनअनुसार भारत १३६ र बंगलादेश ९९ औँ स्थानमा छन्। चीन नेपालभन्दा तीन स्थानले मात्र अगाडि छ।
ऊ ८२ औँ स्थानमा छ। आफ्नो देशको खुसीलाई मापन गर्ने कुल राष्ट्रिय खुसी (ग्रस न्यासनल ह्यापिनेस) सूचकलाई अपनाउँदै आएको भुटानलाई पनि प्रतिवेदनमा ‘अनरेवल मेन्सन’ गरिएको छ। प्राविधिक कारणले सर्वेक्षणमा भुटानलाई समावेश गर्न नपाएका कारण सूचीमा नराखिए पनि देशले अपनाएको खुसी सूचकलाई प्रतिवेदनमा उल्लेख गरिएको छ। स्वास्थ्य र खुसीलाई कसरी जोड्नुपर्छ भनेर विश्वलाई प्रेरित गर्न सकेकामा भुटानको प्रशंसासमेत गरिएको छ।
दक्षिण एसियाको सबैभन्दा दुःखी मुलुकमा अफगानिस्तान छ। यसको स्थान सबैभन्दा पछाडि अर्थात् १४६औँ रहेको छ। बितेको वर्ष अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछिको दुर्दशा सबैले महसुस गरेका छन्। कुनै पनि मुलुकका बासिन्दा सुखी हुन त्यहाँको लोकतान्त्रिक शासन व्यवस्था, मानव अधिकार र आर्थिक स्थिति कारक हुन्छ। यो प्रतिवेदनमा सबैभन्दा सुखीमा नर्डिक मुलुक परेका छन्। पहिलो स्थान फिनल्यान्डले लिएको छ। त्यसपछिका स्थान डेनमार्क, आइसल्यान्ड, स्विजरल्यान्ड, नेदरल्यान्ड, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रियाले लिएका छन्।
सन् २००२ देखि विश्वका खुसी देशको सूची तयार पार्न तथ्यांक विश्लेषण गर्ने गरिएको छ। विश्वका सबैभन्दा खुसी मुलुकबारे निर्णय गर्नुअघि १४९ मुलुकको तीन वर्षको ग्यालप सर्वेक्षणका तथ्यांक विश्लेषण गर्ने गरिएको छ। यसमा खासगरी छवटा क्षेत्रमा भएको प्रगति हेर्ने गरिएको छः प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन, सामाजिक सहयोग, स्वस्थ आयु, आफ्नो जीवनका छनोटको स्वतन्त्रता, आमनागरिकको उदारता र भ्रष्टाचारको स्तरसम्बन्धी आन्तरिक तथा बाह्य अवधारणा।
जस्तै कठिन परिस्थितिमा पनि नेपालीमा धैर्य गर्ने प्रवृत्ति छ। कोभिड–१९ का कारण बितेका दुई वर्षमा कैयन् विकसित मुलुकले समेत आफ्ना नागरिकका निम्ति केही न केही राहत पुरिया बाँडेका छन्। हामीकहाँ तीन तहको सरकार भएर पनि यस्तो कुनै सुविधा नागरिकले पाएका छैनन्।
परीक्षण र निःशुल्क खोप तथा सामान्य उपचारको सुविधामात्र नागरिकले पाएका हुन्। कोभिड–१९ बाट जोगिन गरिएको बन्दाबन्दी आदिले आमनागरिकको आवागमन, कमाइ र जीवनमै असर परेको छ। यसैका कारण कैयन्ले आफूलाई मानसिकरूपमा समेत असजिलो महसुस गरेका छन्। यस्तो विषम परिस्थितिलाई पनि नेपालीले चिरेर अगाडि बढेका छन्।
२०७२ सालको भूकम्प, त्यसपछिको भारतीय नाकाबन्दी र फेरि कोभिड–१९ को त्रासदी जस्ता एकपछि अर्को गरी आएका समस्यालाई नेपालीले झेलेका छन्। वास्तवमा संकट नेपाली जीवनसँग अभिन्नरूपमा जोडिएको छ। त्यसलाई पार गर्दै अगाडि बढ्ने क्षमताकै कारण नेपाली सुखी हुन सकेका हुन्। यसमा आमनेपालीमा रहेको आध्यामिक पक्ष पनि आफ्नो ठाउँमा छ। अध्यात्म, जीवनजगत्लाई हेर्ने दृष्टिकोण र अब केही राम्रो होला भन्ने आशाले मानिसलाई सुखी बनाउने हो। यस्तो गुण भने नेपालीमा भलिभाँती देखिन्छ।
नेपाली राजनीतिले आमनेपालीको जीवनस्तर नउठाए पनि कम्तीमा अभिव्यक्ति स्वतन्त्रताले पनि खुसी हुन ठूलो मद्दत गरेको छ। यदाकदा दलहरूले अभिव्यक्तिलाई कुण्ठित तुल्याउने गरी कानुन बनाउन खोजे पनि अहिलेसम्म स्वतन्त्रताको दायरा फराकिलो छ। अभिव्यक्तिकै कारण मानिस जेल जानुपर्ने अवस्था छैन। दुई छिमेकी चीन र भारतको स्वतन्त्रताको स्तर अध्ययन गर्ने हो भने पनि नेपालीको अवस्था धेरै राम्रो छ।
राजनीतिप्रति असन्तुष्टि भए पनि यसले नागरिकलाई आशावादी बन्ने ठाउँ दिएको छ। विकास निर्माणको गति ढिलो भए पनि अब केही हुन्छ भन्ने आशा अझै देखिन्छ। यसले पनि नेपालीलाई खुसी हुन मद्दत गरेको छ। तीन तहको संघीयताको अभ्यासले बढीभन्दा बढी सहभागितात्मक लोकतन्त्रले पनि यसमा केही न केही जोड गरेकै छ।
प्रकाशित: ७ चैत्र २०७८ ००:५४ सोमबार