सर्जक समयका उच्छवास हुन्। समकालीन समय जस्तो छ, तिनका सिर्जनामा त्यसका अनुभूति प्रकट हुन्छन्। आफू बाँचेको युगका बारेमा ती सचेत हुन्छन्। त्यही सचेतता तिनले पस्कन्छन्। आम मानिसले ती सिर्जनामार्फत आफ्ना भोगाइ बुझ्न पाउँछन्। कठिनाइ भोग्नेका भावनालाई पनि वाणी आवश्यक हुन्छ। त्यो वाणी दिने सिर्जनाले हो। सर्जक प्रकाश सपुतको ‘पिर’ यतिबेला समर्थन र विरोधका बीचमा छ। विरोध गर्नेहरूले यथार्थ पचाउन नसकेका मात्र हुन्। सिर्जनालाई सीधा ढंगले मात्र बुझ्नु हुँदैन। यसले दिन खोजेको सन्देशतर्फ जानु उचित हुन्छ।
पछिल्लो समयमा विशेषगरी राजनीतिक दलका कार्यकर्तामा सहनशीलता कम हुँदै गएको देखिन्छ। उनीहरूले सिर्जनालाई सीधा हिसाबले मात्र अर्थ लगाउँदै सर्जकलाई धम्क्याउन थालेका छन्। यस्तो धम्कीपूर्ण वातावरणमा सिर्जनाले फक्रिने मौका पाउँदैन। त्यसमा पनि लोकतान्त्रिक शासन व्यवस्था अभिव्यक्तिलाई सहज बनाउनका निम्ति ल्याइएको हो। यस्तो व्यवस्थामा राजनीतिक दलका टाठाबाठा र बलिया कार्यकर्ताले मात्र बोल्न पाउने भन्ने होइन, यसमा प्रत्येक सर्जकले आफ्ना माध्यमलाई निर्धक्क प्रयोग गरी अभिव्यक्ति दिन पाउनुपर्छ। अन्यथा सर्जकले दलका कार्यकर्ताको अनुमति लिएर मात्र सोच्नुपर्ने परिस्थिति आउन सक्छ।
कुनै बेला आम नागरिकलाई जगाउने क्रममा वामपन्थीहरूले हातमा कलम हुनेहरू कलम लिएर, बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ भन्ने गरेका थिए। केही नहुनेहरूले आवाज मात्रै भए पनि लिएर उठ्न तिनको आह्वान हुन्थ्यो।
प्रकाश सपुतजस्ता कलाकारले आजका दिनमा फेरि विकृतिविरुद्ध बोल्नुपर्ने भएको छ। मुलुकमा कठिन परिस्थितिको सामना गर्दै बाँचिरहेका नागरिकका पीडालाई गीत, कथा र अभिनयका माध्यमबाट चित्रण गर्नुपर्ने अवस्था निम्तिएको छ। ‘पिर’ सार्वजनिक भएको दुई दिन अर्थात् आइतबार साँझसम्ममा २३ लाख पटक हेरिएको छ। यो बढ्दो छ। यो सिर्जनालाई आम दर्शकले हेरेका मात्र छैनन्, आफूले भोगिरहेको समयको चित्रण ठानेर सकारात्मक प्रतिक्रिया पनि व्यक्त गरेका छन्।
यस गीतको म्युजिक भिडियोमा प्रकाश सपुत, सुरक्षा पन्त, सम्झना भण्डारी र केसु पुनको अभिनय रहेको छ, जुन युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ। लेखन, निर्देशन, अभिनय र गायनसमेत प्रकाशले गरेका हुन्। माओवादी ‘जनयुद्ध’मा लागेर पनि आज परिस्थिति प्रतिकूल भएपछि वैदेशिक रोजगारीमा जानु वा शरीर बेच्नुपर्ने अवस्थासम्म पुगेको परिस्थिति यसमा देखाइएको छ।
यसबारे बहस गर्न सकिएला तर सर्जक र सिर्जनाकै विरुद्ध जानु भनेको तानाशाही प्रवृत्ति हो। देशभित्रै परिस्थिति सुधार भएको भए कसैले पनि देश छाडेर जानुपर्ने थिएन। इज्जतको काम पाए कसले अन्य विकल्प रोज्छ र? जसले जतिसुकै ढाकछोप गरे पनि देश यही स्थितिमा गइरहेको छ। देशको गति अगाडि भए हिजो आन्दोलनमा लाग्नेहरूले आज प्रतिफल पाउन सक्ने थिए। केही नेताले भने यही स्थितिमा पनि आफूलाई फाइदामा पुर्याएका छन्। यो कथा ती अभागीको हो, जसले आन्दोलनपछि पनि गतिलो जीवन जिउन पाएनन्।
‘पिर’मा भएको चित्रण कुनै दलविशेषविरुद्ध होइन। कसैलाई यो आफूविरुद्ध हो भन्ने लाग्छ भने सुध्रिनु आवश्यक छ। हिजो जस्ता सपना देखाएर सर्वसाधारणलाई आन्दोलनमा होमिएको थियो, आज तिनको परिस्थितिमा सुधार आएको छैन भने त्यसको जिम्मेवारी लिनुपर्छ। हामीले राम्रो गर्न खोजेका थियौं, असफल भयौं भन्न सक्नुपर्छ। वास्तवमा राजनीति बिग्रेको परिणामस्वरूप आम नागरिकको जीवन कठिन भएको हो। कुनै पनि आन्दोलन वा क्रान्ति त्यतिबेला मात्र दिगो हुन्छ, जतिबेला सर्वसाधारणको जीवनस्तर उठ्छ। आर्थिक रूपमा सर्वसाधारण सम्पन्न हुन सकेनन् भने त्यसैले अस्थिरता ल्याउँछ।
अहिले प्रकाशको ‘पिर’विरुद्ध माओवादी केन्द्रका कार्यकर्ताले आपत्ति गर्नु भनेको तीन वर्षअघि पशुपति शर्माको ‘लुट न कान्छा लुट’ बोलको गीतविरुद्धको अभिव्यक्तिजस्तै हो। त्यो बेला नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार थियो। त्यतिबेला नेकपा कार्यकर्ताको धम्कीका कारण पशुपतिले गीत इन्टरनेटबाट हटाउनुपर्ने अवस्था आएको थियो। गीतले चित्रण गरेको परिस्थिति समाजको यथार्थ भए पनि राजनीतिक कार्यकर्तालाई त्यो पचाउन गाह्रो भएको देखिन्थ्यो। दलका कार्यकर्ताले धम्की दिएर सर्जक तर्साउने काम अब बन्द गर्नुपर्छ। सर्जक तर्साएर गीतको विरोध गर्नु भनेको आफ्नो अनुहारको दाग देखाइदिने ऐना फोर्नुजस्तै हो।
हाम्रो समाज विगतमा निकै सहनशील रहँदै आएको हो। लोकतान्त्रिक शासन व्यवस्थामा सरकार आफैं अभिव्यक्तिप्रति सकारात्मक हुन्छ। उसले अभिव्यक्ति स्वतन्त्रतालाई प्रस्फुटित हुन दियो भने मात्र शासनमा रहेका विकृति हटाउन मद्दत मिल्छ। सर्जक तर्साउँदैमा सत्य मर्दैन। अहिले गीत, संगीत र अभिनयका आधारमा प्रस्फुटित अभिव्यक्तिले अवसर नपाउने हो भने भोलि योभन्दा कठोर किसिमका माध्यम आउन सक्छन्।
त्यतिबेला चुकाउनुपर्ने मूल्य बढी हुन्छ। अतः सर्जकहरूलाई आफूले लागेका धारणा व्यक्त गर्ने विभिन्न माध्यमलाई प्रोत्साहित गर्न सरकार तत्पर हुनुपर्छ। कसैले सर्जकलाई धम्क्याउँछ भने सरकारले तिनीहरूमाथि निगरानी राख्नुपर्छ। आफ्ना कार्यकर्ताको यस्तो अभिव्यक्तिमाथि अंकुश लगाउने सोच छ भने नेताहरूले सम्झाउन सक्नुपर्छ।
अभिव्यक्तिको अधिकार दलका नेता र कार्यकर्ताले मन लागेको कुरा बोलेर उपभोग गरिरहेका छन्। तिनलाई कसैले पनि अवरोध गरेका छैनन्। अहिले सर्जकहरूलाई भएकै कुरा गर्दा पनि धम्क्याउने काम हुन्छ भने त्यसले राम्रो सन्देश दिँदैन। हाम्रो लोकतन्त्रमा सीमा सुरु भइसकेछन् भन्ने सन्देश मात्र त्यसले प्रवाह गर्छ। सर्जक बोल्दै जाऊन्, राजनीतिले पनि आफूलाई सुधार गर्दै जाओस्। त्यो अवस्था आए न प्रकाश सपुतहरूले ‘पिर’ सार्वजनिक गर्नुपर्छ न त पशुपति शर्माहरूले ‘लुट् न कान्छा लुट्’ भनेर व्यंग्य नै गर्नुपर्छ। सत्यलाई आत्मसात् गर्ने साहस सत्तानिकट व्यक्तिहरूमा अझ बढी हुनुपर्छ। अनि मात्र लोकतन्त्र अरू बलियो र फराकिलो हुँदै जान्छ।
प्रकाशित: ३० फाल्गुन २०७८ ००:५६ सोमबार