७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

युद्ध होइन,शान्ति खोज

शक्ति राष्ट्रहरूको स्वार्थलाई सन्तुलित हिसाबले सम्बोधन गर्न नसक्दाको दुष्परिणाम अहिले युक्रेनले भोग्नुपरेको छ। शक्ति राष्ट्रवीचको आपसी स्वार्थले एउटा स्वतन्त्र मुलुक युक्रेनमा अहिले जे/जसरी आक्रमण भएको छ, त्यो आलोच्य विषय हो।

यसमा शक्ति राष्ट्रहरूको स्वार्थलाई सन्तुलित हिसाबले सम्बोधन गर्न नसक्नुमा युक्रेनको कूटनीतिक कमजोरी त छ नै साथै युक्रेनलाई उक्साउने र उसका विरुद्ध युद्ध घोषणा गर्ने शक्ति राष्ट्र पनि उत्तिकै जिम्मेवार छन्।

अमेरिका, बेलायतदेखि युरोपियन युनियनका शक्ति राष्ट्रहरूले युक्रेनलाई छिमेकी मुलुक रुसविरुद्ध उक्साएको जगजाहेर नै छ। उनीहरूले सुरुमा युक्रेनलाई जे/जसरी उक्साए, रुसले युद्ध नै घोषणा गरेपछि भने युक्रेनलाई सहयोग गर्न हिच्किचाएका छन् जसको परिणाम अहिले युक्रेन एक्लै रुसविरुद्ध युद्धको मुकाबिला गर्न वाध्य भएको छ।

युद्धअघि युक्रेनलाई शक्ति राष्ट्रहरूले जुन किसिमको ढाडस दिएका दिए, अहिले त्यस्तो सहयोग पाएको छैन। बरु युक्रेन अहिले एक्लिएको र आफूमाथि धोका भएको महसुस गर्न थालेको छ। यता रुसले पनि आफ्नो छिमेकी राष्ट्रविरुद्ध जुन हिसावको युद्ध उन्माद देखाएको छ, त्यसको जतिसुकै आलोचना गरे पनि कम हुन्छ।

रुस–युक्रेन सम्बन्धमा देखिएको समस्याको समाधान युद्धबाट होइन, वार्तामार्फत खोजिनुपर्थ्यो। तर त्यसो नगरी रुसले एउटा स्वतन्त्र मुलुकमाथि जुन हिसाबले युद्धमार्फत धावा बोलेको छ, त्यो सर्वथा अनुचित र गलत छ।

सोभियत संघ विघटन हुनुभन्दा पहिले उक्त संघको अंग रहेको युक्रेनले अहिले युरोपेली संघसँग सम्बन्ध बढाउन खोज्दा छिमेकी रुसको आक्रमणमा परेको हो। विगतमा रुससँगै नजिक रहेको युक्रेनले कित्ता परिवर्तन गरेर नर्थ एटलान्टिक सन्धि संगठन (नेटो)सँग निकटता जनाउनुको परिणाम युद्धको भूमरीमा परेको हो।

युरोपेली संघ र अमेरिकासँग निकटता जनाउन युक्रेनले नेटोको सदस्य बन्ने चाहना राखेको हो। र, युक्रेनको त्यो चाहनालाई स्वाभाविक हिसाबमा पश्चिमा राष्ट्रहरूले मलजल गरेकै हुन्। तर रुस त्यसलाई जसरी पनि रोक्न चाहन्थ्यो।

पश्चिमा मुलुकहरू नेटोको माध्यमबाट आफ्नो क्षेत्रमा प्रवेश गर्न सक्छन् भन्ने रुसको चिन्ता रहेकै कारण पनि उसले जसरी पनि युक्रेनलाई नेटोको सदस्य बन्नबाट रोक्न चाहेको हो। यसरी युक्रेनको इच्छा र रुसको चाहनाबीच तालमेल नुहँदाकै कारण रुस–युक्रेन युद्ध भएको हो।

त्यसो त रुसले वार्ताको माध्यमबाट छिमेकी युक्रेनलाई ‘कन्भिन्स’ गर्नुपथ्र्याे अन्यथा एउटा स्वतन्त्र मुलुकको हिसाबले उसको निर्णयलाई स्वीकार गर्नुपथ्र्याे। तर युद्धमार्फत छिमेकी मुलुकमा आफ्ना चाहना पूरा गराउने रुसको हर्कत छिमेकीप्रतिको दादागिरीको हद नै हो।

त्यसो त रुसले आक्रमण गरेको अवस्थामा आफूलाई अमेरिका तथा युरोपेली मुलुकले सहयोग गर्ने विश्वासमा थिए युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेस्की। त्यसैले पनि उनी रुससँग सम्झौता नगरी अघि बढेका हुन्। यता रुसले आक्रमण नै अघि बढाएपछि युक्रेनले अमेरिका, युरोपलगायत अन्य राष्ट्रहरूबाट सोचेअनुसारको सहयोग पाएन। यसअघि सन् २०१४ मा युक्रेनमा रुस समर्थक राष्ट्रपतिलाई सत्ताबाट हटाइएको रिसमा रुसले युक्रेनको पूर्वी प्रायदीप क्रिमियालाई नियन्त्रणमा लिएको थियो।

त्यतिबेला रुसले युक्रेनमा रहेका पृथकतावादीको खुलेर समर्थन गरेको थियो भने त्यसलगत्तै नेटो गठबन्धनले पूर्वी युरोपेली मुलुकहरूमा पहिलोपटक गठबन्धनका सैनिक तैनाथ गरेको थियो। त्यसपछि त्यो क्षेत्रमा रुस र अन्य पश्चिमा शक्ति राष्ट्रहरूको चासो बढ्दै गएको हो। र, ती स्वार्थहरू आपसमा टकराएकै कारण अहिले युक्रेनमाथि रुसी हमला भएको हो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन दिनअघि युक्रेनविरुद्ध विशेष सैन्य अभियान घोषणा गरेलगत्तै रुसी सेनाले युक्रेनलाई घेराबन्दी गर्दै आक्रमण गरेको हो। सुरुमा युक्रेनको पूर्वी डनबास क्षेत्रमा आक्रमण गर्ने घोषणा गरे पनि अहिले रुसी सेना युक्रेनको राजधानी कियभसम्मै पुगेको छ। रुसी हमलाको पहिलो दिन बिहीबार १३७ जनाले ज्यान गुमाएका छन् भने ठूलो संख्यामा युक्रेनीहरूले देश छाडिरहेका छन्। संयुक्त राष्ट्र संघका अनुसार दोस्रो दिनसम्म २५ जना गैरसैनिक नागरिकसहित १ सय २ जना युक्रेनी मारिएका छन्।

यता, युक्रेनको रक्षा मन्त्रालयले १ हजार भन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ। रुसले भने शुक्रबारसम्म युक्रेनको विशेष सैन्य युनिटका २ सय सैनिक मारिएको तर आफ्नोतर्फ कुनै क्षति नभएको दाबी गरेको छ। जसले जे दाबी गरे पनि युद्धका कारण हताहती हुनेहरूको संख्या बढ्दै गएको छ। सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेका छन् भने आफनो देश छाडेर शरणार्थी बन्नेहरूको ठूलो संख्या छ। युद्धका कारण सिर्जित मानवीय संकटको कुनै लेखाजोखा छैन। त्यो त परिवारजन गुमाएका व्यक्ति र मुलुक छाड्न बाध्य नागरिकहरूको पीडामा प्रतिबिम्बित भएको छ।

युद्ध उन्मादका कारण अहिले मानवीय संवेदना हराए पनि युद्धले दुवै पक्षलाई निकै लामो समयसम्म दुखित तुल्याउने नै छ। यो अवस्थामा वार्ता नै जारी युद्धको उपयुक्त विकल्प हो। त्यसैले रुस र युक्रेन दुवै पक्ष जारी युद्धलाई थाती राखी वार्तामार्फत अघि बढ्नु नै उपयुक्त हुन्छ। त्यसो त रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दमित्री पेस्कोवले बेलारुसको राजधानी मिन्स्कमा युक्रेनसँग वार्ता गर्न तयार भएको बताएका छन्।

मिन्स्क सन् २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थित विद्रोही र युक्रेनी सेनाबीच चलिरहेको द्वन्द्व अन्त्य गर्न सहमति भएको क्षेत्र हो। तर वार्ताका लागि रुसले युक्रेनसँग निशस्त्रीकरण हुनुपर्नेलगायतका विभिन्न सर्त राखेको छ।

वार्ताका लागि आ–आफना सर्त होलान् तर मुख्य कुरा रुसले युक्रेनलाई एक स्वतन्त्र राष्ट्रको सम्मान दिनुका साथै उसको संवेदनशीलतालाई बुझिदिन पनि उत्तिकै जरुरी छ। त्यसैले वार्तालाई हार–जीतका रूपमा भन्दा पनि युद्धको संभावित दुष्परिणामलाई ख्याल गरी दुवै पक्षले तत्परता देखाउनुपर्छ।

अन्यथा यसले विश्व व्यवस्थामा देखिएको शान्ति, सद्भाव र मित्रतालाई नै खल्बल्याउने खतरा पनि उत्तिकै छ। त्यसैले यो अवस्थामा अन्य शक्ति राष्ट्रहरूले पनि रुस–युक्रेन युद्धलाई उक्साउने होइन, यसको अन्त्यका लागि सहजीकरण गर्नेतर्फ ध्यान दिनुपर्छ।

प्रकाशित: १५ फाल्गुन २०७८ ००:५३ आइतबार

Download Nagarik App
Download Nagarik App