तीन वर्षअघि सुरु भएको कोरोना महामारीको कहर अझै सकिएको छैन। सुरुमा चीनको वुहानमा सन् २०१९ डिसेम्बरमा देखिएको कोरोना भाइरस यो अवधिमा विश्वका लगभग सबै देशमा फैलिएको छ।
प्रारम्भिक फैलावटले चीन, इटाली लगायतका देशका हजारौं सर्वसाधारणको ज्यान गयो भने भाइरसको उत्परिवर्तनसँगै बल्झिएको दोस्रो लहरमा विश्वका थप देशका नागरिकले अकालमा ज्यान गुमाउन पर्यो। कोरोना महामारीले हालसम्म विश्वका साढे ५५ लाख मानिसले ज्यान गुमाइसकेका छन्।
अहिले आएर कोरोना महामारीको तेस्रो लहरले विश्वलाई पिरोलेको छ। अत्यधिक मात्रामा उत्परिवर्तन भएको ओमिक्रोन भेरियन्ट यो लहरका लागि जिम्मेवार मानिएको छ।
यो भेरियन्टले रोगको गंभीरता निम्त्याउन त्यति सारो नसक्ने भए पनि एक जनाबाट अर्काेमा अत्यधिक सर्ने भएकाले संक्रमितको संख्यामा अत्यधिक वृद्धि देखिएको छ। सँगसँगै यसले खोप र यसअघि भएको भाइरस संक्रमणमार्फत सिर्जना भएको प्रतिरक्षा क्षमतालाई समेत प्रभाव पार्न सक्ने भएका कारण चिन्ता थपिएको छ।
कोरोना खोपको प्रभाव निश्चित अवधिपछि घट्दै जाने सन्दर्भमा विश्वव्यापी रूपमा बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ। विश्वमा खोपको असमान वितरणको विषय चिन्ताजनक र निर्क्यौल हुनुपर्ने विषय भए तापनि बुस्टर डोजको तत्काल आवश्यकतालाई कम आकलन गर्न मिल्दैन। स्वास्थ्यकर्मीलगायत अग्रपंक्तिमा रहेर काम गर्ने अन्य समूह तथा प्रौढजनसंख्यालाई बुस्टर खोपको आवश्यकता टड्कारो भैसकेको थियो।
यस सन्दर्भमा नेपालमा पनि आइतबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साता प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र लेखेर अग्रपंक्तिमा खटिनेहरूलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिन निर्देशन दिएको छ।
बुस्टर डोजको पहिलो चरणअन्तर्गत आइतबारदेखि अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीले बुस्टर डोज पाउने भएका छन्।
यसैगरी सरकारले सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सरकारी कार्यालय, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिने तयारी गरेको छ। पहिलो चरणपछि माघ १४ देखि ६० वर्षमाथिका ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोज दिने सरकारी योजना सकारात्मक छ।
पछिल्ला दिनमा भाइरस संक्रमण व्यापक भएका कारण स्वास्थ्य उपचारमा खटिने स्वास्थकर्मी नै संक्रमित हुन थालेका र अस्पतालमा बिरामीको चाप बढ्दै गएको सन्दर्भमा बुस्टर डोजको सान्दर्भिकता बढेको हो।
पछिल्ला केही दिनमा दिनहुँ ४–५ हजार संक्रमित थपिन थालेका छन् र कोरोना संक्रमण दर ह्वात्तै बढेको छ। यो अत्यन्त चिन्ताको विषय हो।
नेपालमा खोप अभियान सुरु भएको २ वर्ष हुन लाग्दा पनि खोपको दुवै डोज लगाउनेको संख्या ४० प्रतिशतको हाराहारीमा छ। खोपको एक मात्रा लगाउने संख्या ५२ प्रतिशत कटेको छ।
खोपको उपलब्धता हुँदाहुँदै पनि जनसंख्याको ठूलो तहमा खोपको पहुँच नपुग्नु चिन्ताजनक हो। सरकारले यो अभियानलाई तीव्रता दिन जरुरी छ। खोप लगाएकामा ओमिक्रोन भेरियन्टको प्रभाव तुलनात्मक रूपमा कमजोर हुने देखिएको सन्दर्भमा खोपको पहुँच विस्तार गर्न आवश्यक देखिन्छ।
खोप अभियानको सरकारी प्रयास कहिले सशक्त जस्तो देखिने अनि फेरि सेलाउने प्रकृतिको देखिन्छ। महामारी अन्तका लागि खोप नै प्रमुख उपाय रहेको स्थितिमा यो अभियानलाई झन सशक्त पार्न आवश्यक छ। आम नागरिक पनि खोप लगाउन उत्तिकै जागरुक हुन आवश्यक छ। कतिपयले खोप लगाउन अनिच्छा व्यक्त गर्ने र महामारीको थप लहर आउँदा फेरि खोप लगाउन चाहने देखिएको छ।
विश्वका समृद्ध देशले पनि खोपलाई अपरिहार्य मानिसकेको अवस्थामा स्वास्थ्य सेवा प्रणाली कमजोर रहेको नेपाल जस्तो देशका नागरिकले खोप लगाउन कुनै कन्जुस्याइँ गर्नु हुँदैन। नेपालमा कोरोना महामारीका कारण ११ हजार ६ सय भन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन्।
यसैगरी कोभिड–१९ संक्रमितका दीर्घकालसम्म रहिरहने असर अर्थात ‘लङ कोभिड’ ले पनि कैयन् अझै आक्रान्त छन्। महामारीका कारण आर्थिक वृद्धि दर खुम्चिएको छ भने सामाजिक जीवन पुरानै लयमा आउन सकेको छैन। यस्तो विषम परिस्थितिमा सरकार, नागरिक समाज र सर्वसाधारणले आआफ्नो भूमिका प्रभावकारी हिसाबले निर्वाह गर्न सक्नुपर्छ।
खोपको बुस्टर डोजसँगसगै महामारी सम्बोधनका हाम्रा समग्र प्रयासलाई थप बढाउन आवश्यक छ। विपद् थेग्न सक्ने स्वास्थ्य प्रणालीको सशक्तता र नागरिक चेतना यो सन्दर्भमा उत्तिकै महत्त्वपूर्ण पक्ष हुन्। कोरोना भाइरससँग लड्ने व्यक्तिगत प्रतिरक्षा क्षमताको सँगसँगै कोरोना लगायतका अन्य महामारी थेग्न सक्ने स्वास्थ्य प्रणालीको क्षमता अहम् हो।
कोरोना महामारीले हामीलाई त्यो अवसर दिएको हो। हामीले यो अवधिमा अस्पतालमा सैया बढाउने, प्राणवायु अक्सिजन सुनिश्चित गर्ने लगायतका आधारभूत पूर्वाधार निर्माणमा कति सफलता हासिल गर्यौँ, समिक्षा गर्ने बेला आएको छ। हालसम्मको प्रगति कामचलाउ हिसाबको मात्र देखिनु सुखद होइन। यसमा सबै गंभीर हुन आवश्यक छ।
प्रकाशित: ३ माघ २०७८ ०३:०५ सोमबार