१० मंसिर २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

महाधिवेशनमा जेठो दल

नेपाली राजनीतिको पुरानो र प्रमुख दल नेपाली कांग्रेसले शुक्रबारदेखि आफ्नो चौधौँ महाधिवेशन आयोजना गर्दैछ। वैयक्तिक स्वतन्त्रताको हिमायती यो दलको प्रजातन्त्रप्रतिको निष्ठामा हत्पति शंका गर्नुपर्ने अवस्था आएको छैन।

मुलुकमा उदार प्रजातन्त्रको पर्यायका रूपमा कांग्रेसले आफूलाई उभ्याएको छ। यस दलप्रति यति विश्वास हुनुमा विगतमा यसले निर्वाह गरेको सकारात्मक भूमिकालाई प्रमुखरूपमा लिइन्छ। राजनीतिमा अतिवादी शक्तिहरूको बोलवाला हुँदा पनि तिनलाई सन्तुलित राख्न यसै दलले मात्र सक्छ भन्ने आमविश्वास रहिआएको छ।

गौरवमय विगत भएको कांग्रेस नेतृत्वले पछिल्ला वर्षहरूमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको गुनासो पनि त्यत्तिकै छ। यो दलको विरासत जोगाउँदै मुलुकको राजनीतिक शक्ति सन्तुलनमा प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने आग्रहलाई अन्यथा मान्न सकिन्न।

कांग्रेस नेपाली राजनीतिको मियोका रूपमा रहँदै आएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाका कारण यो दलको नेपाली राजनीतिमा आफ्नै गरिमा र महत्व छ। उनको सरकारलाई १५ महिनामै हटाइ तत्कालीन राजा महेन्द्रले शासनसत्ता लिएका हुन्। प्रजातन्त्रको हत्या गरी मुलुकमा एकदलीय तानाशाही पञ्चायती व्यवस्था लागु गर्ने काम उनले गरे। यो सिलसिला ३० वर्षसम्म रह्यो।

बिपी बाँचुन्जेल नेपाली विपक्षी राजनीतिको केन्द्रमै रहेका हुन्। उनको निधनपछि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहजस्ता नेताले प्रजातान्त्रिक आन्दोलनको झण्डा उठाइरहेका हुन्। २०४६ सालको जनआन्दोलन सफल हुनुमा गणेशमान सिंहले वाम मोर्चालाई एक ठाउँमा ल्याउन सक्नु नै मुख्य कारण हो।

त्यसैगरी भट्टराईको सुझबुझपूर्ण नेतृत्वका कारण मुलुकमा प्रजातान्त्रिक संविधान प्राप्त भएको हो। उनकै नेतृत्वमा निर्वाचन सम्पन्न भएको हो। त्यो निर्वाचनबाट उनी आफैँ पराजित भए पनि प्रजातन्त्र स्थापित गराउन उनले योगदान गरेका हुन्।

प्राप्त प्रजातन्त्र तत्कालीन राजा ज्ञानेन्द्रबाट पुनः अपहृत भएपछि पुनः कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकमा लोकतन्त्र बहाली भएको हो। उनको दृढ अडान नभएको भए मुलुकमा लोकतन्त्र पुनस्र्थापित हुन केही समय अवश्यै लाग्थ्यो।

उनैले भूमिगत सशस्त्र ‘जनयुद्ध’ चलाइरहेको नेकपा (माओवादी)लाई वार्तामार्फत मूल प्रवाहमा ल्याउन सफल भएका हुन्। कांग्रेस यो बेलासम्म मुलुकको राजनीतिलाई आफूले चाहेअनुसार डोहोर्‍याउन सफल भएको हो। त्यसपछिका कांग्रेस नेताहरूले मुलुकलाई आफ्नो अजेन्डामा हिँडाउन नसकेको आलोचना हुँदै आएको छ।

कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवालाई पाँच पटक मुलुकको प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भए पनि आफ्ना अजेन्डा स्थापित गर्न सकेनन्। विगतमा कांग्रेसले आफ्ना अजेन्डा स्थापित गर्न सकेको भए पनि पछिल्ला वर्षहरूमा यो दल अरूले जता लैजान्छन्, त्यतै डोहोरिने गरेको टिप्पणी हुँदै आएको छ।

यस्तो परिस्थितिमा कांग्रेसले आफ्नो महाधिवेशन आयोजना गर्दैछ। वास्तवमा कांग्रेस निकै कमजोर भएको अवस्थामा अहिले छ। संघीय संसद्, प्रदेश र स्थानीय तहसम्मका निर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेको हो।

कांग्रेस तत्काल सरकारमा फर्कन नसक्ने आकलन भइरहेको हो। संयोगले सत्तारुढ दल नेकपा (एमाले)मा आएको आन्तरिक विग्रह र नेकपा (माओवादी केन्द्र) सँगको एकता भत्किएपछि मात्र सरकारमा जाने अवसर कांग्रेसलाई प्राप्त भएको हो।

यतिबेला गठबन्धन सरकारको नेतृत्व गर्ने मौका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्राप्त भएको छ। यतिबेला कांग्रेसको नेतृत्व देउवाले गरेका छन् भने उनीसँगै राजनीतिक प्रतिस्पर्धा गर्दै आएका नेता रामचन्द्र पौडेल पनि यही दलमा छन्।

तर उनले आफ्नो दललाई नेतृत्व गर्ने मौका पाएका छैनन्। यसपटकको महाधिवेशनप्रति सबैको ध्यानाकर्षण भइरहेको छ। कांग्रेसले आफूलाई कसरी अगाडि लैजाने हो भन्ने जिज्ञासा आमरूपमा भइरहेको छ।

मुलुकको राजनीतिमा कांग्रेसको गरिमामय उपस्थितिलाई पुनस्र्थापित गर्ने गरी यसको महाधिवेशनले मार्गदर्शन गर्छ/गर्दैन सबैको ध्यान कांग्रेसतर्फ गएको छ।

मुलुकमा बेलाबेलामा प्रजातान्त्रिक प्रक्रिया धर्मराउने गरेका छन्। पटक–पटक प्रजातन्त्रका निम्ति संघर्ष गरेको नेपाल कुनै अधिनायकवादी शासनसत्तामुनि बस्न तत्पर छैन। त्यो स्थितिमा कांग्रेसजस्तो उदार लोकतान्त्रिक दलले आफूलाई स्थापित गर्न सक्नुपर्छ।

कांग्रेसले राजनीतिलाई ठीक बाटोमा हिँडाउने तत्परता देखायो भने जस्तो अधिनायकवादी सोच भएको व्यक्ति सरकारमा पुगे पनि डराउनुपर्दैन। यस अर्थमा कांग्रेसले आफूलाई सिद्धान्तमा स्थापित गर्दै हिजोको गौरवमय परम्परालाई कायम राखी अगाडि बढ्ने तत्परता देखाउन सक्नुपर्छ।

दलको महाधिवेशन भनेको बितेका वर्षको समीक्षा गर्दै मुलुकको भावी राजनीतिका निम्ति नीतिगत तयारी गर्ने हो। कांग्रेसमात्र होइन, अन्य दलले समेत महाधिवेशनबाट भावी नीति निर्माण गरेको देखिएको छैन। महाधिवेशन भोलिका निम्ति नेतृत्व चयन गर्नमात्र सीमित देखिएको छ।

अतः कांग्रेसले आफूलाई नेपाली राजनीतिको अपरिहार्य शक्तिका रूपमा स्थापित गर्न सक्नुपर्छ। त्यसका निम्ति यो महाधिवेशनमा आगामी नीति तयार गर्ने प्रक्रिया अघि बढ्नुपर्छ। कांग्रेसको विगतको गौरवपूर्ण परम्परामा देखिएका समस्या समाधानका निम्ति रणनीतिक तयारी पनि गर्न सक्नुपर्छ। यसपटक तुलनात्मकरूपमा युवाहरूको यस दलमा आकर्षण देखिएको छ।

मुलुककै जेठो दलमा देखिएको युवा आकर्षण आफैँमा उत्साहप्रद् पक्ष हो। कांग्रेसले क्रमशः युवाहरूलाई दलको नेतृत्वमा पुर्‍याउँदै आमनागरिकमा आशाको सन्देश दिन सक्नुपर्छ। कांग्रेस आफैँले मुलुकको राजनीति डोहोर्‍याउने विगत परम्परालाई फेरि कायम गर्न सक्षम हुनुपर्छ।

कांग्रेस भएपछि लोकतन्त्र सुरक्षित छ भन्ने आभाष दिलाउनु पनि यो दलको प्रमुख दायित्व हुन आउँछ। यो महाधिवेशनप्रति देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि चासो व्यक्त भइरहेको छ। सबैको आशाको केन्द्र बन्न कांग्रेसलाई सफलता प्राप्त हुन सकोस्। कांग्रेसलाई महाधिवेशनको शुभकामना।

प्रकाशित: २४ मंसिर २०७८ ०३:०७ शुक्रबार

Download Nagarik App
Download Nagarik App