coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

बंकरयुक्त निवास

लोकतन्त्रका नेताहरूले आफूलाई आमनागरिकबाट धेरै टाढा पुर्‍याइसकेका छन्। तिनले आफ्नाबारे कस्तो धारणा बनाउँछन् भन्ने हेक्का राख्न छाडिसकेको देखिन्छ। राजनीति गर्ने व्यक्तिले डराउनुपर्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष लोकलाजको डर हो। लोकले के भन्लान् भन्ने डर नभएका राजनीतिक व्यक्तिबाट जनमुखी कार्य सम्भव छैन।

हिजोका दिनमा भाषण गर्दा नेताले आफूलाई माछा र जनतालाई पानीसँग तुलना गर्ने गरेको पाइन्थ्यो। माछालाई बाँच्न पानी नभई नहुने हुनाले जहिले पनि आफूलाई जनतासँग एकाकार भएर जानुपर्छ भन्ने मान्यता तिनको रहने गरेको हो। अहिले जनताले जेसुकै भनून् कुनै मतलव हुन छाडिसकेको छ। आफूलाई लागेको सत्य नै अन्तिम हो भन्ने भावनाले ग्रस्त हुँदै गएपछि यो अवस्था आउँछ।

हाम्रो मुलुकका प्रधानमन्त्री बंकर भएको निवासमा बस्न पाउने भएका छन्। तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको ‘भिजन’ का आधारमा निर्माण सम्पन्न भएको यो अत्याधुनिक सुविधा सम्पन्न निवासमा उनको विरासत प्राप्त शेरबहादुर देउवा सर्ने तयारीमा छन्।

एक हिसाबले यो निकै खुसीको कुरा हो, हाम्रा प्रधानमन्त्रीको निवासमा पौडीपोखरी, तातो बाफ लिइ शरीरलाई तरोताजा बनाउन पाइने सौना र अन्य अनेकानेक अत्याधुनिक सुविधा छन्। देउवा प्रधानमन्त्री बन्दा यो निर्माण कार्य अन्तिम अवस्थामा पुगिसकेको हो।

उनका पूर्ववर्ती प्रधानमन्त्री ओलीले यस किसिमको सुविधायुक्त निवासको आवश्यकता महसुस गरेका हुन्। आपतविपत परेका बेला प्रधानमन्त्रीले त्यही निवासमुनि बनेको बंकरमा गएर आफूलाई सुरक्षित राख्न र देशलाई हाँकिरहन सक्ने छन् भन्ने यो निर्माण कार्यको मकसद हुन सक्छ।

यो भवनको निर्माणमा ३३ करोड ८० लाख रुपियाँ खर्च भएको छ। यसबाहेक भवनभित्र र बाहिरको सजावटका निम्ति २ करोड ५० लाख रुपियाँको लागत अनुमानसमेत भइसकेको छ। मुलुकका राष्ट्राध्यक्ष र प्रधानमन्त्रीका निम्ति यस्तो व्यवस्था हुनु स्वाभाविक हो। अन्य मुलुकमा पनि यसरी खर्च गरेर सुविधा सम्पन्न निवासमा उनीहरूलाई राख्ने गरिएको छ। राष्ट्र प्रमुख र सरकार प्रमुखका निम्ति सुविधायुक्त भवनमा बसोबास आवश्यकता जस्तो देखिन्छ।

यही बेलामा आमनागरिकको अनुहार पनि देखिन्छ। तिनका निम्ति भने कुनै सुविधा थपिन सकेको छैन। आमनागरिकका निम्ति सुविधा थपिएपछि जति विलासी भवनमा बसे पनि कसैको चिन्ता हुँदैन। अझ यसमा गर्व गर्न सकिने स्थिति आउँछ।

वास्तवमा हाम्रो मुलुकका प्राथमिकता राष्ट्राध्यक्ष,सरकार प्रमुख र अन्य पदाधिकारीका निम्ति विलासी घर हुन् वा आमनागरिकले उपभोग गर्ने सार्वजनिक सेवा? प्रधानमन्त्रीका निम्ति बंकरयुक्त घर निर्माण गर्नुअघि ठूल्ठूला आपत्विपद् र भूकम्पमा पनि केही नहुने अस्पताल बनाए आमनागरिकले जय/जयकार गर्ने थिएनन् र?

हाम्रा पुर्खाले भन्ने गरेका हुन्– घाँटी हेरी गाँस निल्नू। हामीलाई आफ्नो मुलुकको आर्थिक औकातसँग कुनै मतलव छैन। मतलव छ त आफ्नै ठस्साका निम्ति। कसरी राज्यबाट बढीभन्दा बढी सुविधा लिने भन्नेमै हाम्रा उच्च पदाधिकारीको ध्यान जाने गरेको छ। आमनागरिकमाथि करको बोझ थपेर रकम खैँचिनुपरेको छ। त्यसरी जम्मा गरेको रकम भने आमनागरिकमा भन्दा आफ्ना सुविधाका निम्ति जान्छ।

मुलुकको आर्थिक अवस्थालाई ध्यानमा राखेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सरकारी निवास परित्याग गरेको घटना सबैको जानकारीमा छ। उनले देशको अवस्थालाई ध्यानमा राखेर खर्च घटाउनका निम्ति यस्तो गरेका थिए।

हामीले भने आफ्ना खर्च धान्नका निम्ति कर जति पनि थप्ने गरेका छौंँ। चाहे त्यो सर्वसाधारणले प्रयोग गर्ने पेट्रोलियम पदार्थमा लगाइएको कर होस् वा तिनका प्रत्येक उपभोगमा लागेको शुल्क। कतैबाट पनि सर्वसाधारणका निम्ति सोचेको देखिँदैन।

वास्तवमा आमनागरिकले जुन तहमा आफ्नो जीवनलाई कष्टकर ढंगले अगाडि बढाइरहेका छन्, त्यसप्रति तरस खानु आवश्यक छ। आफ्ना सुविधाका लागि सोच्नुअघि सर्वसाधारण कुन अवस्थामा छन् भन्ने ध्यान दिन सकिएन भने जनता र नेताबीचको सम्बन्ध पानी र माछाको जस्ता हुन सक्दैन।

प्रायः हामीकहाँ खरिद र निर्माणमा बढ्ता ध्यान जान्छ। यसबाट एकातिर आर्थिक उपार्जन हुन्छ नै, सँगै कसका पालामा यो बनेको भनेर दाबी गर्न पनि पाइन्छ। खरिद गरिएका सामग्री पनि सदुपयोग हुँदैन। सकेसम्म तिनलाई काम नलाग्ने बनाएर अर्को खरिद गर्नमै ध्यान हुन्छ।

सरकारी सवारी साधनलाई पत्रु बनाएर राखेको सिंहदरबारमै देखिन्छ। चीनबाट ल्याइएका जहाजलाई घाममा सुकाएर खत्तम पारिएको छ।

चीनबाट धुलो उठाउन भनेर ल्याएका बु्रमरलाई अहिले काम नलाग्ने अवस्थामा राखिएकै छ। यी सबै काम योजनाबद्ध ढंगले भइरहेका छन्। चाँडै नयाँ खरिद गर्नतिर ध्यान फेरि पनि पुग्नेछ।

सरकारी क्षेत्रमा हुने फजुल खर्च कम गर्दै सर्वसाधारणको जीवन सहज हुने किसिमका निर्माणमा ध्यान पुग्ने हो भने बल्ल नेताहरूको तिनीसँग पुनः सम्बन्ध स्थापित हुन्छ। राम्राराम्रा विद्यालय भवन र त्यसमा पढाउने योग्य शिक्षकको व्यवस्था गरेर शिक्षाको गुणस्तर बढाउने हो भने केही वर्षमै यहाँको अवस्था सुध्रन्छ।

सर्वसाधारणको स्वास्थ्य सेवालाई बढाउँदै लैजान राम्रा भवन,उपकरण, चिकित्सक र अन्य सुविधा व्यवस्था गर्ने हो भने लोकतन्त्रप्रति अरू विश्वास बढ्छ। नेताहरू थप लोकप्रिय बन्ने अवस्था आउँछ। आफ्ना निवास, सवारी साधन र अन्य खर्चमै बजेट सक्ने हो भने आमनागरिकमा निराशाबाहेक अरू केही बाँकी रहने देखिँदैन। बंकरयुक्त निवास होइन,जनताको मनमा बस्ने नेतामात्र अमर हुन्छन्।

प्रकाशित: १५ मंसिर २०७८ ०१:१५ बुधबार

Download Nagarik App
Download Nagarik App