६ माघ २०७८ बिहीबार
सम्पादकीय

एमालेसँग अपेक्षा

प्रमुख विपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को शुक्रबारदेखि सुरु तीन दिने विधान महाधिवेशनले उक्त दललाई निर्वाचन केन्द्रित देखाएको छ। निर्वाचनमा जाने बेलामा सबैजसो दलले आफूलाई केन्द्रमा राख्छन् र निर्वाचन प्रक्रिया आफ्नो पकडमा पार्ने गरी अभिव्यक्ति दिन्छन्। पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रस्तुत गरेका ७३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा निकट विगतका घटनालाई आफूअनुकूल व्याख्या गर्दै राम्रा कामको श्रेय लिइएको छ। असफलताको भारी भने उनले विगतमा आफ्नो दलको भिन्न मत राख्ने र हाल दल विभाजन गरी नेकपा (एकीकृत समाजवादी) निर्माणमा लागेकाहरूलाई बोकाएका छन्।  

प्रायः कम्युनिस्ट पार्टीले आफ्नो राजनीतिक प्रतिवेदनमा आफूलाई केन्द्रमा राखी अन्यका बारेमा भिन्न चित्रण गर्छन्। आफूबाहेकका अन्य दल र व्यक्तिले लिएको राजनीतिक बाटोलाई गलत चित्रण नगरी आफ्नो सही हुँदैन भन्ने मान्यता प्रष्टरूपमा यसमा झल्किएको देखिन्छ। त्यसै आधारमा कांग्रेस, माओवादी, मधेस केन्द्रित दल र नेकपा एसबारे ओलीले सकारात्मक चित्रण गरेका छैनन्। यी सबै दल भन्दा आफ्नो दल सही बाटोमा रहेको अथ्र्याउनु राजनीतिक प्रतिवेदनको उद्देश्य हो। ओलीले सरकार सञ्चालनको अनुपम अवसर पाएर पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नुमा आफ्ना कमजोरी रहेको पनि चित्रण गरेका भए अझ उनमा राजनीतिक इमानदारी देखिन सक्थ्यो। त्यस्तो अवसर पाउँदा पनि काम गर्न नसक्नुको प्रमुख कारणको चर्चा गर्दै आत्मालोचना गर्न सकेका भए उनलाई सर्वसाधारणले विश्वास गर्न सक्ने स्थिति हुन्थ्यो।  

ओलीमाथि अहिले उठिरहेको प्रश्न पनि यही हो। उनले मंगलबार आयोजना गरेका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा समेत खुलेरै यी विषय उठेका थिए। खासगरी उनले गरेका दुई पटकको प्रतिनिधिसभा विघटनलाई कुनै अर्थमा उचित मानिएको छैन। यसलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेको छ। ओली अहिले पनि यसमा आफ्नो कमजोरी भएको स्वीकार्न तयार छैनन्। उनले यसलाई बाध्यात्मक कदमका रूपमा चित्रण गर्दै आएका छन्। संसद् अस्थिरताको थलो बन्ने, नीतिहीन गठबन्धन बन्ने, सरकार बनाउने र विघटनको केन्द्र मात्रै बन्ने स्थिति आएका कारण दुवै पटक संसद् विघटन गरिएको उनको दाबी छ। संसद्लाई काम गर्न नदिइएको, यसको भूमिका कम गरिएको र सन्तुलन तथा नियन्त्रणका व्यवस्थालाई कमजोर पारिएका कारण यस्तो अवस्था आएको हो भन्ने मान्न उनी तयार छैनन्।  

वास्तवमा अहिलेको अस्थिरताको कारक मुख्यरूपमा ओली हुन्। त्यसमा पनि उनले आफ्नो दललाई मिलाएर अघि बढ्न नसकेका कारण यो अवस्था आएको हो। उनी आफैँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग दलको एकीकरण गरेका थिए। त्यही एकीकरणका कारण उनको शक्तिसमेत बढेको हो। जतिबेला उनी दाहालसँग ‘दुई पाइलट’ को हैसियतमा जेट उडाइरहेका थिए, त्यतिबेला उनीप्रति आलोचकको भूमिका निर्वाह गर्दै आएका पार्टीका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको कुनै हैसियत थिएन। न उनी दल विभाजन गर्न सक्ने अवस्थामा थिए न दलभित्रै विद्रोहको अवस्था थियो। ओली आफैँले धकेल्दै दाहाल र नेपाललाई एउटा कित्तामा पुर्‍याएका हुन्। 

आफ्नै अव्यवस्थापनका कारण यस्तो स्थिति उत्पन्न हुन गएको भए पनि त्यसलाई स्वीकार गरेर जान सक्ने अवस्था उनको छैन। विभिन्न शक्ति केन्द्रका कारण अहिलेको परिस्थिति सिर्जना भएको भन्ने अर्थ लगाएरमात्र पुग्दैन। जसले जति शक्ति लगाए पनि ओलीविरुद्ध कुनै गतिविधि हुन सक्ने अवस्था थिएन। तर आफ्नै गतिविधिका कारण उनी कमजोर हुँदै गइ सरकारबाट हट्नुपर्ने स्थितिसम्म पुगेका हुन्। अतः उनले आफ्नो कार्यशैलीप्रति आलोचित हुँदै आगामी रणनीति तय गर्ने हो भने विश्वासको वातावरण बन्न सक्छ।  

ओलीले एउटा कठिन अवस्थामा फेरि पार्टीलाई एकीकृत बनाएर जाने रणनीति अघि सारेको देखिन्छ। निर्वाचनतर्फ गएरै अहिलेको गुमेको साख फिर्ता ल्याउने उनको रणनीति विधान महाधिवेशनमार्फत कार्यान्वयन गराउन खोजिएको छ। रणनीतिक तयारीका हिसाबले ओली जहिल्यै अरू दल भन्दा अगाडि देखिन्छन्। अहिले पनि गठबन्धन दललाई छुट्याएर प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचननिम्ति अग्रसर गराउने उनको रणनीति देखिन्छ। देउवाले निर्वाचन गराए भने आफू फेरि ठूलो दलका रूपमा आउन सक्छु भन्ने विश्वास ओलीको छ। अझ दलभित्र विरोधी शक्तिको अन्त्य भइसकेको हुनाले आफूले भनेजसरी अगाडि बढ्न सकिने उनले ठानेका छन्।

पानीका बोतलमा समेत आफ्नो फोटो राखेर ओलीले अब कोही पनि आफ्नो शक्तिका अगाडि नटिक्ने सन्देश दिइसकेका छन्। नेकपा एसमा गइसकेका नेताहरू नेपाल, झलनाथ खनालका साथै बामदेव गौतमको पनि उपस्थिति भएको भए अहिलेको जस्तो प्रदर्शनको पक्कै पनि विरोध हुने थियो। यस हिसाब पनि ओलीले आफ्ना अनुयायीहरू मात्र राखेर दल अगाडि बढाउने अवसरका रूपमा अथ्र्याएको देखिन्छ। बिजुलीका पोलदेखि आयोजनास्थलसम्म फैलिएका उनका विशालकाय तस्बिर र डमीले यही सन्देश दिएका छन्।  

ओलीले अहिले अवसरलाई उपयोग गर्ने रणनीति अपनाएको पनि देखिन्छ। देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले पूर्णता नपाएको र भागबन्डाकै राजनीतिमा रुमलिइरहेका स्थितिमा ओलीका आरोप सत्य सावित हुने अवस्था आएको छ। ओली आफूले गरेका कामको कुनै जिम्मेवारी महसुस पनि गर्नु नपर्ने र प्रमुख विपक्षमा रहेर विरोध गरेकै भरमा उनले विगतका कमजोरीबाट उन्मुक्ति पाउने अवस्था आउनु आफैँमा विडम्बना हो। ओलीले कम्तीमा सरकारमा रहेका बेला भएका कमजोरीको जिम्मेवारी लिनुपर्छ। आउँदा दिनमा एमालेलाई एउटा लोकतान्त्रिक र संविधानप्रति प्रतिबद्ध दलका रूपमा अगाडि बढाउने विश्वास दिलाउन सक्नुपर्छ। त्यसो भएमात्र उनीप्रति उठेका प्रश्नको जवाफ बल्ल प्राप्त हुनेछ।

प्रकाशित: १७ आश्विन २०७८ ०९:२८ आइतबार

Download Nagarik App
Download Nagarik App