१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

बर्षादको बर्बादी

राजधानी उपत्यकालगायत देशका विभिन्न भागमा आइतबार मध्यरातिदेखि सोमबार बिहानसम्म परेको भीषण वर्षाले मानवीय क्षति नगरे पनि जनजीवनलाई आतंकित तुल्याएको छ। यसरी अचानक ठूलो पानी पर्दा यहाँका संरचनाले थाम्न सकेको देखिएको छैन। 

सर्वसाधारणका घरमा पानी पसेको छ। विकासका नाममा मानव बस्तीले साँघुरो पारेका यहाँका खोला र खहरे उर्लिँदा त्यसैले व्यापक क्षति गर्न सक्ने देखिएको छ। सहरी संरचना बनाउँदा र बस्ती बसाल्दा यस्ता अस्वाभाविक मौसमी प्रभावलाई ध्यानमा राख्नुपर्छ भन्ने पाठ यसले दिएको छ। सामान्य वर्षाका हिसाबले मात्र होइन, यस्ता असामान्य अवस्थालाई समेत ध्यानमा राख्नुपर्छ। पूर्वाधार बनाउँदा यस्ता पक्षमा ध्यान दिन सकिएन भने ठूलो क्षति हुन्छ ।

राति दुई बजेदेखि भएको यो वर्षा मनसुनपूर्वको स्थितिमा जस्तै ठूलो गड्याङगुडुङ भएको थियो। सामान्यतः यतिबेला हुने वर्षामा यस्तो गड्याङगुडुङको स्थिति हुने गरेको थिएन। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार राति २ बजेदेखि सोमबार बिहान ६ बजेसम्ममा त्रिभुवन विमानस्थलमा १०५ मिलिलिटर वर्षा मापन भएको छ। 

काठमाडौंँमा छोटो अवधिमा यति धेरै पानी पर्ने घटनालाई मौसम अधिकारीहरूले बिरलै हुने गरेको बताएका छन्। विकास निर्माण गर्दा भने यस्ता बिरलै हुने मौसमसम्बन्धी घटनालाई ध्यानमा राख्नुपर्ने हुन्छ। यो वर्षाको पानीले काठमाडौँ उपत्यकालाई छताछुल्ल बनाइदिएको छ। प्रारम्भिक अनुमानअनुसार करिब ४ सय घर डुबानमा परेका छन्। प्रहरीले करिब साढे दुई सयलाई उद्धारसमेत गरेको छ। विशेषगरी नदी र खोला किनारामा बस्ने सर्वसाधारण यसबाट प्रभावित भएका छन् ।

केही वर्षयता काठमाडौँ उपत्यका एक झर पानी पर्दासमेत प्रभावित हुन थालेको छ। यहाँ निरन्तर केही न केही बनाउन खन्ने र अवरोध गर्ने काम भइरहन्छ। विकास निर्माणका काममा अन्तर निकाय समन्वयको सर्वथा अभाव छ। एउटा निकायले कुनै संरचना बनाइसकेपछि अर्कोले आएर खनिहाल्छ। मेलम्ची खानेपानी आयोजनाले खनेका सडक बनाएर आवागमन केही सहज हुन थालेको थियो। 

फेरि विद्युत् प्राधिकरणले सडक खनेर अहिले जताततै अप्ठ्यारो पारिरहेको छ। कहिले कुन निकायले खन्ने, कहिले कुनले गर्दा यहाँ निर्माणको काम कहिल्यै सकिँदैन। जे जे बनाउनुपर्ने हो, समन्वय गरेर फेरि तत्काल खन्नु नपर्ने स्थितिका लागि भने यहाँका निकाय तयार छैनन्। आ–आफ्नै तरिकाले सडक खन्दा प्राप्त हुने अतिरिक्त लाभले मुलुकको समग्र हित हेर्न सकेको देखिँदैन।  

यहाँ ढल निकासको राम्रो व्यवस्था गरिएको छैन। उपत्यकाका तीन जिल्ला कंक्रिटको जंगलमा अनुदित भइसकेका छन्। यहाँ वर्षाको पानी सजिलै जमिनले सोस्न सक्ने अवस्था छैन। जताततै सिमेन्ट लगाएका कारण त्यसले ढलबाटै निकास खोजेर बाहिर जानुपर्छ। बस्ती बनिसकेपछि खानेपानी, ढल निकास, बिजुली र सडक जस्ता संरचना पुग्ने गर्छन्। व्यवस्थित सहरी विकास हुन सकेको भए यस्ता समस्या आउने थिएनन्। 

सहरको भित्री अवस्था भयाबह छ। मुलुकका प्रमुख प्रशासकीय संरचना सिंहदरबार आदि जाने मुख्य ठाउँबाहेक अन्यत्र खासै सडकको विकासमा ध्यान दिएको देखिँदैन। भित्री बस्तीमा रहेका काठमाडौँकै नागरिकले समेत दुर्गम क्षेत्रमा बसेको जस्तो अनुभूति गर्नुपर्छ। यतिबेला हिलोमा डुबेका यी बस्तीको दुर्दान्त कथा सिंहदरबारका पदाधिकारीको दृष्टिमा विरलै पुग्छ। नीतिनिर्माता यति बेखबर भएपछि सर्वसाधारणले यस्तो अवस्थामा दुःख पाउनु स्वाभाविक हो।  

पानी पर्नासाथ जलमग्न हुने र खडेरीमा पानी नपुग्ने समस्या छ। यस्तो सहरी संरचनाका निम्ति पानी व्यवस्थापनको वैज्ञानिक बाटो तयार भए धेरै फरक हुन्थ्यो। प्रत्येक घरले आकासको पानीलाई खेती गरेर जोगाउने र उपयोग गर्ने परिपाटी विकास गर्न नसकिने थिएन। त्यसैगरी आकासबाट परेको पानी संकलन गर्ने ठूला भण्डारण पनि गर्न सकिने थियो। यो दुर्लभ स्रोत सहरमा खानेपानी वितरणका निम्ति उपयोग गर्न नसकिने होइन। त्यसैगरी बर्षादको प्रवृत्ति पनि परिवर्तन हुँदै गइरहेको छ। त्यो परिवर्तित स्थितिलाई समेत ध्यानमा राखेर विकास निर्माणका काममा सुधार थाल्न ढिला भइसकेको छ। यसपटक जुन गतिमा पानी परेको छ, त्यसका निम्ति ढल निकासको अहिलेको अवस्थामा सुधार आवश्यक देखिएको छ।  

खासगरी उपत्यकाका नदीनालाको संरक्षण हुन सकेको छैन। नदी, खोला र खहरेको बाटो अवरुद्ध गरिएको छ। यहाँ अलिकति पानी पर्नासाथ ती भरिभराउ हुन थालेका छन्। त्यहाँ कतिसम्म पानी आउँछ, कति पानी भयो भने सडकसम्म पुग्छ भन्ने अध्ययन भएको देखिएन। त्यसैगरी नदीनालाको प्राकृतिक बहाव रोकिएको छ। त्यसले गर्दा जुन प्रवाहमा पानी बग्नुपथ्र्यो, त्यो हुन सकेको छैन। प्रदूषण र नदीमा फ्याँकिएको फोहोरले पनि प्रवाह रोकेको छ। नदी, खोला र खहरे आसपासका बासिन्दाले यसलाई मिचेका छन्। यसरी मिचिएका संरचनामा पानी भरिभराउ भएर बस्ती प्रवेश गर्ने गरेको छ।  

धोबीखोला करिडोर निर्माण भएपछि राजधानीको यातायात व्यवस्थापनमा निकै सहज भएको छ। तर खोलामा पानी भरिनासाथ लेदो आएर सडक पुरिने र सँगै बस्तीमा पस्ने गरेको छ। यी संरचनामा अझै के कस्तो सुधार गर्नुपर्छ भन्नेमा सहरी योजनाकार र नीतिनिर्माताको ध्यान पुग्नुपर्ने देखिन्छ। यस्तै ठूलो वर्षा हुने हो भने भविष्यमा अनेक संकट आउने देखिन्छ। आकासबाट परेको पानीको उचित निकास, जमिनमा पानी सोस्न सक्ने व्यवस्था र पूर्वाधार निर्माणमा थप सजगता आवश्यक भइसकेको छ। अन्यथा, राजधानीबासी बर्षादका बेला राम्ररी निदाउन नसक्ने अवस्था आउन सक्छ।  

प्रकाशित: २२ भाद्र २०७८ ०२:४७ मंगलबार

Download Nagarik App
Download Nagarik App