२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

सम्झनामा सर्वसाधारण

कोरोना कहरबाट जीवन गुमाउनेको संख्या १० हजार नाघिसकेको छ। दिनहुँ २०–३० जनाको ज्यान जाने क्रम जारी छ। गत वर्ष जेठ पहिलो साता नेपालमा कोरोनोका कारण पहिलो पटक एकको मृत्यु भएकामा झण्डै १४ महिनामा १० हजार  भन्दा बढीले ज्यान गुमाउनु हरेक हिसाबले दुःखद हो। अझ गत चैतअघि ३ हजार मात्रको मृत्यु भएकामा विगत ५ महिनामा थप ७ हजारले अकालमा मृत्यु वरण गर्नुपरेको छ। पहिलो लहरको १४ महिनामा भएको कुल मृत्यु भन्दा दोस्रो लहरको ५ महिनामै यति धेरैले ज्यान गुमाए। महामारीको यो अवधिपछि यति ठूलो संख्यामा मानवीय क्षति हुनुले हामी समयमै चनाखो नभएको र आसन्न संकट व्यवस्थापन तयारी नभएको प्रष्ट हुन्छ। 

सरकारी तथ्यांकले आइतबारसम्ममा १० हजार ९३ जनाको मृत्यु देखाए पनि यसको यथार्थ तस्बिर अर्कै छ। मृत्युको रिपोर्टिङ प्रणाली कमजोर र अस्पतालमा भएका मृत्युको मात्र हिसाबले यो संख्या अधिक हुन सक्ने अनुमान छ। भारतमा हालै गरिएको एक अन्तर्राष्ट्रिय अध्ययनले सरकारी आकडा भन्दा १० गुण बढीले मृत्यु भएको हुन सक्ने देखाएको थियो।

हरेक वर्ष हुने कालगति भन्दा गत वर्ष अधिक मृत्यु (एक्सेस डेथ) को हिसाब गर्दा कोभिड–१९ का कारण धेरैले जीवन गुमाएको सो अध्ययनमा उल्लेख छ। नेपालको सन्दर्भमा यस प्रकारको अध्ययन र आकलन नभए पनि मृत्युको सही आकडा औपचारिकरूपमा सार्वजनिक गरे भन्दा अधिक रहेको विज्ञको तर्क यथार्थ नजिक छ। चैतयता नेपालमा फैलिएको दोस्रो लहरको मानवीय क्षतिलाई धेरै हदसम्म रोक्न सकिन्थ्यो भनेर महामारी विज्ञले राय दिएका छन्। विशेषगरी यो लहरले युवा समूहलाई बढ्ता प्रभावित गरेको सन्दर्भमा समयमै उपचार तथा खोपको व्यवस्था हुन सकेको भए उनीहरूको ज्यान जोगाउन सकिन्थ्यो।  

अर्काे डरलाग्दो पक्ष संक्रमण दर अझै घट्न नसक्नु हो। यो २० प्रतिशत भन्दा माथि छ। महामारीको फैलावटका हिसाबले यो अत्यन्त उच्च दर हो। विश्व स्वास्थ्य संगठनले यो दर ५  प्रतिशत भन्दा तल भएमात्र महामारी नियन्त्रण सहज हुने बताउँदै आएको छ। यसको अर्थ महामारी समुदायस्तरमा भुसको आगो जस्तै फैलिएको छ। त्यो संक्रमण चक्र तोड्न हामी सफल हुन सकेका छैनौँ। निषेधाज्ञा जारी गर्दा केही कम भएझैँ देखिने र खुकुलो हुनासाथ यो बढ्ने गरेको छ। आइतबारसम्म ३५ हजार भन्दा बढी सक्रिय संक्रमित देखिनु र संक्रमण दर २० प्रतिशत भन्दा बढी रहनु दुवै चिन्ताका विषय हुन। दोस्रो लहरले लाखाैंको ज्यान लिएको भारतमा समेत संक्रमण दर ३ प्रतिशत भन्दा कम हुँदा नेपालमा यो दर उच्च हुनुले महामारीविरुद्धको प्रतिकार्य अत्यन्त कमजोर रहेको प्रष्ट हुन्छ। भारतमा दोस्रो लहर सुरु भएको झण्डै १ महिनापछि नेपालमा दोस्रो लहर देखिएको थियो। आसन्न संकटको आकलन नगर्दा र आवश्यक तयारी नहुँदा दोस्रो लहरमा अस्पतालमा सैया र अक्सिजन अभावले धेरैको ज्यान गएको हो। महामारीलाई प्रभावकारी रुपमा सम्बोधन गर्न समग्र स्वास्थ्य क्षेत्रको तयारी महत्वपूर्ण हुन्छ। त्यो हामीकहाँ हुन सकेन।  

यसैगरी महामारीको समयमा मानवीय क्षतिको गणना हुँदा मानवीय संवेदनाको पक्ष गौण बन्छ। महामारीका प्रत्येक मृत्यु दुखान्त हुन्। तिनलाई तथ्यांकमात्र मान्न सकिन्न। मृतक परिवारमा भएको पीडा, क्षति र समवेदनाको हिसाब सजिलो छैन। महामारीमा मृत्यु आफैं बहिष्करणमा परेको छ। अन्तिम अवस्थामा समेत परिवारजनको साथ र स्पर्श मृतकले पाउन सकेका छैनन्। त्यसमा पनि मृत्यु संस्कार पनि बिथोलिएको छ। धार्मिक र सांस्कृतिक हिसाबले मृत्युलाई पनि अपहेलना गर्न नमिल्ने हुँदाहुँदै पनि महामारीको घडीमा अन्तिमम संस्कारलाई निरन्तरता दिन कठिन भएको छ। 

यसैगरी महामारीलाई हेर्ने सामाजिक दृष्टिकोणका कारण मृतकको परिचय लुकाइएको छ। लिंग र उमेर खुले पनि पीडितको जातीय तथा वर्गीय पहिचान सार्वजनिक गरिएको छैन। त्यसैले मृतकबारे यथेष्ट विवरण खुलेका छैनन्। सामाजिक वैज्ञानिकले यस्ता सूचना उपलब्ध हुनुपर्ने तर्क गरेका छन्। तत्कालका लागि सूचना उपलब्ध नगराए पनि कालान्तरमा यी सूचना र विवरण आवश्यक पर्नेछन्। महामारीले कुन समुदाय, जाति र वर्गलाई बढी प्रभावित पारेको छ भन्ने जानकारी आफैंमा महत्वपूर्ण हुन्छ। यसको विश्लेषणले भविश्यमा ती खास समुदाय, जाति र वर्गका व्यक्तिको सुरक्षा रणनीति तयार गर्न मद्दत गर्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत मसान्तसम्म ५ करोड २२ डोज खोप नेपाललाई प्राप्त हुने र यो खोप सबै लक्षित समुदायलाई लगाइने दाबी गरेको छ। तर खोप खरिद, कार्यान्वयन र व्यवस्थापनको हिसाबले यो अवधिमा सरकारी लक्ष्य पूरा हुन कठिन छ। गत माघदेखि नेपालमा खोप अभियान सुरु भए पनि हालसम्म खोपको दुवै डोज लगाउन पाउने जनसंख्या १० प्रतिशत पनि पुगेको छैन। यो पृष्ठभूमिमा महामारीको तेस्रो लहर रोक्न खोपको आवश्यकता झन् टड्कारो बनेको छ। 

सरकारले संभावित तेस्रो लहरलाई सम्बोधन गर्न अक्सिजन कन्सनट्रेटरको व्यवस्था, बालबालिकाका लागि थप उपचार व्यवस्था तथा समग्रमा अन्य अस्पतालमा सैया, सघन उपचार कक्ष तथा भेन्टिलेटर थप्ने तयारी भएको बताए पनि आश्वस्त हुन सक्ने परिस्थिति बनेको छैन। महामारीको दोस्रो लहर मृत्यु र संक्रमण दरका हिसाबले बढी घातक देखिएको परिप्रेक्ष्यमा तेस्रो लहर झन् घातक भए स्थिति अरु खराब हुन सक्छ। यो परिस्थितिमा महामारी नियन्त्रण गर्न अझै सशक्त हिसाबले काम गर्नुपर्ने देखिएको छ। निश्चितरूपमा नागरिकले पनि आफ्नो तहबाट अपनाउनुपर्ने संयमको महत्व छ। अब यो अथवा त्यो कारणले गर्न सकिएन भनेर उम्कन मिल्दैन। हाम्रा निम्ति प्रत्येक जिन्दगी मूल्यवान छन्।  

प्रकाशित: २५ श्रावण २०७८ ०५:०५ सोमबार

Download Nagarik App
Download Nagarik App